मकवानपुर । कृषि उपजलाई सही तरिकाले भण्डारण गर्ने र उपजको सही मुल्य प्रदान गर्न महत्त्वकांक्षि सपनाका साथ सुरू गरिएको शितभण्डार निर्माण कार्य अलपत्र परेको छ ।
प्रदेश सरकारको नेतृत्व गर्ने दल फेरिएसंगै अघिल्लो सरकारले कार्यान्वयनमा ल्याएको योजना बेवास्ताको सिकार हुंदा निर्माण कार्य अलपत्र परेको हो । प्रदेशले २०७५ सालमा शीतभण्डार निर्माणका लागि डीपीआर तयार पारेर ठेक्का आह्वान गरेको थियो । ठेक्का आह्वान गरेको करिब ६ महिनापछि प्रदेश सरकारले शीतभण्डार निर्माणको शिलान्यास गरेको थियो । निर्माणका लागि २ वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७८ मा नै हस्तान्तरण हुनुपर्ने थियो । तर योजना अझै पुर्ण भएका छैनन् ।
बागमती प्रदेश सरकारले सुरु गरेको प्रदेशमा १० वटा शित भण्डार निर्माण लागेकोमा सबै अलपत्र परेका हुन् । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको थियो । प्रदेशले १३ वटै जिल्लामा कृषि उत्पादनलाई बेमौसममा बिक्रीवितरण गर्न भण्डारणका लागि शीतभण्डार निर्माण सुरु गरेको थियो । निर्माण कार्य प्रारम्भ भएको ४ वर्षमा ९ वटा पूर्णरूपमा अलपत्र र एउटा निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन बाँकी छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलका अनुसार सरकारले ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लागतमा प्रदेशका १० वटा शीतभण्डार निर्माण सुरु गरेको थियो ।
सबै शीतभण्डार निर्माण बापत् भन्दै मन्त्रालयले ६५ करोड ४८ लाख ६० हजार रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको छ । चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ्ग–७, रसुवाको कालिका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसंखुपाखर–७ र इन्द्रावती, दोलखाको जिरी–५, रामेछापको मन्थली, नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा शीतभण्डार निर्माणाधीन अवस्थामा छ ।
मन्त्रालयले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा ५ हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माणका लागि ५० प्रतिशत र साझेदार संस्था र निजी कम्पनीको ५० प्रतिशत लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
विदुरमा कुल १९ करोड ८५ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढीमा २० करोड ३९ लाख ६८ हजार रुपैयाँ लागतमा शीतभण्डार निर्माण ठेक्का सम्झौता भएको थियो । हालसम्म दुवै अधुरा छन् । दुवै शीतभण्डारको ६० प्रतिशत मात्र भौतिक प्रगति रहेको मन्त्रालयले जनाएको छ । हालसम्म बेलकोटगढीमा मन्त्रालयले १० करोड ८१ लाख ८६ हजार रुपैयाँ र विदुरमा १० करोड १७ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।
मन्त्रालयका अनुसार खैरहनी–६ मा साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा २०७५ साल चैत १३ मा शीतभण्डार निर्माण सम्झौता गरेर काम सुरु गरेकोमा हालसम्म करिब ९५ प्रतिशत सम्पन्न भएको छ । १५ सय मेट्रिक टन क्षमताको यस शीतभण्डार निर्माणका लागि १२ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म ११ करोड ५२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
बेनीघाट रोराङमा १५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थासँग साझेदारी भएको छ । मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार रुपैयाँ लागतमा सम्झौता गरेकोमा हालसम्म १० करोड ९८ लाख ६४ हजार रुपैयाँ भुक्तानी दिएको छ । हालसम्म ९५ प्रतिशत काम सकिएको दाबी गरिएको छ ।
सिन्धुपाल्चोककै इन्द्रावतीमा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्न ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । हालसम्म ७० प्रतिशत मात्र भौतिक संरचना निर्माण भएको र करिब ४ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यता रामेछापको मन्थली–५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कुल ५ करोड ३० लाख ९५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म यस शीतभण्डारको ७० प्रतिशत भौतिक प्रगति भएको र ४ करोड ८२ लाख ३८ हजार रुपैयाँ भुक्तानी मन्त्रालयले गरेको छ ।
सिन्धुलीको सुनकोसी–५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ ।
शीतभण्डारको प्राविधिक काम अझै बाँकी छ । मन्त्रालयले कुल ५ करोड ३० लाख ८० हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएकोमा ४ करोड ७९ लाख ९७ हजार रुपैयाँ भुक्तानी दिएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर–७ मा गोल्मुथान कृषि सहकारीसँगको साझेदारीमा शीतभण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो । ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कुल ५ करोड ३५ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो । हालसम्म ४५ प्रतिशत काम सकिएको र २ करोड ८ लाख ८७ हजार रुपैयाँ भुक्तानी भएको मन्त्रालयले जनाएको छ ।
दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्थासँगको साझेदारीमा ५ करोड ३७ लाख रुपैया लागतमा ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सुरु भए पनि हालसम्म ५० प्रतिशत मात्र काम सकिएको छ । २ करोड १९ लाख रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।
रसुवाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणको काम अझै जारी छ । ३ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण सम्झौता भएको शीतभण्डारको भौतिक संरचना निर्माणको काम सकिए पनि मेसिन जडान बाँकी नै छ । मन्त्रायलले हालसम्म ३ करोड १८ लाख ६७ हजार रुपैयाँ भुक्तानी भएको जनाएको छ ।
सरकारमा नेतृत्व गर्ने दल फेरिएको कारण पनि योजनाहरू अलपत्र रहेको बुझिएको छ । अघिल्लो सरकारले कार्यन्वयनमा ल्याएको योजना वर्तमान सरकारको बेवास्ताको शिकार हुंदा एकातिर राज्यको धनराशि खेर गएको छ, भने अर्कोतिर किसानहरूमा जागेको आशा मरेको धादिङ जिल्लाका पत्रकार सितारामा अधिकारीले बताए । “सरकारको नेतृत्व जसले गरे पनि पुर्वबत योजनाहरूको कार्यान्वयन र सम्पादन हुनुपर्थ्यो” उनले भने ।
मकवानपुर । बागमती प्रदेशकाे ३ वटा विधेयक प्रमाणिकरण भएकाे छ । बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्माले प्रदेशसभाबाट पारित भएका ३ वटा विधेयक प्रमाणीकरण गरेका हुन् ।
केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यावस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसंधान व्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखबाट प्रमाणिकरण भए पछी उक्त विधेयक ऐनकाे रुपमा प्रदेश राजपत्रमा प्रकाशित हुनेछ ।
मकवानपुर । जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०७९–८० को लागि ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयाँ बजेट पेश गरेको छ ।
समन्वय समिति उपप्रमुख सानुकाजी लुईंटेलल जिल्ला सभामा उक्त बजेट पेश गरेका हुन् । बजेट कार्यान्वयन गर्ने स्रोतकोरुपमा संघीय अनुदानबाट १ करोड ४० लाख १७ हजार, बागमती प्रदेश सरकार अनुदानबाट ७५ लाख, प्राकृतिक स्रोतको रोयल्टी बााबाँडपाँडबाट १३ लाख बजेट पेश गरीएको हो ।
यसैगरी विविध कोष खातामा रहेको २२ लाख ४४ हजार, जिल्ला विकास समितिको मौज्दात कोषबाट ८ करोड ८८ लाख, कोरोना आपतकालीन कोषको १२ लाख गरी ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयाँको बजेट पेश गरेका थिए ।
समन्वय समितिले सन्तुलित, दिगो र गुणस्तरीय विकास, रोजगारी सृजना र गरिबी निवारण, खेलकुद र पर्यटन विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा प्राकृतिक स्रोतको सदुपयोग प्रवद्र्धन, सामाजिक न्याय तथा लैङ्गिक जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको समन्वय समिति प्रमुख ललितबहादुर घलानले बताए ।
जिल्ला सभामा मकवानपुर जिल्लाको १० पालिका मध्ये कार्यसम्पादनमा उत्कृष्ट भएका पालिकाहरुलाई सम्मान पनि गरिएको थियो ।
स्थानीय तहहरुले वार्षिक रुपमा गरेको कार्य प्रगति मूल्यांकनलगायतका आधारमा मकवानपुरको १० पालिकामध्ये विकट राक्सिराङ गाउँपालिका प्रथम घोषित भएको छ ।
स्थानीय तह संस्थागत स्वमूल्यांकन कार्यविधि २०७८ को अंकभारमा ६३ दशमलव २ प्रतिशत अंक प्राप्त गर्दै यो पालिका प्रथम भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
जिल्ला समन्वय समिती आन्तरिक मुल्याङ्कनको आधारमा प्रत्येक वर्ष जिल्लाका ३ स्थानीय तहलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी सम्मानपत्र प्रदान गर्दै आएको छ । जिल्ला समन्वय समितिको मूल्यांकनअनुसार ईन्द्रसरोवर गाउँपालिका दोस्रो र बागमती गाउँपालिका तेस्रो भएका छन् ।
मकवानपुर । मकवानपुरको हेटौंडामा ५ वटा सवारी आपसमा ठोक्किएका छन् ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा रिलायन्स इङ्लिस बोर्डिङ स्कुल बस सहित ५ सवारी एक आपसमा ठाक्किदा दर्जन बढी घाईते भएका छन् ।
बिहान सढे नौ बजेको समयमा हेटौंडा-१५ को रातोमाटे वन नर्सरी नजिक ट्याङकर, ट्याङ्की, स्कुल बस र कार सवारी एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । उनका अनुसार एक स्कुल बस, दुई ट्याङ्की, एक तेलको ट्याङ्क र एक कार ठोक्किएको हो।
उनका अनुसार ५ वटा सवारी ठोक्किदा १५ जना सामान्य घाईते भएका छन् । मानविय क्षती भएको छैन् । सबैलाई हेटौंडा अस्पताल ल्याईएको छ ।
घाइतेको एक्स रे गर्न बाकी रहेकोले अवस्था एकिन नभएको प्रहरीले जनाएको छ । रिलायन बसका चालक ६७ बर्षिय श्याम बहादुर स्याङ्तानको भने टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाइते हुनेमा चालक र विद्यार्थीहरू रहेका छन् । घटनाको बिस्तृत विवरण आउन बांकी छ ।
मकवानपुर / मकवानपुर जिल्लामा डेंकुको संक्रमण फैलने क्रम बढेको छ । पछिल्लो साता दैनिक जसो डेंगुको नयाँ संक्रमण देखिन थालेको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो १९ दिनमा डेंगु संक्रमणको संङ्ख्य ९४ पुगेको छ । साउन महिनाको दोस्रो साताबाट सुरु भएको डेंगु संक्रमण अझै नियन्त्रणमा नआएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
मकवानपुरका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाका सबैभन्दा धेरै डेङ्गु संक्रमण पुष्टी भएको घिमिरेले बताए ।
गत आर्थिक वर्षमा १ सय ९५ जनामा डेङ्गू संक्रमण भएको थियो । त्यस्तै स्क्रबटाइफसका बिरामी ५५ जना, मलेरियाका बिरामी ३० जना र कालाजारका बिरामी २ जना भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।