चितवन । चितवनमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ। साँझ करिब पौने ७ बजेको समयमा पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४, रमाइलो डाँडामा कारसँग मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा गोरखाको शहीद लखन गाउँपालिका वडा नं. ४ का २३ वर्षीय सन्तोष चेपाङको रहेका चितवन प्रहरीले जनाएको छ।
मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ५०७४ नं.को कारलाई सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नं.को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडीपट्टिको साइड लाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नं.को तेल ट्याङ्करसँग ठोक्किँदा मोटरसाइकल चालक चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए। दुर्घटनापछि तनावग्रस्त बनेको राजमार्ग बेलुकी करिब ९ बजेबाट पूर्णरुपमा खुलेको चितवन प्रहरीले जनाएको छ। ठक्कर दिने ट्याङ्कर, ट्याङ्करका चालक, कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक चेपाङको शव भने पोस्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

