मकवानपुर । निर्वाचनमा हारजित सुनिश्चित सवाल हो । तर हार्छु भनेर कोहि मैदानमा आउंदैन । जो मैदानमा आउंछ,जित्ने आधार देखेरै आउँछ र जित्नकै लागि जोड बल गर्छ, र पनि हार जितको संभावना आधा आधा नै हुन्छ ।
यसो त हार व्यहोर्नु भनेको यात्रा नै सकिनु र जित हासिल गर्नु भनेको सर्वश्रेष्ठ नै हुनु पनि हैन । प्रतिस्पर्धामा आउने व्यक्ति कोहि पनि कमजोर हुंदैन भन्ने हेटौंडा ५ का शुसिल घिमिरेले आफूले विजयी भएपछि निकतम प्रतिस्पर्धीलाई कांधैमा बोकेर सम्मान र आदर जनाए ।
एउटा अन्तर्राष्ट्रिय स्तरको बक्सिङ खेलाडी शुसिल घिमिरे, आफ्नो वडा र वडा भित्रको टोल टोलको विकास गर्ने सपना सजाएर स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैदानमा आए । नेकपा एमालेबाट घिमिरे वडा अध्यक्षको उम्मेदवार बने । परिस्थिति यस्तो आयो कि उनले प्रतिस्पर्धा गर्नु पर्ने व्यक्तिको रूपमा गठबन्धनले उनैको स्कुले गुरू हयगृव आचार्यलाई उभ्यायो ।
चुनावी मैदानमा उत्रिए गुरू-शिष्य शुसिल र हयगृव । “आफ्नो चुनावी तयारी गर्दै गर्दा पटक पटक गुरूलाई भेट्थे, हामीबिच सधैं हार्दिकता नै भयो” शुसिलले भने “मैले गुरूलाई सम्मान गर्थे, उहाँको माया पनि सधैं पाएँ ।”
निर्वाचन भयो, अन्तिम नतिजा आयो । शिष्य सुशील घिमिरेले २५३० मत पाए, गुरू हयगृव आचार्यले १३९० मत पाए । शिष्यले गुरूलाई ११४० मतान्तरमा जिते । विजय जुलुसले वडा परिक्रमा गर्ने कार्यक्रम तय गर्दै गर्दा आफ्ना गुरू र अन्य दलका प्रतिस्पर्धीलाई सम्झेको बताउँछन् शुसिल । “सबैलाई खुब सम्झिरहे, चुनावको दिनसम्म म एमालेको प्रतिनिधि थिएँ, अब म वडाको प्रतिनिधि हुं, हामीबिचको प्रतिस्पर्धा चुनावकै दिनबाट सकियो” उनले भने ।
घिमिरेले आफ्नो जितलाई वडा निबासी सबैको जित भनेका छन् । ” अबको ५ बर्ष काम गरेर वडावासीको मन जित्न सकेभने मात्र मेरो जित हुनेछ, अहिलेको जित मेरो हैन वडावासीको हो” उनले भने।
बिजय जुलुस सहित गुरू हायगृवको घरमा पुगेका घिमिरेलाई हायगृवले टिका लगाउंदै सफल कार्यकालको शुभकामना दिए । गुरूको आशिर्वाद पाएपछि शुसिलले कांधैमा बोके गुरूलाई । “
शुसिल मेरो चेला हो, उसले हाम्रो वडाको लागि राम्रो काम गर्छ,म ढुक्क छु” हयगृवले भने “आफूलाई उछिनेर मेरै चेला विजयी भएकोमा खुसि छु ।” प्रतिस्पर्धी घरैमा भेट्न आउँदा टिका लगाएर शुभकामना दिंदै हयगृवले फराकिलो मन देखाए भने,शुसिलले गुरूप्रतिको सम्मान र मर्यादा प्रकट गरे । कार्यकर्ताले तालि,सिठ्ठि र हुटिङ गरे,माहोल एकाएक भावुक बन्यो ।
चुनावी मैदानमा हारजित जे भए पनि टोलको विकासमा सबैको समन्वय र सहभागिताले मात्रै स्थानीय तहको प्रतिनिधित्वको अर्थ राख्ने उनले बताए । शुसिललाई हयगृवले हेटौंडा ५ को बालज्योती माविमा प्राथमिक तह अध्यापन गराएका थिए ।
हेटौंडा ५ मा एमालेको टिम नै विजयी भएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर पदमा रोचक प्रतिस्पर्धा कायमै छ । पछिल्लो २ दिन यता तेस्रो स्थानमा रहेको नेकपा एमाले मतान्तरको खाडल पुरेर बिहीबार रातिबाट दोस्रो स्थानमा उक्लिएको छ ।
मतगणनाको सुरुवातमा पहिलो स्थानमा गठबन्धन र एमाले बिचको आलोपालो अग्रता थियो । तर अघिल्लो २ दिनयता तेस्रोमा झरेको एमालेले आफूलाई उछिनेको राप्रपालाई पुन पछि पारेको छ । यता गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी मिना कुमारी लामाले पनि आफ्नो अग्रतामा मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।
हेटौंडा वडा १४ को मतगणना सुरू भएसंगै एमालेले आफ्नो मतान्तर घटाउंदै ल्याएको हो । २ दिन अघि राप्रपा भन्दा ७३० मतले पछि रहेको एमाले अहिले १३८ मतले अघि लागेको छ ।
यता अब गठबन्धनकी मिना लामा र एमालेका अनन्त पौडेल बिचको मतान्तर १ हजार २६ रहेको छ । एमालेलाई दोस्रो स्थानमा बढाउन योगदान गरेको हेटौंडा १४ नम्बर वडामा एमाले वियजी भएको छ ।
हेटौंडाको १९ वटा वडाहरूमध्ये १,२,३,६,१६,१७,१८ र १९ को मत गणना सकिएको छ । हाल ४,५, ७,८,१४,१५ को मतगणना जारी छ । हालसम्म कुल ४५ हजार ६९९ मत गणना सकिएको छ । हेटौंडा उपमहानगरपालिकामा झण्डै ७४ हजार मतदान भएको छ ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरमा महिला जनप्रतिनिधि पहिलो पटक वडाध्यक्षमा २ जना महिला निर्वाचित भएका छन् ।
मकवानपुर जिल्लामा रहेकाे १०२ वटा वडाहरुमा हालसम्म २ जना मात्रै महिला वडा अध्यक्षकाे रुपमा निर्वाचित भएका छन् । हेटाैडाकाे एउटा वडामा महिलालाई अध्यक्षकाे उम्मेदवार बनाइएकाेमा मत गणना बाँकी रहेकाे छ ।
मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ र १० मा गठबन्धनबाट वडा अध्यक्ष उम्मेदवार बनेका कांग्रेसका २ नेतृ कमला वाईवा र लक्ष्मी जिम्बा विजयी भएर जिल्लामा इतिहास रचेका छन् ।
वडाध्यक्ष निर्वाचित जिम्बा र वाईवा दुबै जना २०७४ सालको स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकामा क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार थिए । तर दुबैले चुनाव हारेका थिए ।
गत निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी वाईवालाई पछाडि पार्दै एमालेको तर्फबाट उम्मेदावार बनेकी सरला बोलखे बिजयी भएकी थिइन् ।
भने राप्रपाको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेकी जिम्बालाई काँग्रेसको तर्फबाट उम्मेदवार बनेका दामोदर खनालले जितेका थिए ।
यस पटक दुबैजनाले नेपाली काँग्रेसबाट वडा ५ र १० को अध्यक्ष जितेका हुन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेकी जिम्बालाई यस पटक गठबन्धनको साथ थियो । बकैया ५ वडाबाट अध्यक्षको टिकट पाएपछि उनले पालिका हाँक्ने याेजनाले अब वडा बनाउने बताएकी थिइन ।
अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनिसकेको भएपनि वडास्तरबाटै विकासको बाटो पहिल्याउन आफूहरु लागिपरेको उनीहरुले बताए । बिजयी भएपछि पार्टीभन्दा माथि उठेर आफ्नो गाउँ र टोलको बिकासमा लागिपर्ने जिम्बाले बताइन् ।
यता हेटौंडा उपमहानगरपालिकाको वडा ११ मा उम्मेदवार बनेकी अर्की महिला जुना दाहालको भने मत गणना बाँकी छ ।
मकवानपुर । यतिबेला देश व्यापि ध्यान निर्वाचन परिणममै रहेको छ । अन्य सबैजसो सवालहरुलाई पछि पार्दै चर्चामा रहेको निर्वाचन परिणम भित्र पनि केही सवालहरु छन् जसले चर्चा नै पाएका छैनन् ।
यस्तै सवाल हुन हेटौंडा उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार राजेश बानियाँ । सत्ताधारी गठबन्धनबाट उपमेयरको उम्मेदवारी रहेका बानियाँको मत परिणामबारे बजारमा खास चर्चा छैन, जति चर्चा राप्रपाबाट मेयरको उम्मेदवार दीपकबहादुर सिंह र गठबन्धनबाट मेयरको उम्मेदवार मिना लामाको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७४ मा हेटौंडा ५ को वडा अध्यक्ष जितेका नेपाली काँग्रेसका नेता बानियाँले अहिले गठबन्धनबाट उपमेयरको टिकट पाए । वडा अध्यक्षको जिम्मेवारीमा रहदा आफ्नो वडामा धेरैको मन राख्न सफल बानियाँलाई अहिले उपमहानगरभर बाटै पपुलर मत प्राप्त भएको छ । उनले हालसम्म गणना भएको मतको ४५ प्रतिशत मत पाएका छन् ।
बानियाँले गठबन्धनबाट मेयरको उम्मेदवारले भन्दा बढि मत ल्याएका छन् । हालसम्म भएको ३१ हजार ६ सय ५६ मतगणनामा बानियाँले १४ हजार २७४ मत पाएका छन् । गठबन्धनको मेयर उम्मेदवारले ९ हजार ९४१ मत पाएका छन् । बानियाको निकटतम प्रतिस्पर्धी सुमित्रा काफ्लेले ९ हजार ५ सय ३२ मत पाएकी छिन् ।
निर्बाचनको अन्तिम परिणाम आइसकेका हेटौंडा वडा नम्बर १ मा बानियाँले १ हजार ४ सय १७ मत पाउँदा काफ्लेल १ हजार १ सय ३३ मत पाएकी छन् । यस्तै वडा नम्बर २ मा पनि बानियाँले काफ्लेलाई झन्डै दोब्बर अर्थात १ हजार २५ मत प्राप्त हुँदा काफ्लेले ५ सय ३५ मत प्राप्त गरेकी छन् । यसैगरी हेटौंडा १८ मा बानियाँले १ हजार ३ सय २४ मत पाउँदा अर्का प्रत्यासी काफ्लेले १ हजार १ सय ७९ मत पाइन भने हेटौंडा १९ मा बानियाँले १ हजार ५ सय ६८ मत पाउँदा काफ्लेले १ हजार ३ सय ८८ मत पाइन ।
अहिले गणना भइरहेका वडाहरु ४, ५, ६,७, १६, १७ मा पनि उपमेयरका उम्मेदवार राजेश बानियाँ एमाले उम्मेदवार सुमित्रा काफ्ले भन्दा निकै अगाडी देखिएका छन् । हाल मतगणना भैरहेको वडा १४ र १५ मा भने एमाले उम्मेदवार काफ्लेले अग्रता लिएकी छिन्
मतदानमा सुर्य वा कलमबाट मेयरकाे भाेट हलाेमा काटीएकाे देखिएपनि उपमेयरमा बानियाँकाे भेट खासै काटीएकाे छैन । यसकाे अलवा बानियाँलाई अन्य पपुलर भाेट समेत प्राप्त भएकाे बिश्लेषण नेताहरुले गरेका छन् ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना स्थगित गरिएको छ ।
मनहरीको वडा नम्बर ९ को मतगणना कार्य स्थगित गरिएको हो । मतपेटिकालाई कपडाले नढकेको बिषयलाई लिई बिबाद उत्पन्न भएपछी अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताए ।
वडा नम्बर – ९ को एउटा मतपेटिका कपडाले नछोपिएको अवस्थमा भेटिएपछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थमा हुनु पर्ने भनि विवाद निकाले पछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना कार्यलाई अनिश्चित समय सम्मको लागि स्थागित गरिएको सूचनामा उल्लेख छ ।
१ देखि ८ सम्मको गणनामा शान्तिपूर्ण तरिकाले सर्बदलिय बैठकमा भएको निर्णय अनुसार मत गणना कार्य सम्पन्न भएको थियो ।
मतपेटिकामा अन्तरास्ट्रिय मापदण्ड अनुसारको मान्यता प्राप्त डिजिटल सिल गरिने व्यवस्था अनुसार ५ वटा सिल लगाइएको हुन्छ । जुन सिल एक पटक तोडेपछि पुन लगाउने सकिदैन । सिलमा उल्लेख हुने डिजिटल नम्बर दलको प्रतिनिधिहरुले समेत मतदानको दिन रूजु गरि मुचुल्का गरेको प्रमाण भिडाउदा सहजै मतपेटिका साटिएको हो वा हैन पत्ता लाग्दछ । सहजै विवाद सुल्झाउन सकिने भए पनि कुरा बुझाउने नसक्दा मतगणना नै अबरुद्ध भएको हो ।
“सिल गरिएको बाकस चौर मै फालिए पनि सुरक्षाको दृष्टिकोणले कुनै समस्या हुन्न, कपडाले किन ढाक्न पर्यो” मकवानपुर जिल्ला मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले भने ।