मकवानपुर । मकवानपुरको हेटौंडामा जारी स्थानीय तह चौथो शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप अन्तरगत आज हुने भनिएको खेल वर्षाको कारण रोकिएको छ ।
रोकिएको खेल भोली विहीबार विहान साँढे ८ बजे हुने आयोजक संस्था मकवानपुुर जिल्ला फुटबल संघले जनाएको छ । खेल तालिका अनुसार आज विजय युवा क्लब र नव जनजागृति क्लब बिच क्वाटरफाइनल गेम हुँदै थियो ।
वर्षाको कारण खेल मैदानमा पानी जमेपछि खेल रोकिएको कार्यक्रम संयोजक प्रताप विष्टले बताए । मकवानपुर फुटबल संघको आयोजनामा हुने स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता २०७९ को गत १९ गतेबाट मकवानपुरको हेटौंडामा जारी छ ।
यस अघि पनि गत २१ गते खेल मैदान जलाम्य भएपछि खेल स्थागित गर्नु परेको थियो । ३० जेठसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको ९एपीएफ० क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको म्याच कमिस्नर छवि सुवेदीले बताए ।
मोफसलको यो सबैभन्दा ठुलो धनराशीको यो प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैया सहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ ।
अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।
मकवानपुर । नागरिक समाज मंच मकवानपुरले जिल्लामा कार्यरत बिभिन्न गैरसरकारी संस्थाहरूले कामको दौडानमा आइपरेका समस्या, चुनौती तथा अनुभव आदनप्रदान कार्यक्रम गरेको छ ।
नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत यो कार्यक्रम गरिएको डेक नेपालका मकवानपुर प्रमुख मान बहादुर वाइबाले बताए । कार्यक्रममा मकवानपुर महिला समूह कार्यक्रम संयोजक निशा लामाले कार्यालयले गर्दै आएको कार्यक्रम तथा त्यसको उपलब्धि बारे जानकारी गराएकी थिइन् । मकवानपुर जिल्लाको विभिन्न स्थानमा रहेका एच आई भी संक्रमित प्रभावित महिलालाई सामाजिकीकरणमा समस्या भएको,पैतृक सम्पत्ति ग्रहण तथा बालबालिकालाई शिक्षा आर्जनमा समस्या रहेको कार्यक्रम संयोजन लामाले बताइ ।
यसैगरी बालकल्याण समाज मकवानपुर कार्यक्रम संयोजक प्रकाश खतिवडाले बालबलिकाको संरक्षण र सम्बद्धनको लागि गर्दै आएको कार्यक्रम बारे जानकारी गराएका थिए । बालमैत्री उपचार, बालमैत्री हेरचाह तथा बालमैत्री अभिभावक शिक्षाको लागि समाजले गर्दै आएको कामका बारेमा खतिवडाले जानकारी गराएका थिए ।
कार्यक्रममा नारी सिप सिर्जना केन्द्र कार्यकारी निर्देशक चिरञ्जीवी पौडेल केन्द्रले ३० बर्षसम्म काम गर्दा धेरै महिलाहरू नेतृत्वको तहमा पुगेको र उल्लेख्य प्रगति गरेकोमा खुसी व्यक्त गरे । यसैगरी सियान पुनर्स्थापना केन्द्र सौजन डीसीले समाजमा लागुऔषधको प्रयोगकर्ताहरू बढेको प्रति ध्यानाकर्षण जनाए । “सामाजिक विकासको लागि मनोबैज्ञानिक बिकास पनि अनिवार्य छ” डीसीले भने । सरकारी तवरबाट लागु औषध नियन्त्रणमा पहल कम भएको उनले बताए।
यसैगरी डेक नेपाल कार्यक्रम संयोजक मान बहादुर वाइबाले डेक नेपालले काम थालेदेखि शिक्षा, स्वास्थ, कृषि बिपदको क्षेत्रमा भएको उपलब्धिहरू बारे जानकारी गराईएका थिए । समाजमा सबैलाई जवाफदेही बनाउने सबै वर्गको सशक्तीकरण आवश्यक भएको वाईबाले बताए । स्थानीय तहसंग काम गर्दा भौतिक विकासको सवालमा भन्दा सामाजिक विकासको सवाललाई बढि चासो दिने गरेको आफूले पाएको वाइबाले बताए ।
नगरिक समाज मंच मकवानपुर अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको थियो । पारस्परिक जवाफदेहीता अभिबृद्विको लागि सरकार र गैरसरकारी संस्थाको समन्वय, सहकार्य तथा हातेमालो आवश्यक भएको अध्यक्ष सापकोटाले बताइन् ।
मकवानपुर । हेटौडा उपमहानगरपालिकाले शारीरिक रुपमा अशक्त भएका १ जनालाई ह्वील चेयर प्रदान गरेकाे छ । शारीरिक अशक्तता भई दैनिक जीवनमा समस्यामा परेका हेटौंडा–१७ का युवालाई उपमहानगरपालिकाले ह्वील चेयर वितरण गरेको छ ।
उपमहानगरको महिला तथा वालवालिका महाशाखाको समन्वयमा नगरप्रमुख मिनाकुमारी लामाले हेटौडा १७ का १६ बर्षिय भोजराज घिमिरेलाई ह्वीलचेयर हस्तान्तरण गरेकी हुन् । वडा कार्यालयको सिफारिसमा हेटौंडा–१७ का घिमिरेलाई घर बाहिरको वाताबरणमा हिड्डुल गर्न सहजताको लागि ह्वील चेयर हस्तान्तरण गरिएको महिला तथा वालवालिका विकास महाशाखाका प्रमुख जगन्नाथ सापकोटाले बताए । ह्वील चेयर घिमिरेका वुवा कृष्णप्रसादले बुझेका हुन । उनले उपमहानगरले दिएको सामग्रीले छोरालाई सहज हुने भन्दै खुशी व्यक्त गरे ।
उपमहानगरले चालु आर्थिक बर्षमा अहिले सम्म नगरका बिभिन्न वडामा रहेका शारीरिक अशक्तता भएकाहरुलाई पटक/पटक गरी ७० वटा भन्दा बढी ह्वील चेयर वितरण गरिएको महाशाखा प्रमुख सापकोटाले बताए ।
चितवन । चितवनमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ। साँझ करिब पौने ७ बजेको समयमा पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४, रमाइलो डाँडामा कारसँग मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा गोरखाको शहीद लखन गाउँपालिका वडा नं. ४ का २३ वर्षीय सन्तोष चेपाङको रहेका चितवन प्रहरीले जनाएको छ।
मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ५०७४ नं.को कारलाई सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नं.को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडीपट्टिको साइड लाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नं.को तेल ट्याङ्करसँग ठोक्किँदा मोटरसाइकल चालक चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए। दुर्घटनापछि तनावग्रस्त बनेको राजमार्ग बेलुकी करिब ९ बजेबाट पूर्णरुपमा खुलेको चितवन प्रहरीले जनाएको छ। ठक्कर दिने ट्याङ्कर, ट्याङ्करका चालक, कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक चेपाङको शव भने पोस्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा सार्वजनिक भएको २ सातापछि मकवानपुर कांग्रेसले जिल्ला समन्वय समिति मकवानपुरमा आफ्नो नेतृत्व हुनुपर्ने दावी गरेको छ ।
नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टी सभापति बुद्ध लामाले आज पत्रकार सम्मेलन गर्दै मकवानपुरमा कांग्रेस सबैभन्दा ठूलो दल भएकोले जिल्ला समन्वयमा आफ्नो दावी रहेको बताए ।
स्थानीय तह सदस्य निर्वाचनमा १० स्थानीय मध्ये थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नेतृत्व माओवादी केन्द्र र एकिकृत समाजवादीलाई दिएका कारण पनि जिल्लाको नेतृत्व दावी गर्ने अधिकार कांग्रेससँग रहको लामाले बताए ।
उनले जिल्ला समन्वय समितिको निर्वाचनमा काँग्रेसकै नेतृत्वमा अघि बढ्ने गरी गठबन्धन दलहरुबीच छलफल भइरहेको समेत बताए । जिल्ला समन्वय समितिको निर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले मतदान गर्न पाउँछन् । नेपाली कांग्रेसका ९ जना, नेकपा माओवादी केन्द्रमा ७ जना, नेकपा एमालेका ३ जना र नेकपा एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।
सयैबिच मकवानपुर कांग्रेसले हालै निर्वाचित जनप्रतिनिधिहरूलाई जनभावना अनुरूप स्थानीय तहको विकास निर्माण तथा अन्य काम गर्न निर्देशन दिएको छ ।