मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान श्रीमतीले नै झुन्डिएर आत्माहत्या गरेको अवस्थामा भेटिएका छन् ।
७८ बर्षिय कृष्णप्रसाद दाहाल र निजकै श्रीमती ७४ बर्षिया नन्दकुमारी दाहालले आफ्नै तिन तले पक्की घरमाथीको ट्रसले छाएको पुजा कोठामा अन्दाजी २ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताको बुधबारकाे सेमिफाइनल खेलबाट १५ नम्बर वडा फाइनल प्रवेश गरेकाे छ । नगर खेलकुद विकास समितिको आयोजनामा भएको तेस्रो मेयर कप अन्तरगत बुधबार भएकाे पहिलाे सेमीफाइनलमा १५ नम्बर वडाले १४ नम्बर वडा सडनडेथमा १–० गोलअन्तरले फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि ५–५ गोलको बराबरी भएपछि खेलको नतिजा सडेनडेथबाट लिनु परेको हो ।
बिहीबार हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल १३ नम्बर र ११ नम्बर वडाबीच प्रतिस्पर्धा हुने खेलकुद शाखाका अधिकृत वसन्त सिटौलाले जानकारी दिए । विहीबारकाे सेमिफाइनल विजेतासँग १५ नम्बर वडाले शनिबार हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्ने छ ।
हेटौँडा–५ पिप्लेक्याम्पा रंगशालामा मंगलबार भएको खेलमा १३ नम्बर र १५ नम्बर वडा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेकाे थिए भने सोमबारको क्वाटरफाइनल खेलबाट ११ नम्बर वडा १४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले अपराध तर्फ ४ हजार ५४ वटा मुद्दा दर्ता गरेका छ । अपराध सम्बन्धी मुद्दा अन्तरगत सबै भन्दा बढी आत्महत्यामा ७ सय ९४ मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै चालू वर्षको प्रगति विवरण सार्वजनिकमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक एंव प्रवक्ता दीपक रेग्मीले प्रगति विवरण सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार लागूऔषधमा ३ सय २२, चोरीमा २ सय ५९, जबरजस्ती करणीमा २ सय २४, सवारी ज्यानमा २ सय ८ मुद्दा दर्ता भएको जानकारी दिए । रेग्मीका अनुसार ज्यान मार्ने उद्योगमा ६३, जबरजस्ती करणी उद्योगमा ५९, ठगी ५७, कर्तव्यज्यान अन्तर्गत ३६, जुवातासमा ३३ र अन्य शीर्षकमा एक हजार ९ सय ३४ मुद्दा दर्ता भएको हो ।
प्रगति विवरण सार्वजनिक कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआइजी किरण राणाले प्रहरीको सुरक्षामा सुधार ल्याउन आफूले नयाँ कन्सेप्ट लिएर जिल्लामा स्मार्ट कन्ट्रोल रुम निर्माणमा लागिपरेको जानकारी दिइन् । स्मार्ट कन्ट्रोल रुम चालु आवमा नै निर्माण सम्पन्न गरी सुचारु गर्ने तयारीमा रहेको उनले बताइन् । सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले अपराध नियन्त्रणमा कुनैपनि कसर बाँकी नराख्ने बताइन् ।
कार्यालय आन्तरिक शुद्धीकरण देखि अपराध नियन्त्रणको अभियानमा रहेको बताउँदै राणाले भनिन् ‘लागूऔषध नियन्त्रण, प्रदेशभित्रका फरार अपराधी पक्राउमा तीव्रता, सबै किसिमको तस्करी नियन्त्रण, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पूर्ण रुपमा निषेध, प्रहरी जनशक्ति सुदृढिकरण एंव शुन्यसहनशीलाको नीति अवलम्बन गर्ने लगायतका योजना रहेको छ ।’
संगठनमा कतिपय व्यक्तिहरुबाट गल्ती हुने गरेकोमा संगठन शुद्धीकरण गरेर जाने जानुपर्छ डिआइजी राणाले भनिन् – मकवानपुरमा गाँजाको खेती तथा ओसारपसार अत्यधिक मात्रामा हुने गरेकोले त्यसको व्यवस्थापनमा लागिपरेका छौं ।’आफूले गाँजा न्युनीकरणका लागि आन्तरिक मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीसँग छलफल गरेको र व्यवस्थापन गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत उनले जनाइन् ।
प्रदेश प्रहरी कार्यालयकाे उपत्यकाका ३ जिल्ला बाहेक प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेकाे छ ।
मकवानपुर । राष्ट्रिय महिला आयोग सदस्य कृष्णकुमारी पौडेलले छुवाछूतको सवालमा सबै तहको बुझाई समान हुनुपर्ने बताएकी छिन् ।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेशको आयोजनामा १८ औ जातीय छुवाछूत विरुद्धको दिवसमा आयोजित कार्यक्रममा पौडेलले यस्तो बताएकी हुन् ।
महिला आयोगमा प्राप्त उजुरी मध्ये दलित महिलाको उजुरी बढी भएको बताउंदै पौडेलले भनिन् “संघीय सरकारको सबै तह र वडा स्तरसम्म जातीय छुवाछूत अन्त्यको लागि एक हुनुपर्छ ।”
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख यज्ञ अधिकारीले कानुनी प्रावधान बलियो भए पनि जातीय हक अधिकारको सवाल कार्यान्वयनमा फितलो भएको बताए ।
कार्यक्रममा जिल्ला बार एशोसियसन अध्यक्ष अप्सरा बस्नेतले संविधानमा मौलिक हकमा व्यवस्था भए पनि दृष्टिकोणमा परिवर्तन नआएसम्म उपलब्धि नहुने बताइन् । “छुवाछूत रूढिबादी परम्परा जरो गडेरै रहेको कारण निरन्तरताको दवाब आवश्यक छ, कानुनी पर्याप्त छ, कानुनमा दोष छैन, कार्यान्वयन पाटो फितलो छ” अध्यक्ष बस्नेतले भनिन् “दिनदिनै भेदभावको सवाल आउँछन् तर, लिखित रूपमा उजुरी नहुदा अदालतसम्म पुग्दैनन ।”
यसैगरी दलित गैरसरकारी महासंघ केन्द्रिय सदस्य कमलकुमार बिश्वकर्मा शहरी इलाकामा छुवाछूत कम भएको भन्ने ठानिएको तर यथार्थमा अझै छुवाछूत हाबी रहेको बताए । “दलित समूदाय जन्मनु अघिदेखि मृत्यु पर्यन्त लकडाउनमा बस्नुपर्ने बाध्यात्मक अवस्था छ” उनले भने “संविधानको प्रस्तावदेखि विभिन्न धारामा व्यवस्था गरिए पनि किन कानुन अझै बनेन ?”
छुवाछूतको मुद्दा दायर नहुने सवालमा पर्याप्त प्रमाण नहुने, साक्षी पनि नपाइने, सामाजिक सद्भावको लागि मिल्नुपर्ने दवाब आउने गरेको कारण उजुरी अदालत नपुग्ने गरेको विश्वकर्माले बताए ।
हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले धनको आधारमा छुवाछूतलाई लिने गरिएको बताइन् । आर्थिक रूपमा सबल भए जातको खोजी नहुने, कमजोर भएमा दलित मान्ने गरेको उनले बताइन् । सरकारले छुवाछूत उन्मुलनको लागि गहिरो अनुसन्धान नगरी सतही कार्यक्रम ल्याउने गरेको उनले बताइन् ।
बालबालिकालाई छुवाछूतको सवालमा गलत धारण भरिदिएको महिला तथा बालबालिका सेवा केन्द्र अध्यक्ष सरू बिकले बताइन् । दिवसको समयमा मात्रै हैन,अन्य कार्यक्रममा पनि छुवाछूतको सवालमा सचेतना जारी राख्नुपर्ने उनलेे बताइन् ।
सरकारले २०६३ साल जेठ २१ गते छुवाछूत उन्मुलन भएको घोषणा भएको थियो ।
हेर्नुहोस् भिडियो
दबाब सहन नसकेपछि बिद्यालय बन्द
Tags: No Comments
मकवानपुर । बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा लागेको हेटौंडा उपमहानगरपालिका बालबालिकाको सवालमा महत्त्वपूर्ण निर्णय गर्न पटक पटक चुक्दै आएको छ, पछिल्लो उदाहरण हो गर्मी बिदाको सवाल ।
पछिल्लो साता ह्वात्तै बढेको तापक्रमले जनजीवन कष्टकर भइरहेको बेला बिद्यालय बन्द गर्ने वा चलाउने सवालमा मौन रह्यो । बालबालिकालाई बिद्यालयमा उपस्थित गराई पठनपाठन गराउन नसक्ने अवस्थामा समेत नगरपालिका गैरजिम्मेवार भएको चौतर्फी दबाब आएपछि हेटौंडा उपमहानगरपालिकाले अन्ततः शनिबार अबेर सूचना जारी गर्दै बिद्यालय बन्दको घोषणा गर्यो ।
विगत केही दिन अघिदेखि तापक्रममा अत्यधिक वृद्धि भई दैनिक जनजीवनमा प्रत्यक्ष असर परिरहेको अवस्थामा विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा अझै बढी असर परिरहेको छ ।
विद्यार्थीहरुमा बान्ता हुने, थकान महसुस हुने साथै बेहोसीको समस्यासमेत देखिन थालेपछि केही दिनको लागि गर्मी विदाका लागि विद्यालय तथा विद्यालय शिक्षासंग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरु र अभिभावकहरुको समेत अनुरोध गरेका थिए ।
शुक्रबार नगर कार्यपालिकाको बैठकमा यसबारे सवाल उठाउंदा बेवास्ता गरिएको थियो । दबाब खेप्न नसकेपछि शैक्षिक वर्ष २०८० को वर्षे बिदाबाट कट्टी हुने गरी मिति २०८० / ०२ / २१ देखि २०८० / ०२ / २६ गतेसम्म उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा पठनपाठन बन्द रहने भन्दै मेयरको आदेश अनुसारको व्यहोराको सूचना जारी गरिएको हो ।

विदाका समयमा बालबालिकालाई दिउसो घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षित रुपमा रहने व्यवस्था मिलाउन, बालबालिकाहरुलाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्न बालवालिकालाई पोषणयुक्त खाना खुवाउन, जंकफुड, स्वास्थ्यलाई प्रतिकुल असर गर्ने खानेकुराहरु खान नदिन नखुवाउन, स्वच्छ पानी पिउने व्यवस्था मिलाउन समेत सूचनामा भनिएको छ ।
हेटौंडा उपमहानगरपालिकाले शुक्रबार गर्मीका कारण बिद्यालय बन्द गर्ने निर्णय गर्ने जिम्मा वडालाई दिएको थियो । शुक्रबारको नगर कार्यपालिकाको बैठकले वडालाई स्कुल बन्दको निर्णय गर्न भनेको थियो । सोही अनुसार शनिबार वडा नम्बर ४, ५ र १० ले स्कुल बन्दको निर्णय गरिसकेका थिए ।
धमाघम वडाले स्कुल बन्दको निर्णय गरेपछि उपमहानगरपालिकाको बिरोध जनमानसले गरेका थिए । शनिबार साझ उपमहानगरपालिकाको फेसबुक पेज हेलो हेटौंडा उपमहानगरपालिका मार्फत सार्वजनिक सूचनामा गर्मिका कारण जेठ २१ गते देखि २६ गते सम्म उपमहानगरपालिकाका सबै बिद्यालयको पठनपाठन बन्द रहने तर मौसम अनुकुल भए जुनसुकै समयमा पनि बिद्यालय खोल्न सकिने जनाएको छ ।
शुक्रबार वास्तै नगरेको तर, शनिबार सूचना जारी गरिएपछी शिक्षकहरूले पनि यसलाई अदुरदर्शी निर्णय भनेका छन् । “यही निर्णय हिजो ( शुक्रबार) स्कुल टाइम भित्र दिएको भए सूचना प्रभावकारी हुन्थ्यो, एक साताको गृहकार्य दिन पाईन्थ्यो, बालबालिका सिकाई,कृयाकलापमा लाग्थे, हिजो कार्यपालिकाको बैठकमा वडालाई जिम्मा दिने आज फेरि पत्र नाटक नै छ” श्रमिक माबिका प्राध्यापक श्रीराम दाहालले भने ।
मकवानपुरको बकैया गाउँपालिकाले उच्च गर्मीका कारण एक साताका लागि विद्यालयमा विदा दिने निर्णय गरेको छ । शुक्रबार गाउँ शिक्षा समितिको बैठकले एक साताका लागि पालिकाका सवै विद्यालय विदा गर्ने निर्णय गरेको सूचना प्रकाशित गरेको छ ।
यसैगरी मनहरी गाउंपालिकाले बिहान पठनपाठन गराउने निर्णय गरेको छ । मनहरी गाउँपालिकाले भने बड्दो गर्मीका कारण बिहानी समयमा बिद्यालय सन्चालन हुने गरि सूचना जारी गरेकोमा बालबालिकालाई पर्याप्त आरामको अवस्था नहुने भन्दै यसको पनि बिरोध जनाइएको छ । शनिबार मकवानपुरको हेटौंडामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको थियो ।
हेटौंडा नगरभित्र ७३ वटा सामुदायिक र ४८ वटा संस्थागत बिद्यालयहरू छन् ।