इच्छाकामना, चितवन । नेपाली महिलाहरुको तीज पर्वकाे देश परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका रहेको बागमती प्रदेशका वन तथा वातवारणमन्त्री कृष्ण सिलवालले बताएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकाले कुरिनटारमा आयोजित तीजगीत प्रतियोगितालाई सम्बोन्धन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली महिलाहरुको महान पर्व तीज सांस्कृतिक पर्व मात्र नभई परिवर्तनसँग जोडिएर आउने पर्व भएकाे उनले बताए । ‘हिजोका दिनमा चेलीहरु माइत आएको बेला आफ्नो दुःख, वेदना तीजको गीतमार्फत पोख्ने सांस्कृतिक चलन रहेको थियाे’ उनले भने ‘समाज परिवर्तन र देश परिवर्तनका लागि जनतालाई जागरुक बनाउन पनि तीजगीतहरु गाइने गरेकोले देश परिवर्तनका निम्ति पनि यो पर्वको महत्वपूर्ण भूमिका रहेको छ ।’
तीजगीतकै माध्यमबाट समाजमा राजनैतिक चेतना फैलाउन महिलाहरुले योगदान पुर्याएकोले देशमा परिवर्तन आउन सम्भव भएको उनले बताए । उनले स्थानीय जनताको सकारात्मक परिवर्तनका लागि आफू सदैव लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे । इच्छाकामना गाउँपालिका मन्त्री सिलवालकाे गृह पालिका समेत हाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा सह योग शिक्षक प्रशिक्षण सुरु भएकाे छ । हेटौंडाकाे १० नम्बर वडाका ४ स्थानमा एकैपटक सह याेग शिक्षक प्रशिक्षण सुरु भएकाे हाे ।
पतंजली याेग जिल्ला समितिकाे आयाेजना तथा पतंजली योग महिला समिति,पतंजली योग युवा समिति, पतंजली योग नगर समितिकाे सहआयाेजना सुरु योग शिक्षक प्रशिक्षण १० नम्बर वडा कार्यालय हेटौंडा उपमहानगरपालिकाे प्रवर्द्धनमा भएकाे हाे । हेटौडा १० काे आदर्शटाेल,डा.टाेनी हेगन स्मृति पार्क,न्युरेनी र भुटनदेवी याेग साधना केन्द्र भुटनदेवीटाेलमा शनिवारदेखि निरन्तर सह याेग शिक्षक तालिम सुरु भएकाे छ ।
गराै याेग रहाै निराेग भन्ने नाराका साथ सुरु भएकाे सह याेग शिक्षक तालिममा पतन्जली याेग समिति मकवानपुर अध्यक्ष रामकृष्ण थापा, महिला समिति अध्यक्ष शशिकला थापा, टाेनि हेगन स्मृति पार्कका अध्यक्ष इन्द्र प्रसाद नेपाल लगायतले प्रशिक्षण दिने उक्त तालिम निशुल्क रुपमा प्रदान गरिएकाे छ ।
सबैभन्दा ठुलाे धर्म मानिसलाई स्वस्थ बनाउने भएकाे हुँदा पतन्जली याेग समिति मकवानपुरले दशकाेैदेखि याेग साधनाका क्षेत्रमा लागिपरिरहेकाे बताउदै जिल्ला अध्यक्ष रामकृष्ण थापाले भने “प्रतिकुल माैसमका कारण मानिसहरुमा नयाँ नयाँ किसिमका राेग तथा महामारीले चुनाैति रहेकाे छ,यसबाट बच्नका लागि याेग नै प्रमुख माध्यम हाे ।”
विगत १५ बर्षदेखि निरन्तर पतंजलि योग जिल्ला समिति मकवानपुरबाट याेग साधना ध्यान जस्ता प्रशिक्षणहरु विभिन्न समयमा सन्चालन भई रहेकाे छ । कार्यक्रम नियमति संचालन हुने भएकाेले निशुल्क रुपमा स्वास्थ्य प्राप्तिका लागि सवैलाई सहभागी हुन पतंजली योग महिला समिति अध्यक्ष शशिकला थापाले अनुराेध गरिन् ।
चितवन । विपिन पाठकको कवितासङ्ग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण गरिएकाे छ । शुक्रबार चितवनकाे माडीस्थित पर्यटकीयस्थल रातोमाटे डाँडामा पाठककाे पहिलाे कविता कृति लोकार्पण गरिएको हो ।
माडी साहित्य परिवारले आयोजना गरेको कार्यक्रममा चितवन, मकवानपुर, नवलपरासी र कैलालीका साहित्यसर्जकहरुको उपस्थितिमा कृति लोकर्पण गरिएकाे हाे । माडी साहित्य परिवारका अध्यक्ष चन्द्रमणि महतो, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, कवि पाठकका बुबाआमा बालकृष्ण र पार्वती पाठक, कवि भूपिन, युवा नेता रामप्रसाद न्यौपानेलगायतले सो पुस्तकको लोकार्पण गरेका हुन् ।
लेखक एवं कवि पाठकको व्यक्तित्व एवं कृतिका सन्दर्भमा डा. धनेश्वर भट्टराईले चर्चा गरेका थिए । भट्टराईले कवि पाठक कवितामा गहिरो रुचि भएको व्यक्ति भएको बताए । त्यसैगरी लेखक भूपिनले कवि विपिनको भने ‘कविता लेखनमा विपिन लोभलाग्दो किसिमबाट आएका छन्, उनले कविता बुझेका छन्, अझै स्तरीय कविता लेखेर आउनुपर्ने चुनौती यो सङ्ग्रहले दिएको छ ।’
कार्यक्रममा कवि पोषराज पौडेल, बाम बुद्धिजीवी प्रेम रिमाल, युवा राजनीतिज्ञ रामप्रसाद न्यौपाने, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, मकवानपुर हेटौंडाका कवि पुरुषोत्तम आचार्यलगायतले शुभकामना दिए । सीमान्तकृतको आवाज, असमानताप्रतिको विद्रोह, कर्मीवर्गप्रतिको विशेष प्रेम, राजनीतिक विचलन, सुशासनका लागि खबरदारी, प्रकृति र वातावरण संरक्षणलगायतका कविता सङ्ग्रहमा समेटिएका छन् ।
कविता सङ्ग्रहमा ४० वटा कविता छन् । कवि विपिनले आफू माडीको सामान्य परिवारमा जन्मिएको र यहि सामान्य समाजको संगतमा बसेकोले आफ्ना कवितामा पनि समाजका सामान्य कुरा समेटिएकाे बताए । ६० को दशकदेखि कविता लेखनमा सक्रिय पाठक समाज, समसामयिक परिवेश र प्रकृतिलाई केन्द्रमा राखेर सिर्जना गर्न रुचाउँछन् । प्रगतिशील लेखक संघ चितवन शाखाका पूर्वअध्यक्ष कवि पाठक साहित्य सङ्गम चितवनका पूर्व सहसचिव पनि हुन् ।
माडीसहित विभिन्न एफएम रेडियोमा साहित्यिक कार्यक्रम संचालनकाे अनुभव बटुलेका पाठक पेशाले शिक्षक हुन् । शिक्षा तथा लाेक सेवाका कक्षाहरु संचालन समेत गर्ने पाठक विश्वप्रकाश मावि भरतपुरमा अध्यापन गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट कानून विषयमा स्नातक गरेका छन् ।
सम्पूर्ण किताब नारायणगढले बिक्रीवितरणको जिम्मा लिएकाे कविता सङ्ग्रह इन्डिगो इन्क प्रालि काठमाडाैंले प्रकाशन गरेकाे हाे ।
काठमाडौं । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको विकृति र बिसङ्गती हटाउने गरि काम गर्ने बताएका छन् । स्वास्थ्य क्षेत्रमा कमिकमजोरीका कुराहरू सुनिने गरेको भन्दै मन्त्री थापाले यसको न्यूनीकरणका लागि सदैव तत्पर रहने बताए ।
भक्तपुरको सुर्यविनायक नगरपालिका ९ नखेलस्थित नन्दिकेशर महादेव मन्दिरमा भैरहेको श्रावणी मेलामा प्रमुख अतिथि रहनु भएका मन्त्री थापाले स्वास्थ्य सेवाबाट कोहि पनि वन्चित हुन नहुने बताए । जनताको काम गर्न मन्त्री पदमा रहेकाे भन्दै उनले लोभ लालचमा आफू नफस्ने समेत स्पष्ट पारे ।
आफूले मन्त्रीको पदभार ग्रहण गरेकै दिन क्यान्सरका विरामीहरुलाई १ लाख सहयोग उपलब्ध गराउने निर्णय गरेकाे समेत उनले जानकारी दिए । ‘विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय भएको छ’ मन्त्री थापाले भने ।
भक्तपुरमा धेरै धार्मिक स्थल भएकोले यसको प्रवर्द्धनमा प्रदेश सरकार लाग्ने उनले बताए । सबै धार्मिक स्थलमा दर्शनका लागि सहज पहुँचका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जानकारी दिए । प्रदेश सभा सदस्य निर्वाचित भएपछि नै स्वास्थ्य, शिक्षा, पुर्वाधारसङ्गै धार्मिक पर्यटन प्रवर्द्धन एवम् अन्य विकास निर्माणमा आफूले सहजीकरण गरिरहेको उनले बताए ।
मकवानपुर । बहुचर्चित तराइ काठमाण्डौ फास्ट ट्रयाक अन्तरगत सोमबार अर्को ब्रेक थ्रु भएको छ ।
राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको यो मार्गमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको बकैया गाउँपालिका वडा न १२ मा रहेको धेद्रेमा सुरुङको ब्रेक थ्रु गरेका हुन् ।
काठमाडौं तराई मधेश द्रूतमार्ग सडक आयोजनाअन्तर्गत घट्टेपाँखा स्थित धेद्रे सुरुङको स्वीच थिचेर ब्रेक थ्रू गरेका हुन् । प्रधानमन्त्री ओलीले एक दशमलव ७२८ किमी लामो सुरुङ ब्रेक थ्रू गरेका हुन् ।
बारा जिल्लाको निजगढबाट कामाठाडौंतर्फको एक दशमलब ६५३ किमी धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ब्रेक थ्रु भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नम्बर दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सकिएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, नेपालका लागि चीन र कोरियाका राजदूत पनि ब्रेक थ्रू समारोहमा उपस्थित थिए ।
प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराए । शर्माका अनुसार भौतिक प्रगति ३५ दशमलब ९८ प्रतिशत सकिएको छ ।
लेनडाँडामा रहेको निजगढ काठमाडौंतर्फको एक दशमलब ६१२ किमी र काठमाडौं निजगढतर्फको एक दशमलब ६३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ ।
तीन दशमलब ३२२ किमीको निजगढ(काठमाडौंतर्फको महादेवटार सुरुङ हालसम्म दुई दशमलब २९ किमी तथा तीन दशमलव ३८६ किमीको काठमाडौं निजगढतर्फको दुई दशमलव २८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
राष्ट्रिय गौरवको योजना अन्तरगत द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् ।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढमा शिलान्यास गरेका थिए ।
नेपाल सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो ।
बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ ।
प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमब ९७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भू भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रूतमार्गमा १० दशमलब ३०९ किमी लम्बाइको ६ वटा सुरुङ बन्ने छन् ।
आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलब २५ किमी, महादेवडाँडामा तीन दशमलब ३५५ किमी, धेद्रेमा एक दशमलब ६९१ र लेनडाँडामा एक दशमलव ६२३ किमी लामो सुरुङ निर्माण हुनेछ ।
सो सडकमा विभिन्न स्थानमा १२ दशमलब ८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एकरएक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ ।