मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कोरोना भाइरस संक्रमितको उपचारको लागि अक्सिजन सहितको ३० बेडकाे आइसोलेसन तयार गरिएको छ । बकैया ४ स्थित छतिवन प्राथमिक स्वास्थ्य केन्द्रमा २० बेड र बकैया–३ हात्तिसुँडे सामुदायिक स्वास्थ्य इकाईमा १० बेड आइसोलेसन तयार गरेको हो ।
स्वास्थ्य केन्द्रमा गाउँपालिकाले २० बेड र स्वास्थ्य इकाईमा बकैया–८ का ताराचन्द्र बजगाईले व्यक्तिगत खर्चमा १० बेडको आइसोलेसन तयार गरेका हुन् । बजागाई बुद्ध मावि व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । दुबै आइसोलेसनमा संक्रमितको लागि आवश्यक परेको अवस्थामा अक्सिजन सहितको स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गरिएको बकैया गाँउपालिका अध्यक्ष दामाेदर खनालले बताए ।
बकैया ३ को हात्तीसँडे स्वास्थ्य ईकाईमा बजागाईले व्यक्तिगत खर्चमा तयार गरेको १० बेडको आइसोलेसन वार्ड साेमबार दिउँसो गाउँपालिकाका अध्यक्ष दामोदर खनाललाई हस्तान्त्रण गरिएको हो । आइसोलेसन संक्रमितको सहजताका लागि व्यक्तिगत खर्चमा तयार गरेकाे बजगाईले बताए । ‘जिल्लामा संक्रमण बढिरेहको छ,संक्रमितहरुले अस्पतालमा बेड नपाईरहेको अवस्थामा संक्रमितलाई उपचारमा सहज होस् भनेर अक्सिजन सहितको बेड व्यवस्थापन गरेको हुँ’ बजगाईले भने । आइसोलेसन तयार गर्नको लागि करिब ३ लाख खर्च भएको छ ।

मकवानपुर जिल्लाका अन्य स्थानीय तहमा जस्तै बकैया गाँउपालिकामा समेत काेराेना संक्रमण बढ्दै गएकोले गाउँपालिका भित्रका संक्रमितको उपचारको लागि गाउँपालिका तयारी अवस्थामा रहेको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए । ‘काेराेना संक्रमणबाट बकैया गाउँपालिका पनि अछुतो छैन’ खनालले भने ‘अहिले ४ जनामा संक्रमण देखिएको छ ।’ तयारी स्वरूप आइसोलेन वार्डहरु तयार गरिएकाे, सूचना प्रवाह समेत भइरहेकाे र अक्सिजन सहितको आइसोलेन वार्ड तयार गरिएकाे खनालले बताए ।

