मकवानपुर । पर्सा बन्यजन्तु आरक्षबाट भागेको हात्तीले मकवानपुरको २ जनाको ज्यान लिएको छ । एक जना घाइते छन् । स्थानीयमा त्रास मच्चिएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट बकैया-५ पावसका ५० वर्षीय सन्तलाल माझीको बिहीबार राती मृत्यु भएको हो ।
साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोही हात्तीकै आक्रमणबाट सोमबार जिल्लाको मनहरी गाउँपालिका-४ मा स्थानीय ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । बुधबार हेटौंडा १८ हर्नामाडी मानेडाँडाका ३० वर्षीय देव वाईबा घाइते भएका छन् । वाईबाकोे हेटौंडा अस्पतालमा उपचार भइरहेकोे छ । उनको दुवै खुट्टा र ढाडमा भित्री चोट लागेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्ती मनहरी, हेटौंडा हुँदै अहिले बकैया-७ को कत्लेखोलामा पुगेको स्थानीयले जानकारी दिएका छन् । निकुञ्जले हात्ती नियन्त्रणमा लिन सकेको छैन् ।
पछिल्लो समय मकवानपुर जिल्लामा जंगली जनावरको भयले सर्वसाधारणलाई हैरानीमा पारेको छ । बाघ र हात्तिको आक्रमणमा ज्यान जानेसम्मका घटना हुन थलेपनि यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो दिएको छैन ।
हेटौंडा १८ हर्नामाडी मै दुई साता अघि बाघको आक्रमणबाट एक महिला घाइते भएकि थिइन। हात्ती र बाघको आक्रमण हुनथालेपछी सव डिभिजन वन कार्यालय, हात्तिसुडे मकवानपुरले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

