मकवानपुर । मकवानपुरमा बैशाख १९ गते आइतबार राती १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । काेराेना संक्रमितकाे सक्रिय संख्या मकवानपुरमा ५ सय माथि पुगेकाेले संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निषेधाज्ञा लगाइएकाे बताइएकाे छ ।
जिल्ला सुरक्षा समितिको शनिबार अपराह्नको बैठकले हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाकाे सबै क्षेत्र तथा मनहरी गाँउपालिकाकाे राजमार्ग क्षेत्रकाे दाँयाबाँया ५ सय मिटर वरपर निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । प्रजिअ पाण्डेका अनुसार बैठकले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लाका उक्त स्थानीय तहमा भोलि आइतबार राती १२ बजेदेखि लागू हुने गरी आगामी बैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे हाे ।
यसअघी शनिबार दिउँसो बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकामा निषेधाज्ञा लगाउन सिफारिस गरेकाे थियाे ।
त्यसैगरी राजमार्गको ५ सय मिटर वरपर निषेधाज्ञा लगाउन पनि केन्द्रले सिफारिस थियाे । बजारका तरकारी पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुला राख्न र पास बिना सवारी साधन संचालन गर्न नदिने गरी निर्णय गर्न सिफारिस गरेको थियो ।
निशेधाज्ञाकाे निर्णय हेर्नुहाेस



