मकवानपुर । मकवानपुरको हेटौंडा उपहमानगरपालिका ४, पारिजातपथमा कार्यालय सञ्चालन गर्दै आएको शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरुले संकलित बचत लिएर भागेको भन्दै शेयर सदस्यहरु आन्दोलित भएका छन्
कार्यालयमा तल्चा लगाएर सञ्चालक फरार भएपछि शेयर सदस्यहरु समस्यामा परेका छन् । सञ्चालक फरार भएपछि शेयर सदस्य बचतकर्ताको करोडौं रुपैयाँ बचत जोखिममा परेको छ । बुधबार सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएका बचतकर्ताहरूले ढोकामा ताल्चा लगाएको देखेपछि अन्य शेयर सदस्यहरूलाई बोलाएर आन्दोलन गरेको बचतकर्ता बिमल उप्रेतीले बताए ।
भक्तपुरमा रहेको यो सहकारीले २०७७ पुसमा हेटौँडामा शाखा खोलेको थियो । यो शाखा सहकारीको १६ औं शाखा हो । सहकारीले करिब ३ करोड रुपैयाँको लागतमा डिपार्टमेन्ट स्टोर पनि सञ्चालन गरेको छ । मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु बिक्री गर्दै आएको थियो ।
सहकारीको ढोका बन्द भएपछि बचतकर्ताहरूले मार्ट घेराबन्दी गरेका छन् । सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको बचतकर्ता उप्रेतीले बताए । “हामीले घटना थाहा पाएपछि फोन गरेको सबैको फोन स्वीचअफ छ, सबै भागिसके भन्ने सुन्नमा आएको छ” उप्रेतिले भने ।
उप्रेतीका अनुसार सहकारीमा हेटौंडाबासीको करोडौं रुपैयाँ बचत रहेको छ । “एउटै व्यक्तिको ८६ लाखसम्म छ, १० लाखदेखि ३० लाखसम्म बचत गर्ने त धेरै हुनुहुन्छ” उनले भने ।
शिव शिखरसँग हेटौँडाबासीहरूले बचत फिर्ता मागेको घटना करिब एक महिना अगाडिदेखिको हो । सहकारीले करिब १ महिना अघि नै ढोकामा ताल्चा लगाएको थियो । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो । रकम फिर्ता गर्ने सहमतिको म्यादसमेत गुज्रिइसकेको र हाल सञ्चालकहरू फरार भएपछि बचतकर्ताको बचत जोखिममा परेको बचतकर्ता सुवास चौलागाईले बताए । उनी आफैंको पनि डेढ लाख बचत रहेको उनले बताए ।

