मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताको बुधबारकाे सेमिफाइनल खेलबाट १५ नम्बर वडा फाइनल प्रवेश गरेकाे छ । नगर खेलकुद विकास समितिको आयोजनामा भएको तेस्रो मेयर कप अन्तरगत बुधबार भएकाे पहिलाे सेमीफाइनलमा १५ नम्बर वडाले १४ नम्बर वडा सडनडेथमा १–० गोलअन्तरले फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि ५–५ गोलको बराबरी भएपछि खेलको नतिजा सडेनडेथबाट लिनु परेको हो ।
बिहीबार हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल १३ नम्बर र ११ नम्बर वडाबीच प्रतिस्पर्धा हुने खेलकुद शाखाका अधिकृत वसन्त सिटौलाले जानकारी दिए । विहीबारकाे सेमिफाइनल विजेतासँग १५ नम्बर वडाले शनिबार हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्ने छ ।
हेटौँडा–५ पिप्लेक्याम्पा रंगशालामा मंगलबार भएको खेलमा १३ नम्बर र १५ नम्बर वडा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेकाे थिए भने सोमबारको क्वाटरफाइनल खेलबाट ११ नम्बर वडा १४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

