मकवानपुर । हेटाैडा अस्पतालमा अक्सिजनको अभावले काेराेना संक्रमितकाे उपचारमा समस्या हुने भएकाे छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतकाे हेटौंडा अस्पतालले अक्सिजन अभावले थप बिरामी भर्ना गर्न र भर्ना भएकाहरुको उपचार गर्न समस्या परेको बताएको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले शुक्रबार विज्ञप्ति नै जारी गरेर अब आईसीयू र एचडीयूमा भर्ना भएका बिरामीका लागि ३ घण्टालाई मात्र पुग्ने अक्सिजन मौज्दातमा रहेको बताएको छ । अस्पताललाइ अावश्यक अक्सिजन अन्य जिल्लाका उद्योगहरुमा भर पर्नु परेको र विहीबारबाट अन्यत्रबाट समेत अक्सिजन आपूर्ति रोकिएकाले परिस्थिति अप्ठाराे सिर्जना भएको अस्पतालले जानकारी दिएको छ । अक्सिजन उपलब्ध हुन नसकेकाले बिरामीको उपचारमा पर्न गएको असुविधाप्रति क्षमापार्थी छौ, अस्पतालले भनेको छ ।
मकवानपुरमा अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता रहेकाेले हेटाैडा अस्पतालमा अक्सिजन अभावले समस्या भएको बताइएकाे छ ।


