मकवानपुर । पछिल्लो समय महामारीको रुप लिइरहेको डेंगुको संक्रमणबारे बागमती प्रदेश सरकारले अनुसन्धान एवं निगरानी गर्ने भएको छ । प्रदेश सरकारले डेंगुको अनुसन्धान तथा निगरानीको लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रसँग सहमति गरेको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगत मकवानपुरको हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच यस्तो सहमति गरीएको हो ।
प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवं निगरानी गर्न मन्त्रालयले विशेष चासे राख्ने छ । स्वास्थ्य मन्त्री निमा लामाको उपस्थितिमा मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र केन्द्रका निर्देशक डा विश्वबन्धु बगालेबीच सम्झौता पत्रमा हस्ताक्षरण गरिएको हो ।
केन्द्रले डेंगु प्रभावित बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरमा यसको प्रभाव, संक्रमणको अवस्था, निगरानीका लागि अपनाउनुपर्ने रणनीतिलगायतका क्षेत्रमा अनुसन्धान गरि सुझाव दिने मन्त्रालयका प्रवक्ता दीपक तिवारीले जानकारी दिए ।
अनुसन्धान तथा निगरानीले बागमती प्रदेशमा डेंगु रोग नियन्त्रणका लागि गरिएका प्रयासलाई थप व्यवस्थित गर्न सहयोग पुग्ने उनको भनाई छ ।
बागमती प्रदेशमा अहिलेसम्म ६ हजार ६ सय ५४ जना डेंगुका बिरामी रहेका मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा सबैभन्दा बढि ३ हजार ७९ जना, काठमाडौंमा १ हजार ७ सय ९७ जना, मकवानपुरमा १ हजार ४५ जना, चितवनमा १ सय ७९ जना, भक्तपुरमा १ सय ७० जना, धादिङमा १२१ जना, नुवाकोटमा १४, सिन्धुली ६६ जना, रामेछाप २२ जना, दोलखा १० जना, काभ्रे ४४, सिन्धुपाल्चोकमा ७ जना विरामी रहेका छन् ।
पछिल्लो समय डेंगुको कारण मृत्युहुनेहरुको संख्या पनि बढ्न थालेपछि यसबारे कडा निगरानी अबश्यक ठानिएको मन्त्री लामाले बताए । हेटौंडा उपमहानगरपालिकाले पनि पछिल्लो साता दैनिक लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान जारी राखेको छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका ३ मक्राञ्चुली स्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निक्षेप संकलन १३ करोड पुर्याएको छ । सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा १३ करोड ७२ लाख, ३६ हजार ९५८ रुपियाँ वास्तविक निक्षेप संकलन गरेको हो ।
सहकारीले अघिल्लो आर्थिक वर्षमा ११ करोड, ७४ लाख, २३ हजार ६९४ निक्षेप संकलन गरेको थियो । सहकारीको आफ्नो २४ औं वार्षिक साधारण सभामा कोषध्यक्ष सुमित्रा दुलालले यस्तो प्रतिवेदश सार्वजनिक गरेकी हुन् । सहकारीको हाल ७५ लाख ६६ हजार जगेडा कोष रहेको दुलालको प्रतिवेदनमा उल्लेख छ ।
शनिबार सम्पन्न साधारण सभामा अध्यक्ष कल्पना श्रेष्ठले साकोसमार्फत गाउँवासीलाई आत्मनिर्भर बनाउने र शहरवासीहरुलाई संभावनाको खोजि गर्दै गाउँ पस्ने वातावरण सिर्जना गर्न सहकारी लागि परेको बताइन् ।
श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले सहकारीले स्थानीयको जनविजिका उठाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट ऋणी, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ताहरुलाई पुरस्कृत गरिएको सचिव सरिता विश्वकर्माले बताइन् ।
मकवानपुर । भक्तपुरको सुर्यबिनायकमा भएको राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट मकवानपुरका नरेन्द्र भण्डारी कोषाध्यक्षमा चयन भएका छन् ।
युवा संघ नेपालको बागमती प्रदेश कार्यसमिति चयन गरिएको हो । जय गुरुङको नेतृत्वमा ९७ सदस्यीय समितीमा मकवानपुरका भण्डारी कोषाध्यक्ष चयन भएका हुन् ।
मकवानपुरे विश्वराज राई, इन्साफ़ केसी, सागर पाण्डे, छेकु लामा, मीनू वाईबा, विजय बलामी र सुवास गोले सदस्यमा चयन भएका छन् ।
यस्तै समितिको उपाध्यक्षमा दिलिप पौडेल, सचिवमा राजु तिवारी सहसचिवमा माधव श्रीमाली, सहसचिव: राजेश खड्का चयन भएका छन् । त्यस्तै बागमती युथफोर्सको संयोजकमा सुरेनविक्रम योन्जन चयन भएका छन् भने उपप्रमुखमा सुमितजंग कार्की छन् । युवा संघकै घटक साइबर सर्कल एवं प्रवक्तामा विनोद पौडेलसहित ९७ सदस्यीय प्रदेश कमिटी चयन भएको युवा संघले जनाएको छ ।
सूर्यविनायकमा भएको अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका थिए । अधिवेशनमा युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल, क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेबेलगायतले शुभकामना दिएका थिए ।
मकवानपुर । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लव अफ मकवानपुरको संयोजनमा हेटौंडामा हुन लागेको अध्यक्ष–सचिव भेला(पिएस मिट)को तयारी पुरा भएको छ ।
रोटर्याक्ट क्लव अफ हेटौंडा र मकवानपुरले पत्रकार सम्मेलन गरि अध्यक्ष–सचिव भेलाको तयारी पुरा भएको जानकारी दिएको हो । भाद्र २५ गते हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा हुन लागेको देशैभरिको रोटर्याक्ट क्लबको अध्यक्ष–सचिवको भेलाको तयारी पुरा भएको हो ।
पत्रकार सम्मेलनमा रोटर्याक्ट डिष्ट्रीक्ट ३२९२ का डि आर आर लक्ष्मण खरेल, रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष सुएस राज पराजुली लगायतको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमले हेटौंडा र हेटौंडामा रहेका पर्यटकीय गन्तव्यहरुलाई देशैभरी थप पहिचान मिल्ने विश्वास लिएको रोटर्याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले बताए । हरेक रोटा वर्षको पहिलो त्रैमासिकमाआयोजना गरिने अध्यक्ष सचिवको भेलाले रोटर्याक्टसँग सम्बन्धीत विभिन्न मुद्धाहरु तथा प्रस्तावहरुमा छलफल गरिने अध्यक्ष राईले जानकारी दिए ।
कार्यक्रमले विभिन्न रोटर्याक्ट क्लवहरुसँग सञ्जाल बनाउन तथा आत्मियता बढाउन पनि मद्धत पुग्ने उनको भनाई रहेको छ । कार्यक्रममा रोटर्याक्ट क्ल्व अफ बुटवल साउथ, रोटर्याक्ट क्लव अफ युनाइटेड बिरगञ्ज र रोटर्याक्ट क्लव अफ बर्दिबासले सह संयोजन गरेको छ । कार्यक्रमको लागि महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गरेको रोटर्याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष मिलन ढकालले जानकारी दिए ।
त्यसैगरी सागर डिष्टिलरी, युनिलिभर नेपाल प्रा.लि., स्मार्ट स्टडी, कान्तिपुर म्यानेजमेन्ट, एभरेष्ट कलर, एमएम पोलिमर्स, सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, जोभियल, कफिबार लगायतले सह प्रायोजन गरेको अध्यक्ष ढकालले बताए ।
हेटौंडा उपमहानगरपालिका, रोटरी क्लव अफ हेटौँडा र रोटरी क्लव अफ मकवानपुरले पनि आवश्यक साथ र सहयोग गरिरहेको उनको भनाई छ । करिब १ हजार जना रोटर्याक्टरहरुको सहभागिता रहने कार्यक्रमा २० लाख रुपैयाँ लागत अनुमान रहेको आयोजकले बताएको छ ।
मकवानपुर । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले आगामी चुनाव आफ्नो जीवनकालको अन्तिम हुने भन्दै समर्थन गरिदिन आग्रह गरेका छन् ।
चुनावी तयारीको लागि गृह जिल्ला मकवानपुर आएका थापाले आफ्नो जीवनमा धेरै राम्रा काम गरेको दाबि गर्दै अब एक मात्रै अवसर दिन शुभेच्छुकहरूसंग आग्रह गरे । “जीवनमा धेरै पटक चुनाव लडे, काम गर्ने अवसर पनि पाएं, गरें पनि, अब मात्रै एक चान्स दिनोस” उनले कार्यकर्तासंगको भेटमा भने । आफ्नो जीवनमा आफू यसपछि चुनावी माहोलमा नजाने बताउंदै थापाले भने “यो मेरो जीवनको अन्तिम चुनाव हो ।”
आफ्नो गृह जिल्लामा सिम्प्याथी मत अपेक्षा गरेका थापाले अन्तिम निर्वाचन जित्ने ठुलै अभिलाषा रहेको बताए । मकवानपुरमा थापाले पार्टीका नेता कार्यकर्ता तथा स्वतन्त्र युवाहरुसंग भेटघाट गर्दै चुनावी अभियानलाई तीब्रता दिएका छन् ।
भेटघाटमा उनले हेटौंडालाई प्रदेशको राजधानी बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै आएका छन् । हेटौंडामा भेटघाट कार्यक्रममा अध्यक्ष थापाले अन्तिम एकपटक चुनाव जितेर जिल्लाको लागि केहि गर्न मन भएकोले फेरी पनि जनताको आशिर्वाद चाहेको बताए ।
राप्रपा नेपालले थापालाई प्रतिनिधि सभामा मकवानपुरको क्षेत्र न १ बाट एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।