मकवानपुर । नेकपा एमाले महसचिव शंकर पोखरेलले राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने र सहमतिको खोजी गर्ने बताएका छन् । “सत्तापक्षको तर्फबाट हामी उम्मेदवार उठाउँछौ, प्रतिक्षमा रहेकाहरूले साथ दिएभने राष्ट्रिय सहमतिको सरकार बन्छ” महासचिव पोखरेलले भने ।
राष्ट्रिय युवा संघ नेपाल तेस्रो केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आज हेटौंडामा यस्तो बताएका हुन् ।
समाजमा अराजकतावाद मौलाउंदै आएको र त्यसको सुरूवात ब्यक्तिवादबाट भएको भन्दै उनले नेकपा एमाले यसको बिरोधमा रहेको र सामूहिकतावाद स्थापित गर्न युवा संघ लाग्नुपर्ने बताए । समाज परिवर्तनको अभिभारा पूरा नभएको बताएका छन् । बदलिँदो समाजलाई सुदृढीकरण गर्न उत्पादनमा जोड दिनु अपरिहार्य रहेको उनले बताए ।
“संगठन भनेको सामूहिकतामा उभिने शक्ति हो” उनले भने “संगठनले सामूहिकताको नेतृत्व गर्नुपर्छ ।” एकभन्दा बढी संगठनमा बसेर पद ओगट्नु भन्दा कार्यप्रभावकारीता देखाउन उनले आग्रह गरे । सबै जनताको बिचमा एमाले पुग्न नसकेको कारण देशमा राजनीतिक भविष्य कोर्नमा एमालेले नेतृत्व गर्न नपाएको उनले बताए । “राजनीतिक आन्दोलन आशावादी हुन नसकेमा त्यसमा आकर्षण हुंदैन, युवाको नेतृत्वले गर्ने आन्दोलन समूदाय,जिल्ला केन्द्रिय हुनुपर्छ,राजधानी केन्द्रित हैन” उनले भने “हर संगठनले सामाजिक सरोकारको बिषय र पश्नमा सबैभन्दा कृयाशिल संगठनको परिचय बनाउन पर्छ ।”
“युवासंघ भनेको पार्टीको नेतृत्व जन्माउने कारखाना हो, यस्तै हुनुपर्छ,यहाँ नेतृत्व र तालीम लिएको ब्यक्तिले जहासुकै नेतृत्व गर्नेसक्ने हुनुपर्छ” उनले भने “यहि प्रकारको अध्ययन र तालीम प्राप्त हुनुपर्छ ।”
कृषि, उद्योग, शिक्षा, स्वास्थ जहाँसुकै नेतृत्वका लागि अब्बल युवा बनाउने तर्फ जोड हुनुपर्ने पोखरेलले बताए । एमालेले मेहनत नगरे कांग्रेस बलियो हुने भएकोले युवा शक्तीले अतिरिक्त मेहनत गर्नै पर्ने उनले बताए । समाज बदल्नको लागि उत्पादक शक्ति बलियो बनाउन लाग्नुपर्ने उनले बताए । यसको लागि शिक्षा, स्वास्थ, प्रविधिको प्रयोग, पुंजीको उपलब्धतामा सक्षम हुनुपर्नेमा उनले जोड दिए ।
“आजको श्रम शक्तिलाई सक्षम बनाउन राष्ट्रिय पुँजी निर्माण, विकासमा भूमिका खेल्नुपर्छ” उनले भने “पुँजीमा पहुँच बिस्तार गर्नुपर्छ ।” श्रमिकलाई व्यवस्थापक बनाउन तर्फ संगठनको ध्यान हुनुपर्ने उनले बताए । एमालेको युवा संघले यहि काम गर्नुपर्ने उनले बताए । युवाको रोजाइ विदेश हुनु भनेको देशको प्रगतिमा बाधा हुनु उनले बताए । “नेपालमै संभव छ,भन्ने भाव नै चाहियो” उनले भने “नेपाली युवाले भित्र्याएको रेमिट्यान्सको ८० प्रतिशत भारत जान्छ, के नेपालमा अवसर र रोजगारी छैन र ।”

