आँचल साहित्य कला पुञ्जद्वारा १० जना स्रष्टा सम्मानित
Tags: No Comments
मकवानपुर । मकवानपुरका नारी साहित्यकारहरुको साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले हेटौंडामा एकसाथ १० जना स्रष्टालाई सम्मान गरेकाे छ ।
शनिबार साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गरेकाे हाे ।साहित्य, कला, खेलकुद तथा पत्रकारितालगायतका क्षेत्रमा योगदान दिएर त्यस क्षेत्रको पहिचानलाई अझ उचाईमा लैजाने स्रष्टाहरुलाई एकसाथ सम्मान गरिएकाे आँचलकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
कोभिड–१९ का कारण २०७८ सालमा प्रदान गर्नुपर्ने सम्मान तथा पुरस्कार यसवर्ष प्रदान गरिएकाे हो । आँचल साहित्य कला पुञ्जको चौथो अधिवेशनको अवसरमा मकवानपुरसहित अन्य जिल्लाका स्रष्टालाई हेटौंडामा सम्मान गरिएकाे अध्यक्ष न्यौपानेले बताईन ।
मकवानपुरका अग्रज पत्रकार परियार सम्मानित
मकवानपुरका अग्रज पत्रकार कृष्णराम परियार सम्मानित भएका छन् । राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता परियारलाई आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिबार नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित सम्मान गरेको छ । ४३ वर्षदेखि पत्रकारितामा क्रियाशील परियारलाई इश्वर लम्साल स्मृति पत्रकारिता सम्मान, २०७८ प्रदान गरिएको हो ।
पुञ्जले पत्रकार परियारसहित साहित्यकारहरु जनार्दन खनाल, तीर्थदेवी शिलवाल, सरिता तिवारी, देवराज खरेल, प्रशन्ना चौलागाईं, भूषिता वशिष्ट, छवी अनित्य, चित्रकार ऋत्विक के.बी. र मकवानपुरकी प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई नगद सहित सम्मान गरेको हो ।
पुञ्जकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा साहित्यकारहरु निमेश निखिल, आरसी रिजाल, गायिका शुसिला पाण्डे मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
सम्मानित व्यक्तित्व तथा पुरस्कारहरु
बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान –२०७८
समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७८ लामो समय मकवानपुरको साहित्यमा सेवा गरेर, साहित्यलाई पछ्याउँदै हिँड्नु भएकी साहित्यकार तीर्थदेवी सिलवाललाई प्रदान गरिएकाे छ । सिलवाललाई १० हजार १ राशी र सम्मानपत्रसहित सम्मानित गरिएकाे हाे । १ लाख २५ हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने नारी साहित्यकारलाई मात्र दिइने यो सम्मान पाउने पहिलो व्यक्ति मकवानपुरकी कवि प्रतिमा पाठक हुन । २०७५ सालका लागि रुकु कार्कीलाई प्रदान गरिएको थियो । यो सम्मान संस्थाबाट स्थापना भएको अक्षयकोषसहितको पहिलो सम्मान हो ।
प्रतिभा घिताल छन्द पुरस्कार–२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–२०७८ का लागि झापामा जन्मनु भएकी साहित्यकार विशेषत छन्दलाई माया गर्ने भुषिता बशिष्ठलाई प्रदान गरिएकाे छ । एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्षमा छन्दमा कलम चलाउने नारी साहित्यकारलाई यो पुरस्कार प्रदान गरिदै आएकाे छ । १० हजार १ रुपैयाँ राशीको यो पुरस्कार २०७५ सालमा स्थापना भएको हो । पहिलो पटक यो पुरस्कार महाकाव्यकार बुनु लामिछानेलाई प्रदान गरिएको थियो । त्यसैगरी प्रभा भट्टराई र कृष्णदेवी शर्मालाई प्रदान गरिसकिएको छ ।
ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गिय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबा/बुबाको नाममा स्थापना गरेको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान– मकवानपुर जिल्लाको पत्रकारिताका क्षेत्रमा लामो समयदेखि क्रियाशिल अग्रज पत्रकार कृष्णराम परियारलाई प्रदान गरिएकाे छ । आँचलले एक लाख रुपैयाँको अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाई यो सम्मान प्रदान गर्दै आएको छ । परियार ७ हजार ७ सय ७७ नगद तथा सम्मानपत्रबाट सम्मानित भएका हुन् । २०७५ सालमा स्थापना भएको यो सम्मान पहिलो पटक अग्रज पत्रकार कौशल पाण्डेलाई प्रदान गरिएको थियो । यस अघी मकवानपुरका अग्रज प्रताप विष्ट, नवराज शर्मा पनि यो सम्मानबाट सम्मानित भइसकेका छन ।
टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८
साहित्यकार रुकु कार्की तथा बहिनीहरु प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले स्वर्गिय पिता तथा माताद्धयको नाममा स्थापना गरिएको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८ हेटौडाका कवि निवन्धकार देवराज खरेललाई प्रदान गरिएकाे छ । खरेल ११ हजार १ सय ११ रुपैयाँ राशी र सम्मानपत्रसहित सम्मानित भएका हुन् । १ लाख ५० हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने व्यक्तिलाई दिइने यस सम्मान यस अघी ललिता दोषी र निमेष निखिललाई प्रदान गरिएको थियाे ।
अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५ सम्म अध्यक्षको रहेकी स्वर्गिय अप्सरा तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा जशोधा तिम्सनाले स्थापना गरेको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ चितवनमा बसेर साहित्यमा आफ्नो बलियो उपस्थिति जनाउने हुने कवि सरिता तिवारीलाई प्रदान गरिएकाे छ । १ लाख ९० हजार अक्षयकोषको प्राप्त व्याजबाट प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने व्यक्तिहरुलाई १५ हजार १ राशीसहित सम्मान प्रदान गरिदै आइएकाे छ । । यो सम्मान यस वर्षदेखि प्रदान गरिएकाे हाे ।
मुक्ति तारा नव प्रतिभा सम्मान २०७८
समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा उनकी धर्मपत्नी तारा वैद्यको नाममा स्थापना गरेको मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रिय अध्यक्ष प्रसन्ना चौलागाईँलाई ५ हजार १ राशीसहित सम्मान गरिएकाे छ । साहित्यमा कलम चलाउनु हुने नवप्रतिभाहरुलाई यो सम्मान दिइदै आएको छ । यो सम्मानबाट पहिलो पटक प्रसिद्धिका लम्साललाई सम्मानित भएकी थिइन् ।
खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८
मकवानपुरका हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलले आफ्नो पिताको नाममा स्थापना गरेको खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८ साहित्यकार जनार्दन खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ । ५ हजार १ रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने छ । । यो सम्मानबाट पहिलोपटक रामचन्द्र आचार्य ‘फुर्सदी’ सम्मानित भएका थिए । पुरस्कार स्थापनकर्ता पौडेलको २०७९ असार ७ गते निधन भएको छ ।
मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८
शिक्षाविद् देवप्रसाद श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गरेको मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८ यस वर्षका लागि चित्रकारिताका उदयमान नवप्रतिभा ऋत्विक के. बी. लाई प्रदान गरिएकाे छ । ऋत्विकले पछिल्लो समय साहित्यमा पनि आफ्नो उपस्थिति देखाउन थालेका छन । ऋत्विक ३ हजार ५ नगरसहित उक्त सम्मानबाट सम्मानित भएका हुन् ।
आँचल साहित्य /कला सम्मान २०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नै संस्थाको नाममा स्थापना गरेको आँचल साहित्य/कला सम्मान २०७८ खेलकुदतर्फ भलिबलको क्षेत्रमा विशेष योगदान पु¥याउने हुने भलिवल खेलाडी चुडा खड्कालाई ५ हजार १ राशीसहितको यो सम्मान प्रदान गरिएकाे छ । समाजसेवी/साहित्यसेवी मुक्ति गोविन्द वैद्यले उक्त सम्मानकाे नगद सौजन्य गरेका छन । यसअघि यो सम्मानबाट कलाकार सूर्य सन्यासी सम्मानित भएका छ्न् ।
सुन्तलीमाया युवा प्रतिभा सम्मान २०७८ चन्द्र किरण श्रेष्ठ र मेनुका शर्माले स्थापना गर्नु भएको यो सम्मानबाट नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य सम्मानित भएका छन । युवाहरूलाई प्रदान गरिने सम्मानको राशी १० हजार १ रहेको छ । २०७७ मा स्थापना भएको यो पुरस्कारबाट यस अघि मकवानपुरकै कवि सुवास खनाल सम्मानित भएका थिए ।
मकवानपुर । संघीय सरकारले प्रदान गर्ने बजेट उपलब्धतामा ढिलाई हुंदा अस्पतालको सेवा प्रवाह समस्या भएको बताईएको छ ।
हेटौंडा अस्पताल विकास समिति अध्यक्ष राजेश प्रसाइले यस्तो बताएका हुन् । अस्पतालले बर्षमा १४ करोड बराबरको कारोवार गर्ने र हाल ९ करोड रुपियाँ संघीय सरकारबाट रोकिदा समस्या भएको प्रसाईले बताए । अस्पतालको बारेमा व्यापक जनगुनासो आएपछि अनुगमनमा पुगेका हेटौंडा उपमहानगरपालिका नगर प्रमुख र उपप्रमुखसंग प्रसाइले यस्तो बताएका हुन । संघीय सरकारबाट आउनुपर्ने पैसा आए सेवा र जनगुनासोलाई व्यवस्थापन गर्न सकिने उनले बताए ।
अहिले अस्पतालमा स्वास्थ्य बिमाको औषधि वितरणमा समस्या भएको उनले बताए । “यो बिषयमा समस्या ठेकेदारलाई पैसा दिन नसक्दा भएको हो” उनले भने । औषधिको ठेक्का पारेको ‘एक्सिस्’ फर्मलाई ८० लाख रुपियाँ दिन नसक्दा औषधि आउँनै समस्या भएको उनले बताए ।
अस्पतालले दिने सेवामा समस्या नभएको उनको दाबि छ। अध्यक्ष प्रसाईले भने “सेवामा कुनै समस्या छैन, दैनिक बिरामिको चाप बढ्दो रहेपछि जनशक्तिमा व्यवस्थापनमा भने समस्या रहेको उनले बताए ।
विभिन्न समस्याका बाबजुत जनताको समस्यालाई समाधान गर्न उपमहानगपालिका तयार रहेको नगर प्रमुख मिनाकुमारी लामाले बताइन् । अहिले देखिएको समस्यालाई कम गर्दै व्यवस्थापनको पाटोमा ध्यान दिन अस्पताल व्यवस्थापनलाई नगर प्रमुख लामाले आग्रह गरीन् ।
जनगुनासो धेरै भएको भन्दै त्यो रोक्ने पाटोमा लागेर काम देखाउन उपमहानगरको सहयोग रहने लामाले प्रतिबद्धता जनाइन् । उनले दैनिक आउँने बिरामी उपचार बिनै फर्कन पर्ने अवस्थालाई चिर्न जरुरी रहेको भन्दै अस्पताल परिसरमा उपमहानगरले प्रसुति बाल अस्पताल सञ्चालन गर्ने तयारी भैरहेको बताइन् ।
उपमहानगर जिम्मेवार ढंगबाट लागेको भन्दै व्यवस्थित स्वास्थ्य अवस्था बनाउँनका लागि के गर्न सकिन्छ सहकार्य गरेर अधि बढ्न तयार रहेको उपप्रमुख राजेश बानियाँले बताए । उनले जनतालाई सुबिधा दिने कुरामा उपमहानगरले कुनै कसर बाँकी नराख्ने बताए ।
हेटौंडा अस्पतालमा रहेको बेथितीको बिषयमा जनस्तरबाटै हुँदै आएको दवाबपछि हेटौंडा उपमहानगरपालिकाले चासो लिएको हो । बुधबार हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले अस्पताल व्यवस्थापन समितिसँग अहिलेको अवस्थाको बारेमा चासो लिएका हुन् ।
बिरामिले टिकट, औषधी, उपचार पद्धतीको बिषय लिएर जनस्तरबाट आएको आवाजलाई चासो लिदै छलफल गरीएको हो । उपमहानगरमा भएको छलफलमा हेटौंडा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश प्रसाईले आर्थिक अवस्थाको कारण समस्या भएको बताएका थिए । उनले केन्द्र सरकारवाट आउँनु पर्ने स्वास्थ्य बिमा मार्फतको ६ करोड र कोरोनाको समयमा फिल्डमा खटिएका कर्मचारीको ३ करोड रुपियाँ नआउँदा समस्या भएको प्रसाइले बताए ।
मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मंगलबार दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् ।
नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम प्रदेश प्रमुख शर्माले ‘‘आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ’’ र ‘‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ’’ प्रमाणिकरण गरेका हुन् ।
गते १६ असारमा बसेको बागमती प्रदेशसभाको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणिकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता समेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले बताए ।
आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानून अकिृधत प्रकाश चापागाईंले बताए ।
मकवानपुर । किसानलाई असारमा खेतिको चटारो भए जत्तिकै छ अचेल कर्मचारीलाई बजेट सक्ने चटारो । बिनियोजित बजेट अनुसारको काम गर्न ११ महिना चुप लागेर बसेको मन्त्रालयहरूमा चालु आर्थिक बर्षको अन्तिम महिनाको मसान्त नजिकिदै गर्दा करोडौं रूपियाँ बराबरको काम एकै दिनमा हुन थालेको छ ।
यसरी हतार गरिने विकासे कामको कुनै दीगोपना नहुने बिगत मै देखिएको छ,यद्यपि त्यहि परम्पराको निरन्तरता यस बर्ष पनि देखिएको छ । यसको पछिल्लो उदाहरण हो बागमती प्रदेश सरकारको पछिल्लो दैनिक खर्च विवरण ।
प्रदेशमा हाल दैनिक २० करोडभन्दा बढि खर्च विवरण आउन थालेको छ । चालु आर्थिक वर्षको पछिल्लो ३ सातामा झण्डै ४ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। २४ अर्ब रुपैयाँ खर्चिन ११ महिना समय गुजारेको प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको १९ दिनमा नै ३ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बजेट खर्च गरेको छ।
चालु आवको साउने देखि जेठसम्म यसअघिको सरकारको दैनिक खर्च ७ करोड ४२ लाख ११ हजार पाँचसय १५ को हाराहारीमा हुने गरेको थियो। तर, आर्थिक वर्ष सकिनै लाग्दा भने सरकारले दैनिक खर्चलाई १३ करोड ६२ लाख रुपैयाँले बढाएको छ। चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिना अर्थात जेठसम्ममा सरकारको बजेट खर्च ४२ प्रतिशत मात्रै रहेकोमा हाले ४९ प्रतिशत पुगेको छ।
चालू आव २०७८/०७९ मा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो। असार महिनाको १९ दिन अर्थात सोमबारसम्ममा सरकारको कुल बजेट खर्च २८ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
जसमा चालू तर्फ २३ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बजेट रहेकोमा १४ अर्ब एक करोड ६४ लाख रुपैयाँ खर्च भएको छ। यो चालू कूल बजेटको ६१ प्रतिशत खर्च हो। त्यस्तैगरी पूँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ बजेट ल्याएको सरकारले हालसम्म १३ अर्ब १७ करोड २१ लाख रुपैयाँ खर्च गर्न सकेको छ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असारमा मात्रै ८५ करोड ३७ लाख रुपैयाँ बजेट खर्च गरेको छ। ९ अर्ब ७ करोड ४६ लाख रूपैयाँ ११ महिना लगाएको यस मन्त्रालयले असारको १९ दिनमा नै ८५ करोड ३७ लाख रुपैयाँ खर्च गरेको हो।
यसैगरी सामाजिक विकास मन्त्रालयले ७७ करोड ६० लाख रुपैयाँ बजेट खर्च गरेको छ। उक्त मन्त्रालयले ११ महिनामा तीन अर्ब ७२ करोड तीन लाख रूपैयाँ मात्रै बजेट खर्च गरेको थियो। उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले पनि आर्थिक वर्षको अन्तिममा आफ्नो खर्चलाई बढाएको छ।
चालू आवको ११ महिनाको अवधीमा एक अर्ब ५७ करोड ६९ लाख खर्च गरेको मन्त्रालयले १९ दिनमै ३८ करोड तीन लाख रुपैयाँ बजेट खर्च गरेको छ । एक अर्ब १९ करोड २२ लाख खर्च गर्न ३३० दिन अर्थात ११ महिना लगाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि १९ दिनमा ३३ करोड ९३ लाख रुपैयाँ बजेट खर्च गरेको छ।
यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले १५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो ११ महिनामा यो मन्त्रालयको खर्च २० करोड ७८ लाख थियो । यता आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि असार महिना लागेपछि ९ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ। उक्त मन्त्रालयले जेठ मसान्तसम्म ११ महिनाको अवधिमा २५ करोड ४ लाख ९५ हजार रूपैयाँ मात्रै खर्च गरेको थियो ।
सबभन्दा कम खर्च गर्ने कार्यलयको रूपमा चिनिएको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि असार महिनामा खर्च बढाएको छ । असार महिनामा मात्रै यो कार्यालयले ३० करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ। जसले बिगत ११ महिनामा२० करोड १२ लाख खर्च गरेको थियो । पछिल्लो महिनामा सबैभन्दा धेरै बजेट खर्च मुख्यमन्त्री कार्यालयको नै गरेको देखिन्छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले वडा अध्यक्ष र वडा सचिवको लागि अभिमुखीकरण गरेको छ । स्थानिय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्ष र सचिबको लागि दुई दिने अभिमुखीकरण गरेको हो । शुक्रबार र शनिबार दुई दिन भएको अभिमुखीकरणमा स्थानीय तहको सेवा प्रवाह, बिद्यमान कानुन तथा समसामहिक बिषय सहजीकरण गरिएको थियो ।
असार १७ गते सुरु भएको अभिमुखिकरण कार्यक्रमको शनिबार हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले समापन गरेकी थिइन् । समापनमा नगर प्रमुख लामाले अभिमुखीकरणले भोलीका दिनमा काम गर्न सहज हुने बिस्वास व्यक्त गरिन् । दुई दिनको बसाईले आगामि दिनमा कामको शिलसिलामा हुन सक्ने कानुनी समस्या सहितको बारे जानकारी लिएपछि जनतालाई सेवा सुबिधा दिने काममा बिलम्ब नगर्न वडा अध्यक्ष र सचिबलाई लामाले आग्रह गरिन् ।
अभिमुखीकरणमा बिकासका अवधारणा र योजना तर्जुमा प्रकृया, न्यायिक समितिको कानुनी व्यवस्था काम कर्तव्य र अधिकार, वडाहरुबाट हुने बिभिन्न सिफारिस, नागरिकता सिफारिस, स्थानीय बजार अनुगमन, बिपद् व्यवस्थापन, सेवा प्रवाहमा स्थानीय तहको भूमिका बिषयमा सहजीकरण गरिएको हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापाले जानकारी दिए ।
कार्यक्रममा १९ वटै वडाका अध्यक्ष र सचिवहरुले सेवाग्राहीहरुलाई दिने सेवा, सुविधा गुणस्तरीय, छिटोछरितो तथा प्रभावकारी बनाउने बारे अभिमुखिकरण गराइएको थियो । वडाहरुबाट आउने सिफारिसको व्यहोरा अपुरो हुँने भएकाले सेवाग्राही काम नगरी फर्केर जानुपर्ने अवस्था रहेको, तीन तहका सरकारले नागरिकलाई कसरी सहज रुपमा सेवा सुविधा दिन सकिने बारे जानकारी गराइएको थियो ।
कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, हेटौंडा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, कानुनी सल्लाहकार मुकुन्द अधिकारीले सहजिकरण गरेका थिए ।