मकवानपुर । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनाहरु बढ्दो अवस्थामा रहेको एक तथ्याङ्कले देखाएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक २०२३ को लागि संकलन गरेको घटना विवरणले यस्तो देखाएको हो ।
मकवानपुर जिल्लामा सन् २०२२ को जनवरीदेखि जुन महिनासम्ममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३३ ओटा घटना भएका छन् । जसमध्ये २२ जना महिला ११ जना पुरुष गरी ३३ जना पीडित भएको तथ्याङ्कले देखाएको छ । इन्सेक जिल्ला प्रतिनिधि पुष्प अधिकारीका अनुसार बाल अधिकारका घटनामा नौ जना बालिका पीडित भएकोमा आठ जना बलात्कारका घटना र एक नवजात शिशु हत्याको घटनामा पीडित रहेका छन् ।
यसै समयमा एकै विद्यालयका ३ शिक्षकहरुबाट सात जना बालिका यौन दुरुपयोगका घटनामा पीडित भएको घटना पनि इन्सेकले अभिलेख गरेको छ ।
महिला अधिकारका घटनामा १० जना पीडित भएकोमा सात जना बलात्कार र तीन जना बहुबिबाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ । यस अवधिमा पाँच ओटा हत्याका घटना भएका छन् । जसमा एक जना महिला र चार जना पुरुष छन् । यस्तै ९ ओटा हत्या प्रयासका घटनामा दुई जना महिला र सात जना पुरुष पीडित भएको इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले बताए ।
६ महिनाको अवधिमा परिवारजनबाटै तीन जना बालिका सहित चार ओटा बलात्कार, एक नवजात शिशु (छोरी) सहित पाँच ओटा हत्याको घटना भएको भण्डारीले बताए ।
इन्सेकको अभिलेखालयमा गत वर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ ओटा घटनामा अन्य पक्षबाट ७८ जना पडित भएका थिए भने सन् २०२० मा मकवानपुरमा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ ।
नागरिकको अधिकारलाई राज्यले सुनिश्चित गर्छः राज्यमन्त्री नेपाली
बागमती प्रदेश स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले नागरिकको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हेटौँडामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा उनले यस्तो बताएकी हुन् । संविधानले प्रदान गरेको मौलिक अधिकार प्राप्तिको लागि नागरिककले अझै लडाँई लड्नुपर्ने अवस्था रहेको भन्दै प्रदेश सरकार नागरिकको अधिकार सुनिश्चित गराउने गरी अघि बढेको राज्यमन्त्री नेपालीले बताइन् ।
कार्यक्रममा गैसस महासङ्घ बागमती प्रदेश समिति अध्यक्ष आरती पाठकले इन्सेकले गर्दै आएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेखले समाजमा महिला तथा बालबालिकाको अवस्था कस्तो छ भन्ने देखाउनुका साथै यसले राज्य र समाजलाई जिम्मेवार बन्न मद्दत पुग्ने बताइन् ।
कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले इन्सेकले मानव अधिकारका घटनाहरूको अभिलेख राख्ने कार्यसँगै मकवानपुरको दुईओटा स्थानीय पालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा काम गर्दै आएको बताए ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६५ बोतल लागुऔषध, मोटरसाइकल सहित व्यक्ति नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हेटौंडा १५ चुरियामाई पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा पथलैयाबाट हेटौडा तर्फ आउदै गरेको बा २५ प १२४ नम्बरको मोटरसाइकाल जाँज गर्ने क्रममा लागु औषध भेटेको हो ।
हेटौडा ४ बस्ने २७ वर्षीय सुनिल देउलाले लुकाई ल्याएको ६५ बोतल लागूऔषध Wincirex फेला परेपछि मोटरसाइकल सहित व्यक्तिलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीका निमित्त प्रवत्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरे घिमिरेले बताए ।
मकवानपुर । सिद्धार्थ माद्यामिक बिद्यालय हेटौंडाले आफ्नो क्षेत्र भित्र निर्वाचित भएर आएका जनप्रतिनिधिहरूलाई सम्मान कार्यक्रम गरेको छ ।
बिद्यालय व्यवस्थापन समिति, पीटीए, शिक्षकहरूको उपस्थितिमा आज बधाई तथा शुभकामना कार्यक्रम गरिएको हो । कार्यक्रममा जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा बिद्यालयको भौतिक तथा शैक्षिक स्तरोन्नतिको लागि आफूहरू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेश सरकारद्वारा बृहत बिद्यालय परियोजनामा समेटिएको सिद्धार्थ माबिलाई प्रदेशभरकै उत्कृष्ट बिद्यालय बनाउन आफ्नो तर्फबाट हुने कुनै पनि कदम बाँकी नराख्ने हेटौंडा १ का वडा अध्यक्ष तथा हेउमनपाका प्रवक्ता सबिन न्यौपानेले बताए ।
हेटौंडा १ चौकिटोलको ज्योति र हेटौंडा २ को बनस्खण्डी स्थित श्रीदेवी बिद्यालयलाई सिद्धार्थमा मर्ज गरेपछि हाल यो बिद्यालयमा २ हजार ३ सय भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । शिक्षा, वन बिज्ञान, कानुनलगायत संकाय पढाई हुंदै आएको छ ।
अंग्रेजी र नेपाली माध्यमको पढाई हुनथालेदेखि विद्यार्थीको चाप बढेको तर कक्षाकोठाको अभावले भर्ना लिन नसकिएको प्राध्यापक मोहन शर्माले बताए ।
बिद्यालयको भौतिक अभावलाई बजेट मार्फत सम्बोधन गर्न आफूहरूले पहल गर्ने,तर पढाईको गुणस्तरमा कुनै सम्झौता नगर्न वडा २ का अध्यक्ष विष्णुगोपाल महर्जनले आग्रह गरे ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम घिमिरेले बिद्यालय वरपर हुने कुलतजन्य गतिविधि नियन्त्रणमा समेत स्थानीय सरकारसंग सहयोगको अपेक्षा राखेको बताए । कार्यक्रम वडा १ र २ बाट बिजय भएका वडा अध्यक्षहरू सहित वडा सदस्यलाई सम्मान गरिएको थियो ।
चितवन । चितवनकाे रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट १ जना साइकल यात्रीको मृत्यु भएको छ। शनिबार बिहान रत्ननगर-९ गणेश चोकनजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएकाे चितवन प्रहरीले जनाएको छ।
ट्रकले साइकल यात्री रत्ननगर-१० का ३७ वर्षीया उमेश दराईलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकाेमा उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक मकवानपुर जिल्ला हेटौँडा उप-महानगरपालिका वडा नम्बर १४ का ४५ वर्षीया धावा थोकर चितवन प्रहरीको नियन्त्रणमा छ।
आफन्तको मृत्यु भएपछि स्थानीयले पूर्व-पश्चिम राजमार्गमा पर्ने उक्त सडक अवरोध गर्ने प्रयाससमेत गरेका थिए। प्रहरी टोलीले राजमार्ग अवराेध हुनबाट राेके पछी यातायात सामान्य अवस्थामा सञ्चालन भइरहेको चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा द ल्याभेण्डर बुटिक स्टुडियोले विधिवत रुपमा सञ्चालनमा आएकाे छ । नेपाली चलचित्र क्षेत्रको एक समयकी चर्चित अभिनेत्री बिपना थापाले उक्त स्टुडियोको विहीबार उद्घाटन गरी शुभारम्भ गरेकी हुन् ।
विवाहपछि भारतमा रहदैं आएकी थापाले भारत बस्दा आफूले प्रयोग गर्दै आएको ड्रेसको डिजाइनर प्रियंका बलामीले सञ्चालनमा ल्याएको यस बुटिक स्टुडियोको उद्घाटन गर्न हेटाैडा आएकाे बताइन् । ‘आफुले प्रयोग भएका सबै ड्रेसहरु बलामीले बनाएको लगाइ रहेकाे छु’ थापाले भनिन् ‘हामी उता सँगै बसोबास गरेकोले पनि उनको व्यवसायमा थप उर्जा मिलोस भनी उनकाे बुटिक उद्घाटन गर्न हेटौंडा आएको हुँ ।’ थापाले एकचोटी दिदीबहिनीहरुले अवलोकन गरिदिन आग्रह समेत गरेकी छिन् ।
हेटौंडामा नै पहिलो पटक यस्ताे बुटिक स्टुडियो सञ्चालनमा आएको बुटिक संचालक बलामीले बताइन् । ७ वर्ष भारतमा ड्रेस डिजाइनर काम गर्दै आएकी हेटौंडाकी बलामीले हेटौंडा ४ हुप्राचौर खेलकुद विकास समिति अगाडी उक्त बुटिक संचालनमा ल्याएकी हुन् । बुटिकमा अर्डर अनुसार साडी, कर्ता, लेहेङ्गा, गाउन, वाइडल ड्रेस, इम्बोड्रिइ ड्रेस, व्याग, जुत्ता गहना लगायतका सामाग्रीहरु पाइने सञ्चालक बलामीले बताइन् ।
सिकेको सीपलाई आफ्नै ठाउँमा दिदीबहिनीलाई सहज र नयाँ ड्रेस डिजाइन प्रयोग गर्न पाउनेछ भन्ने लागेर २५ लाख लगानीमा बुटिक स्टुडियो सञ्चालनमा ल्याएको उनले बताइन् । शुभारम्भदेखी एक महिना सम्म सामान खरिदमा १५ प्रतिशत छुटको व्यवस्था समेत रहेको बताइएकाे छ । अर्डर अनुसार लेडिज तथा जेन्सका कपडा विक्री गरिने उनले बताइन् ।