मकवानपुर । हिजाे रातीदेखि नै मकवानपुर जिल्ला सहित देशका प्रायः स्थानहरुमा हल्का वर्षा भईरहेको छ । आज दिनभर पनि वर्षा हुने जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको देखि उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ-ते “TaukTae” को प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पुर्ण बदली रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना समेत रहेको हुनाले खोलानालाहरुमा जलप्रवाह बढ्ने र यातायत क्षेत्र समेत प्रभावित हुने संभावना रहेकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेकाे छ।
आजकाे माैसम
जेठ ६ गते विहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकि प्रदेश र बाग्मति प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका केहि स्थानहरुमा भारि हिमपात/वर्षाकाे समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
यस्तै विहीबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

