मकवानपुर । मकवानपुरको हेटौंडामा बाल कला साहित्य महोत्सव आयोजना हुने भएको छ । महोत्सवमा बाल कला र साहित्य बारे भारत र पाकिस्तानका साहित्यकारहरूसंग प्रत्यक्ष अन्तरक्रिया हुनेछ । नवोदय शिशु सदन विद्यालय हेटौंडा, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साईन्सेज र काठमाडौं पब्लिकेशनको आयोजनामा माघ २७ र २८ गते हुने महोत्सव हुने भएको हो ।
बाल कला साहित्य महोत्सव सम्बन्धी जानकारी दिन पत्रकारसंग भेटघाट कार्यक्रम गर्दै आयोजक नवोदय शिशु सदन विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक सीएम रिमालले सिर्जनात्मक पठन सस्कृतिको विकास गर्ने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको बताए ।
दुईदिने कार्यशालामा ६ हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावकसहित सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवमा कलाकार मदनकृष्ण श्रेष्ठ, नाटककार अशेष मल्ललगायतका राष्ट्रिय व्यक्तित्वहरु उपस्थित हुने नबोदयका निर्देशक दिपेश जोशीले बताए । महोत्सवमा मुख्य आकर्षकको रूपमा भारत र पाकिस्तानमा बाल साहित्य प्रबर्द्धनको अभ्यास र नेपालको अभ्यास अध्ययन र सिकाई सहयोग बारे अन्यरकृय हुने छ ।
महोत्सवमा भारतीय लेखक तथा वृतचित्र निर्देशक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहने रिमालले जानकारी दिए । महोत्सवका नियमित सहभागी नेपाली लेखक अनुराधाको समन्वयमा मिश्र र हुसेन हेटौंडा आउने भएका हुन ।
‘विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने मूल उद्देश्य महोत्सवको हो’ विद्यालयका निर्देशक जोशीले भने ‘सहभागी हुने विद्यार्थीमा कला–साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि हुने, स्थानीय कला–साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउन मद्दत गर्छ ।’ नवसर्जक र स्थापित सर्जकबीच अन्तरक्रियाको अवसर सिर्जनाका साथै वौद्धिक जनशक्ति निर्माण गर्ने समेत महोत्सवको उद्देश्य रहेको निर्देशक जोशीले बताए ।
हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन मावि परिसरमा आयोजना हुने महोत्सवको पहिलो दिन १२ वटा विविध विषयमा फरक फरक व्यक्तित्वले सहजीकरण गर्ने गरी कार्यशाला हुने महोत्सवका संयोजक सिएम रिमालले जानकारी दिए । करिब १५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा विद्यार्थीले आफ्नो कला प्रस्तुतीकरण समेत गर्नेछन् ।
समसामयिक विषयमा संघसस्था, साहित्यकार, पत्रकार, विद्यार्थी र शिक्षक सम्मिलित प्यानल डिस्कसन गर्ने, पञ्चे बाजा, माझी बाजा, धिमे, खैजडीजस्ता परम्परागत बाजागाजा र नृत्यहरु समेत गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा खानाका स्टलहरु राखिने छन् भने पुस्तक पर्दशनी, चित्र प्रर्दशनी, आत्मकथा वाचन लगाएका कार्यक्रम तय भएको छ ।
यसअघि पनि विद्यालयले २ पटक बाल साहित्य महोत्सव आयोजना गरिसकेको छ । हेटौंडा उपमहानगरपालिका, प्याब्सन मकवानपुर, सर्जक सञ्जाल मकवानपुर, बुक ल्याण्ड, नेपाल बाल साहित्य समाजलगायतका संघसस्थाको सहकार्यमा महोत्सव आयोजना हुने भएको कार्यक्रममा बताइएको छ ।
मकवानपुर । नेकपा एमाले महसचिव शंकर पोखरेलले राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने र सहमतिको खोजी गर्ने बताएका छन् । “सत्तापक्षको तर्फबाट हामी उम्मेदवार उठाउँछौ, प्रतिक्षमा रहेकाहरूले साथ दिएभने राष्ट्रिय सहमतिको सरकार बन्छ” महासचिव पोखरेलले भने ।
राष्ट्रिय युवा संघ नेपाल तेस्रो केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आज हेटौंडामा यस्तो बताएका हुन् ।
समाजमा अराजकतावाद मौलाउंदै आएको र त्यसको सुरूवात ब्यक्तिवादबाट भएको भन्दै उनले नेकपा एमाले यसको बिरोधमा रहेको र सामूहिकतावाद स्थापित गर्न युवा संघ लाग्नुपर्ने बताए । समाज परिवर्तनको अभिभारा पूरा नभएको बताएका छन् । बदलिँदो समाजलाई सुदृढीकरण गर्न उत्पादनमा जोड दिनु अपरिहार्य रहेको उनले बताए ।
“संगठन भनेको सामूहिकतामा उभिने शक्ति हो” उनले भने “संगठनले सामूहिकताको नेतृत्व गर्नुपर्छ ।” एकभन्दा बढी संगठनमा बसेर पद ओगट्नु भन्दा कार्यप्रभावकारीता देखाउन उनले आग्रह गरे । सबै जनताको बिचमा एमाले पुग्न नसकेको कारण देशमा राजनीतिक भविष्य कोर्नमा एमालेले नेतृत्व गर्न नपाएको उनले बताए । “राजनीतिक आन्दोलन आशावादी हुन नसकेमा त्यसमा आकर्षण हुंदैन, युवाको नेतृत्वले गर्ने आन्दोलन समूदाय,जिल्ला केन्द्रिय हुनुपर्छ,राजधानी केन्द्रित हैन” उनले भने “हर संगठनले सामाजिक सरोकारको बिषय र पश्नमा सबैभन्दा कृयाशिल संगठनको परिचय बनाउन पर्छ ।”
“युवासंघ भनेको पार्टीको नेतृत्व जन्माउने कारखाना हो, यस्तै हुनुपर्छ,यहाँ नेतृत्व र तालीम लिएको ब्यक्तिले जहासुकै नेतृत्व गर्नेसक्ने हुनुपर्छ” उनले भने “यहि प्रकारको अध्ययन र तालीम प्राप्त हुनुपर्छ ।”
कृषि, उद्योग, शिक्षा, स्वास्थ जहाँसुकै नेतृत्वका लागि अब्बल युवा बनाउने तर्फ जोड हुनुपर्ने पोखरेलले बताए । एमालेले मेहनत नगरे कांग्रेस बलियो हुने भएकोले युवा शक्तीले अतिरिक्त मेहनत गर्नै पर्ने उनले बताए । समाज बदल्नको लागि उत्पादक शक्ति बलियो बनाउन लाग्नुपर्ने उनले बताए । यसको लागि शिक्षा, स्वास्थ, प्रविधिको प्रयोग, पुंजीको उपलब्धतामा सक्षम हुनुपर्नेमा उनले जोड दिए ।
“आजको श्रम शक्तिलाई सक्षम बनाउन राष्ट्रिय पुँजी निर्माण, विकासमा भूमिका खेल्नुपर्छ” उनले भने “पुँजीमा पहुँच बिस्तार गर्नुपर्छ ।” श्रमिकलाई व्यवस्थापक बनाउन तर्फ संगठनको ध्यान हुनुपर्ने उनले बताए । एमालेको युवा संघले यहि काम गर्नुपर्ने उनले बताए । युवाको रोजाइ विदेश हुनु भनेको देशको प्रगतिमा बाधा हुनु उनले बताए । “नेपालमै संभव छ,भन्ने भाव नै चाहियो” उनले भने “नेपाली युवाले भित्र्याएको रेमिट्यान्सको ८० प्रतिशत भारत जान्छ, के नेपालमा अवसर र रोजगारी छैन र ।”
मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।
सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी पार्टी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन् ।

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मानसिक स्वास्थ्य र मानव अधिकार सम्बन्धी प्रदेश स्तरीय परामर्श बैठक भएको छ ।
विश्वमा २० देखि २५ प्रतिशत मानिस मानसिक समस्याका कारण प्रभावित हुने गरेका छन्, तर उनीहरूको मानसिक स्वस्थ्य र मनोसामाजिक परामर्श बारेमा चासो कम भएको गुनासो गरिएको छ । नेपालमा आव ०७७/०७८ मा ६ हजार ५ सय ३० जनाले मानसिक अस्वस्थ्यता कै कारण आत्महत्या गरेको तथ्यांक बागमती प्रदेशको राजधानी हेटौंडामा सार्वजनिक गरिएको छ ।
बागमती प्रदेशमा यो आवमा १ हजार ३६ जनाले मानसिक अस्वस्थताकै कारण आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालू आवको हालसम्म ४३० जनाले यही कारण आत्महत्या गरिसकेका छन् ।
नेपालमा मलेरिया, क्यान्सरभन्दा पनि मानसिक स्वास्थको सवाल भयावह हुंदासमेत सरोकारवाला निकायबाट ठोस पहल नपुगेको बताईएको हो । जसले आत्महत्याको दर बढेको भएपनि यो सवाललाई गम्भीरता पुर्वक नलिएको गुनासो अधिकारकर्मीहरुले गरे ।
अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठनको सहकार्यमा बागमती प्रदेशमा मानसिक स्वास्थ्य मानव अधिकार सम्वन्धी परामर्श बैठक आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले मानव अधिकार रक्षाको लागि मानसिक स्वास्थ्यको सवालमा प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक महेश्वर श्रेष्ठले कोरोना १९ को महामारीका कारण मानिसको मानसिक स्वास्थ्यमा धेरै प्रभाव पारेको बताए । विशेषगरि महिलाहरु मानसिक समस्यामा पर्ने गरेको, मानसिक रोग, निशुल्क वितरण सुचिका ओैषधि खरिदमा स्वास्थ्य निर्दैशनालय बागमती प्रदेशले ४९ लाख ५० हजार रकम बजेट विनियोजन गरेको श्रेष्ठले बताए।
मानिसक स्वास्थ्य समस्याको रोगभारको अनुपातमा संचालित कार्यक्रमहरु र विनियोजित हुने बजेट न्यून भएको र लक्षित वर्ग तथा समुदायलाइ पुर्णरुपमा समेट्न नसकेको निर्देशक श्रेष्ठले बताए ।
मदिरा र लागू पदार्थको दुव्र्यसनलाई मानसिक स्वास्थ्यको कोणबाट बुझ्न र बुझाउन कठिन रहेको बताउँदै बागमती प्रदेशका ११९ वटै स्थानिय तहका ५१९ वटा विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम मार्फत मानसिक समस्या समाधानको लागि सेवा प्रवाह गरिरहेको उनले बताए ।
कार्यक्रममा कोशिशका निर्देशक मातृका प्रसाद देवकोटाले चिकित्सक भाषामा मानसिक रोग शब्दको उल्लेख गर्ने गरेकोमा सो को सट्टा मानसिक सुस्वास्थ्य हुनुपर्ने बताए । आत्महत्या रोकथामका लागि बहुपक्षिय संयन्त्र गठन हुनुपर्ने देबकोटाले बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले मानसिक स्वास्थ्यकै कारण मानव अधिकार प्रत्याभुती पूर्ण रुपमा नभएको औलाउँदै, प्रदेश तथा संघीय सरकारले यो समस्याको सम्बोधन गर्नुपर्ने बताए ।
विजुली माया वन: संगीत अन्तर्राष्ट्रिय पुरस्कारबाट किरण प्रधान सम्मानित
Tags: No Comments
मकवानपुर । यस वर्षको विजुली माया वनः संगीत अन्तर्राष्ट्रिय पुरस्कारबाट वरिष्ठ गायक तथा सङ्गीतकार डा. किरण प्रधान सम्मानित भएका छन्। भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले मकवानपुरको हेटौंडामा आइतबार लेखक तथा निर्देशक समेत रहेका प्रधानलाई १ लाख राशी सहित उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
पुरस्कार हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नाममा २०६४ सालमा स्थापना गरेका हुन् ।वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागकाे स्मृती दिवसको अवसरमा आइतबार १४ औं पुरस्कार प्रधानलाई बरिष्ठ साहित्यकार एबं प्राज्ञीक तुलसी थापाले प्रदान गरेका हुन् ।
२०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानको के सोचें मैले के भयो अहिले, छातीमा मेरो यो छोटो भोटो, भुल हो तेरो भागी हिँड्नु जीवनदेखि, रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो, पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे, अभागी आमा कुन देशमा, विपना नभई बाँचिदिने म भित्रका मेरा सपनालगायत ४ सय बढी गीतहरुमा स्वर दिएका छन् । प्रतिष्ठानले आइतबार हेटौंडामा पुरस्कार समर्पण तथा सांगितिक कार्यक्रमको समेत आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यले जानकारी दिए । पुरस्कृत ब्यक्तित्व प्रधानले कार्यक्रममा आफ्ना कालजायी गीत प्रस्तुत गरेका थिए ।
यस अघी विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छे बहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) दावा ग्याल्माे (२०७७) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका अध्यक्ष आचार्यले जानकारी दिए ।
वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागकाे व्यक्तित्वप्रति सम्ममान स्वरुप भाषा साहित्य र कला क्षेत्रकाे संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएकाे प्रतिष्ठानले साहित्य संगीत साँस्कृतिक र कला क्षेत्रमा १२ वटा पुरस्कारकाे व्यबस्थापन गर्दै आएकाे छ ।
गत पुष १ गते शनिबार ६ जना व्यक्तित्वलाई ६ विधाकाे पुरस्कारद्वारा सम्मान गरेकाे थियाे । प्रतिष्ठानले अन्य विधाकाे पुरस्कार छिट्टै प्रदान गर्ने तयारी गरेकाे बताइएकाे छ ।