मकवानपुर । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यका लागि विहीबार भएको उपनिर्वाचनबाट स्वतन्त्र उमेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई पराजित गरेका छन् । बादलले मत १४८ मत प्राप्त गर्दा देवकोटाले भने १ सय ८३ मत प्राप्त गर्दै ३५ मतकाे अन्तरले विजयी भएका हुन् ।
देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी भएका हुन् । देवकोटाले प्रदेश सभा सदस्यतर्फ ५८ मत पाएका थिए जसको मतभार २ हजार ७ सय ८४ हुन्छ भने स्थानीय तह तर्फको मतगणनामा देवकोटाले २ सय ३३ मध्ये १ सय २८ मत पाएका छन् । जसकाे मतभार २ हजार ३ सय ४ हुन्छ । प्रदेश सभा सदस्यकाे १ मत बरावर ४८ मतभार र स्थानीय तहकाे मतदाताकाे १ मत बराबर १८ मतभार गणना हुन्छ ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल पक्षको समर्थन रहेको थियो । आज विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ४८ मतदाता मध्ये ३ सय ३८ मत मात्र खसेको थियो ।
प्रदेश सांसद संख्या १ सय १० रहेकाेमा १ जनाकाे मृत्यु भएकाेले रिक्त रहेकाे छ भने ४ जना सांसदले मतदान गरेका थिएनन । प्रदेशकाे जम्मा १ सय ५ मत खसेकाे थियाे । स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुख २ सय ३८ जना मतदाता रहेकाेमा ५ जनाले मतदानमा भाग लिएका थिएनन् । स्थानीय तहबाट २ सय ३३ जनाले मतदान गरेका थिए ।
वादललाई मत नदिएकोमा एमालेको भर्तसना
पार्टीले उठाएको उम्मेदवारको विपक्षमा मत दिनुलाई नेकपा एमाले पार्टीले उठाएको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको सन्दर्भमा भर्त्सना गरेको छ ।
एमालेमा एकता प्रयास सुरु हुनु अगाडि माधव नेपाल समूहका डा. खिमलाल देवकोटालाई विपक्षी दलहरुले साझा उम्मेदवार बनाएका थिए भने एमालेले गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई उम्मेद्वार बनाएको थियो । नेपाल समुहले चुनाव हुनु दुई दिन अघि थापाको पक्षमा लाग्न नसकिने बताएको थियो भने । बुधबार प्रधानमन्त्री ओलीले विज्ञप्ती जारी गरेर थापालाई भोट दिन अपिल गरेका थिए ।

