मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले मकवानपुरलाई बागमती प्रदेशको शैक्षिक हबको रुपमा विकास गर्न सकिने बताएका छन् ।
संस्थागत विद्यालय शिक्षक युनियन बागमती प्रदेश मकवानपुर जिल्ला तथा हेटौँडाको नगर अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मकवानपुर र हेटौँडालाई शैक्षिक हब बनाउने विषयमा शिक्षासँग सम्वन्धित ब्यक्तित्वहरुसँग सहकार्य गरेर प्रदेश सरकार अघि बढन तयार बताए । मन्त्री श्रेष्ठले मकवानपुर बागमती प्रदेशको सबैभन्दा ठुलो शिक्षाको हबको रुपमा विकशित हुँदै गैरहेकोले शिक्षाको गुणस्तर बढाउने विषयमा प्रदेश सरकारले ध्यान दिएको बताए ।
मकवानपुरमा तराईका जिल्लाहरुबाट आउने विद्यार्थीको संख्यामा बृद्धि हुनु, मकवानपुर आसपासका जिल्लाबाट समेत विद्यार्थीहरुको रोजाईमा पर्नुले यहाँको शिक्षाको अवस्था राम्रो रहेको सन्देश दिएको भन्दै मन्त्री श्रेष्ठले प्रदेशको राजधानी हेटौँडामा प्रदेश विश्वविद्यालय बनाउने विषयमा सरकारले काम गरिरहेको बताए ।
‘मकवानपुरमा प्राविधिक शिक्षाको क्षेत्रमा समेत विकास हुँदै गएको छ’ उनले भने ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी विश्वविद्यालयको काम अघि बढिसकेको छ ।’ यहाँका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिईएको र अब उच्च माध्यामिक मात्र नभएर क्याम्पस लेभलमा पनि प्राविधिक विषय अध्ययन हुने वातावरण बनाउन प्रदेश सरकार तयार रहेकोको उनले बताए ।
इस्टु बागमतीमा बर्तौला, मकवानपुरमा रिजाल र हेटौंडामा मिश्र
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को प्रदेश, जिल्ला र हेटौंडा नगरको अधिवेशनले क्रमश सुदीप बर्तौला, रामशरण रिजाल र नविन मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न हेटौंडामा बागमती मकवानपुर र नगर तीन तहको अधिवेशनबाट बर्तौला, रिजाल र मिश्र अध्यक्ष चयन भएका हुन् ।

बर्तौलाको अध्यक्षतामा गठन प्रदेश समिति उपाध्यक्ष शोभा बास्तोला पंगेनी (चितवन), शंकर पौडेल (काठमाडौं), नारायण चालिसे (काठमाडौं), विष्णु आले (ललितपुर), सचिव सिएम रिमाल (मकवानपुर), सहसचिवमा कृष्णप्रसाद गौतम (काठमाडौं), कोषाध्यक्षमा शिक्षाराज अधिकारी (चितवन) चयन भएका छन् ।
यस्तै प्रदेश समितिको सदस्यहरुमा स्वर्णलाल गुरुङ, सुचित कुमार ठाकुर, सरोज श्रेष्ठ, नारायण चापागाई, महेश कुमार श्रेष्ठ, नवराज धरेल, पुरुषोत्तम खनाल, विमला शाह, प्रल्हाद गिरी, पूण्यशिला श्रेष्ठ, बुद्ध सापकोटा, शोभा न्यौपाने र धनन्जय जोशी चयन भएका छन् ।
यस्तै रामशरण रिजालको अध्यक्षतामा गठित इस्टु मकवानपुरमाको वरिष्ठ उपाध्यक्षमा समीर ढकाल, उपाध्यक्षमा शुभद्रा सापकोटा, निर्माण गजुरेल, सचिवमा दिपेश लामिछाने, सहसचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा दिप्ती महत चयन भएका छन् भने सदस्यहरुमा प्रदीप धिताल, मनोज कुमार मिश्र, राकेश ठाकुर लोहार, समता विडारी र विशाल घिमिरे चयन भएका छन् ।
यसैगरी नवीन मिश्र अध्यक्ष रहेको हेटौंडा नगर इस्टुको उपाध्यक्षमा विधान आचार्य र उमाकुमारी जर्गा, सचिवमा विकेश तामाङ, सहसचिवमा गोपाल घिमिरे र कोषाध्यक्षमा धिरज लामा चयन भएका छन् । यस्तै सदस्यहरुमा युवराज बिश्वकर्मा, नवीन परियार, श्रीराम तिमल्सिना र दिपेश अधिकारी चयन भएको छन।
मकवानपुर । पर्सा बन्यजन्तु आरक्षबाट भागेको हात्तीले मकवानपुरको २ जनाको ज्यान लिएको छ । एक जना घाइते छन् । स्थानीयमा त्रास मच्चिएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट बकैया-५ पावसका ५० वर्षीय सन्तलाल माझीको बिहीबार राती मृत्यु भएको हो ।
साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोही हात्तीकै आक्रमणबाट सोमबार जिल्लाको मनहरी गाउँपालिका-४ मा स्थानीय ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । बुधबार हेटौंडा १८ हर्नामाडी मानेडाँडाका ३० वर्षीय देव वाईबा घाइते भएका छन् । वाईबाकोे हेटौंडा अस्पतालमा उपचार भइरहेकोे छ । उनको दुवै खुट्टा र ढाडमा भित्री चोट लागेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्ती मनहरी, हेटौंडा हुँदै अहिले बकैया-७ को कत्लेखोलामा पुगेको स्थानीयले जानकारी दिएका छन् । निकुञ्जले हात्ती नियन्त्रणमा लिन सकेको छैन् ।
पछिल्लो समय मकवानपुर जिल्लामा जंगली जनावरको भयले सर्वसाधारणलाई हैरानीमा पारेको छ । बाघ र हात्तिको आक्रमणमा ज्यान जानेसम्मका घटना हुन थलेपनि यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो दिएको छैन ।
हेटौंडा १८ हर्नामाडी मै दुई साता अघि बाघको आक्रमणबाट एक महिला घाइते भएकि थिइन। हात्ती र बाघको आक्रमण हुनथालेपछी सव डिभिजन वन कार्यालय, हात्तिसुडे मकवानपुरले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
मकवानपुर । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले आफ्नो कार्यकालमा गरिने योजना बारे ३४ बुंदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
मन्त्री श्रेष्ठले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
श्रम सम्बद्ध समस्याहरु, श्रमिकका मुद्दाहरु, श्रमिकका पेशागत हक अधिकार सुनिश्चित गर्ने, हाल सम्म समेटन नसकिएका विभिन्न किसिमका श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विषयहरु समाधानका लागि काम गर्ने गरी प्रदेश सरकारले आवश्यकता अनुसार श्रम कार्यालयहरु स्थापनका लागि अध्ययन गर्ने उनल बताए ।
श्रमिकका संवेदनशील मुद्दा तथा गुनासाहरु सुन्न र समाधानका लागि सम्बन्धित निकायमा पहल मन्त्रालयमा रहने गरी चालु आर्थिक वर्ष भित्रै एक श्रमिक डेस्कको स्थापना गरिने मन्त्री श्रेष्ठले बताए । यसको लागि डेस्क संचालन कार्यविधि तयारीको क्रममा रहेको उनले बताए ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको लागि विदेश जानुभन्दा पहिला नै रोजगारी सम्बद्ध संचेतना र आवश्यक सुचना प्रवाहका लागि हाल प्रदेशको ८ जिल्लाको ३२ स्थानीय तहको सहभागितामा आप्रवासी सुचना केन्द्र संचालनमा रहेकोमा यसलाई विस्तार गरिनेछ ।
चालु आर्थिक बर्ष भित्रै दोलखामा जिल्ला प्रशासन कार्यालयको हाता भित्र रहने गरी केन्द्र संचालनमा ल्याईने उनले बताए ।
वैदेशिक रोजगारीबाट फर्केका यूवाहरुको सीप पूँजि र प्रविधिलाई स्वदेशमै प्रयोग गर्ने गरी पुनः एकिकरण कार्यक्रम संचालन, स्वरोजगारीका अवसरहरुलाई प्रोत्साहन गर्न आवश्यक कार्यक्रम संचालनमा ल्याइनेछ ।
प्रदेश भित्रका महत्वपूर्ण औद्योगिक क्षेत्र र प्रतिष्ठानहरु (हेटौडा, पाटन बालाजु) का श्रमिक संगठन र उद्योग प्रतिष्ठानका व्यवस्थापनसँग नियमित अन्तरक्रिया र संवाद कार्यक्रम संचालन गरिने, हाल श्रम विभागमा दर्ता कायम रहेका ट्रेड यूनियन सम्बद्ध संस्थाहरुले आफनो प्रादेशिक तहको संगठन विस्तान गर्दा प्रदेशको सम्बद्ध मन्त्रालयसंग आवद्धता लिनु पर्ने गरी आवश्यक कानूनी व्यवस्था गरिनेछ ।
मकवानपुर । मकवानपुरको अग्रेणी साहित्य संस्था झरना साहित्य परिवारले आयोजना गरेको बकैया कला साहित्य महोत्सव सकिएको छ ।
महोत्सवको दोस्रो दिनका कार्यक्रमहरूमा स्रष्टा सम्मान, बकैया तथा बकैया बाहिरका विद्यार्थीहरूको रचना वाचन, चित्रकला प्रदर्शनी, जिल्लाभित्र तथा जिल्लाबाहिर छानिएका सर्जकहरूका गजल, कविता तथा मुक्तक वाचन, झरना पत्रिका विमोचन, बहस तथा विविध लोक सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले बताए ।
महोत्सव अन्तरगत सम्मान तथा पुरस्कार वितरण अन्तरगत प्राध्यापक डाक्टर जीवेन्द्र देव गिरीलाई २१ हजार १२१ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान समर्पित गरिएको छ । यसैगरी मकवानपुरे पत्रकार भानुभक्त आचार्यलाई ११ हजार १११ राशि सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कार समर्पण गरिएको छ ।
यस वर्षको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट सिन्धुलीकी स्रष्टा अमला अधिकारी सम्मानित भएको बताइएको छ । त्यस्तै सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट मकवापुरे स्रष्टा अनिता न्यौपाने सम्मानित भइन् ।
मकवापुर जिल्लामा साहित्य सेवा गरेबापत प्रदान गरिने सञ्जीवनी बुटी साहित्य सेवा पुरस्कार यस वर्ष बकैयाका कृष्णप्रसाद चौलागाईलाई प्रदान गरियो । यसैगरी यस वर्षको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबीलाई सम्मानित गरिएको छ । यी सम्मानहरूको राशि जनही ७ हजार ७७७ रहेको थियो ।
यसैगरी झरना साहित्यिक परिवार मकवानपुरद्वारा हरेक वर्ष प्रदान गरिने ५ हजार ५५५ राशि सहितको झरना बकैया नवप्रतिभा सम्मान यस वर्ष बकैयाकी उदीयमान कवि स्वस्तिका दाहाललाई प्रदान गरिएको छ । संस्थाद्वारा नै प्रदान गरिने झरना बकैया उत्कृष्ट विद्यालय सम्मान यस वर्ष पनि महेन्द्र मावि, छतिवनलाई प्रदान गरिएको छ ।
संस्थाद्वारा नै प्रदान गरिने झरना बकैया सिर्जनशील शिक्षक सम्मान यस वर्ष प्रभात मावि, श्रीपुरका शिक्षक कुमार स्याङ्बोलाई प्रदान गरिएको सचिव लामिछानेले बताए ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले स्थानीय स्तरमा देखिएका विविध खालका समस्याहरूको समाधान खोज्नका लागि पनि साहित्यिक गतिविधिहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपहमानगरपालिका ४, पारिजातपथमा कार्यालय सञ्चालन गर्दै आएको शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरुले संकलित बचत लिएर भागेको भन्दै शेयर सदस्यहरु आन्दोलित भएका छन्
कार्यालयमा तल्चा लगाएर सञ्चालक फरार भएपछि शेयर सदस्यहरु समस्यामा परेका छन् । सञ्चालक फरार भएपछि शेयर सदस्य बचतकर्ताको करोडौं रुपैयाँ बचत जोखिममा परेको छ । बुधबार सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएका बचतकर्ताहरूले ढोकामा ताल्चा लगाएको देखेपछि अन्य शेयर सदस्यहरूलाई बोलाएर आन्दोलन गरेको बचतकर्ता बिमल उप्रेतीले बताए ।
भक्तपुरमा रहेको यो सहकारीले २०७७ पुसमा हेटौँडामा शाखा खोलेको थियो । यो शाखा सहकारीको १६ औं शाखा हो । सहकारीले करिब ३ करोड रुपैयाँको लागतमा डिपार्टमेन्ट स्टोर पनि सञ्चालन गरेको छ । मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु बिक्री गर्दै आएको थियो ।
सहकारीको ढोका बन्द भएपछि बचतकर्ताहरूले मार्ट घेराबन्दी गरेका छन् । सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको बचतकर्ता उप्रेतीले बताए । “हामीले घटना थाहा पाएपछि फोन गरेको सबैको फोन स्वीचअफ छ, सबै भागिसके भन्ने सुन्नमा आएको छ” उप्रेतिले भने ।
उप्रेतीका अनुसार सहकारीमा हेटौंडाबासीको करोडौं रुपैयाँ बचत रहेको छ । “एउटै व्यक्तिको ८६ लाखसम्म छ, १० लाखदेखि ३० लाखसम्म बचत गर्ने त धेरै हुनुहुन्छ” उनले भने ।
शिव शिखरसँग हेटौँडाबासीहरूले बचत फिर्ता मागेको घटना करिब एक महिना अगाडिदेखिको हो । सहकारीले करिब १ महिना अघि नै ढोकामा ताल्चा लगाएको थियो । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो । रकम फिर्ता गर्ने सहमतिको म्यादसमेत गुज्रिइसकेको र हाल सञ्चालकहरू फरार भएपछि बचतकर्ताको बचत जोखिममा परेको बचतकर्ता सुवास चौलागाईले बताए । उनी आफैंको पनि डेढ लाख बचत रहेको उनले बताए ।