मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा सार्वजनिक भएको २ सातापछि मकवानपुर कांग्रेसले जिल्ला समन्वय समिति मकवानपुरमा आफ्नो नेतृत्व हुनुपर्ने दावी गरेको छ ।
नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टी सभापति बुद्ध लामाले आज पत्रकार सम्मेलन गर्दै मकवानपुरमा कांग्रेस सबैभन्दा ठूलो दल भएकोले जिल्ला समन्वयमा आफ्नो दावी रहेको बताए ।
स्थानीय तह सदस्य निर्वाचनमा १० स्थानीय मध्ये थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नेतृत्व माओवादी केन्द्र र एकिकृत समाजवादीलाई दिएका कारण पनि जिल्लाको नेतृत्व दावी गर्ने अधिकार कांग्रेससँग रहको लामाले बताए ।
उनले जिल्ला समन्वय समितिको निर्वाचनमा काँग्रेसकै नेतृत्वमा अघि बढ्ने गरी गठबन्धन दलहरुबीच छलफल भइरहेको समेत बताए । जिल्ला समन्वय समितिको निर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले मतदान गर्न पाउँछन् । नेपाली कांग्रेसका ९ जना, नेकपा माओवादी केन्द्रमा ७ जना, नेकपा एमालेका ३ जना र नेकपा एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।
सयैबिच मकवानपुर कांग्रेसले हालै निर्वाचित जनप्रतिनिधिहरूलाई जनभावना अनुरूप स्थानीय तहको विकास निर्माण तथा अन्य काम गर्न निर्देशन दिएको छ ।

