मकवानपुर । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले सूर्य चिन्ह लिएर आसन्न निर्वाचनमा मैदान जान पाउँदा खुसी लागेकाे बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेर मनाेनय दर्तापछि यस्ताे प्रतिक्रिया दिएका हुन् । उनले पार्टीका महामन्त्री राजाराम बर्तौला, भाइ गणेश थापासँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यस अघि आफ्नै पार्टीकाे चुनाव चिन्ह गाई लिएर चुनावी मैदानमा उत्रेका थापाकाे आठौं पटक संसदीय निर्वाचन हाे । थापाले यसअघि २०३१, २०३८, २०४३, २०४८, २०५१, २०५६,२०६४,२०७० र २०७४ मा संसदीय उम्मेदवार बनेका थिए ।
उनी अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए । थापा तत्कालिन समयमा नेकपा एमालेकै उम्मेदवार कृष्ण प्रसाद दाहालसँग पराजित भएका थिए । उनी अहिले भने एमालेबाट उम्मेदवार दर्ता गरेर चुनावी मैदानमा होमिएका हुन् ।
मकवानपुर । आसन्न प्रनितिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकाे लागि गठबन्धनकाे तर्फबाट पनि उम्मेदवारी दर्ता भएकाे छ ।
निर्वाचन अधिकृतको कार्यालयमा र्याली सहित उपस्थित भएका गठबन्धन दलका नेताहरुले एकैसाथ उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा नेपाली काँग्रेस महामन्त्री महालक्ष्मी उपाध्याय डीना र क्षेत्र नम्वर– २ मा एकिकृत समाजवादीका विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै गठबन्धनको तर्फबाट मकवानपुर १ प्रदेश सभातर्फ क बाट प्रेमबहादुर पुलामीले उम्मेदवारी दिएका छन् भने ख मा नेपाली काग्रेसका आनन्द पराजुलीले उम्मेदवारी दिए । प्रतिनिधि सभा क्षेत्र नम्वर २ काे प्रदेश सभातर्फ क बाट कुमारी मोक्तान र ख बाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका हुन् ।
मकवानपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि मकवानपुरमा पनि मनोनय दर्ता कार्यक्रम उल्लाषका साथ भएको छ । मनोनयन दर्तापछि सबै उम्मेवारहरुले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुनै क्षेत्रमा दुई पक्षिय त कुनै क्षेत्रमा त्रिपक्षिय प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमाले, राप्रपा र गठबन्धनबिच सबैभन्दा बढी प्रतिष्पर्धा हुने देखिएको छ ।
मकवानपुर जिल्लाको प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुरले ५ जना आफ्ना नेतालाइ उम्मेदवार बनाएको छ भने एक जना राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापालाई अध्यक्ष बनाएको छ ।
गत स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेकपा एमालेले आगामी निर्वाचनबाट भने सोधभर्ना गर्ने बताएको छ । निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधीसभा र प्रदेशसभाका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएपछि पार्टी नेताहरुले यस्तो बताएका छन् ।
एमालेले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधी सभा क्षेत्र नम्बर–२ मा एमाले बागमती प्रदेशका उपसचिब तथा प्रचार विभागका प्रमुख महेश कुमार बतौलाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी क्षेत्र नम्बर–१ को क मा एमालेका बागमती प्रदेश सदस्य कमल बहादुर विष्ट र ख मा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर–२ को क मा बिष्णु ढुकाल र ख मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
मकवानपुर । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि प्रतिनिधि सभातर्फ मकवानपुरको क्षेत्र न १ बाट राप्रपा केन्द्रिय सदस्य दिपकबहादुर सिंहले मनोनय दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतकाे कार्यालय मकवानपुर १ मा पुगेर सिंहले आफ्नाे मनाेनयन दर्ता गराएका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित सिंहले यसपटक प्रतिनिधि सभामा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
अब राप्रापका सिंहसंग नेकपा एमालेको समर्थनमा राप्रपा नेपालका कमल थापा, गठबन्धनबाट नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यय डिनाको प्रतिष्पर्धा हुनेछ ।
मकवानपुर । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राप्रपा नेपालसंगको गठबन्धन गरेको प्रती असन्तुष्ट पक्षले नेकपा एमाले जिल्ला पार्टी कार्यालय मकवानपुरमा ताला लगाएका छन् ।
मकवानपुरको क्षेत्र न १ मा रामेश्वर रानालाई उम्मेदवार घोषणा गरीएको केही समयमै उनको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उमेदवार बनाएको प्रति असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

पार्टी केन्द्रीय कमिटीले जिल्लाको राजनीतिक अवस्था नबुझेको र पार्टीप्रतिको लगानीलाई बेवास्ता गरेको भन्दै आक्रोसित कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएको हो । केन्द्रको निर्णयका विरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै आफूहरुले ताला लगाएको आन्दोलित पक्षले जनाएको छ । जिल्ला अध्यक्ष एकालल श्रेष्ठले आफू पार्टी कार्यालयभन्दा बाहिर रहेकाे र यसबारे पार्टी अफिस पुगेपछिमात्रै प्रतिक्रिया दिने बताए ।