मकवानपुर । मकवानपुरमा काेराेना संक्रमितको सक्रिय संख्या ५ सय नाघेको छ । शुक्रबार राती प्राप्त प्रयाेगशाला रिपाेर्ट अनुसार २ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै संक्रमितको संख्या ५ सय नाघेको हो ।
यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २४ पुगेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण विस्तार भएपछि १ हजार ६ सय ५० जनाको परीक्षण गर्दा ६ सय २ जनामा संक्रमण पुष्टि भएको कोरोना परीक्षण प्रयाेगशालाका डाक्टर सागर काफ्लेले जानकारी दिए ।
शनिबार संचारकर्मीहरूसँग कुरा गदै हेर्टौंडा अस्पतालका डाक्टर काफ्लेले मकवानपुरमा रहेका सक्रिय संक्रमितमा ४ सय ९७ जना घरमै उपचाररत रहेकाे र गौरिटार आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेकाे बताए । मकवानपुरमा कोरोनाबाट हालसम्म ३५ जनाको ज्यान गएको छ ।
हेटौंडा अस्पतालको कोभिड आईसियूमा १४ जना संक्रमित उपचाररत रहेकोमा आज ३ जना डिस्चार्ज गरिन लागेको हाे । स्वास्थ्यमा सुधार आएसंगै होम आइसोलेसनमा बस्नको लागि डिस्चार्जको तयारी भएको काफ्लेले बताए । हेटौंडा अस्पतालमा रहेको हाइ डिपेन्डेन्सी युनिट (एचडियु) वार्डमा उपचाररत कोरोना संक्रमित शुक्रबार २ जना डिस्चार्ज भएका थिए । शनिबार डिस्चार्ज हुने हेटौंडा–८ का ४२ वर्षीय पुरुष र ५९ वर्षीय पुरुष छन् भने हेटौंडा–११ का ५० वर्षीय पुरुष पनि डिस्चार्ज हुँदैछन् ।
हेटौंडा अस्पतालमा ६ बेडको आइसियु र १४ बेडको एचडियु वार्ड स्थापना गरिएको छ । एचडियु वार्डका ईन्चार्ज डा. काफ्लेका अनुसार एचडियु वार्ड सञ्चालनमा आएको एक साताको अवधिमा १८ जनाले सेवा लिएका छन् भने ६ जना डिस्चार्ज भएका छन् । एकजनालाई हेटौंडा अस्पतालको एचडियु वार्डले अन्यत्र रेफर गरेको छ । एचडियु वार्डमा रहेका संक्रमित मध्ये २ जनाको अवस्था गम्भीर छ भने अन्य विरामीको अवस्था खतरामुक्त रहेको डा. काफ्लेले जानकारी दिए ।
अहिले मकवानपुर जिल्लामा ५ सय २४ जना सक्रिय संक्रमित रहेकोमा ११ जना हेटौंडा अस्पतालको एचडियु वार्डमा उपचाररत छन् भने १३ जना गौरिटार आइसोलेसन वार्डमा छन् । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमित ५ सयजना होम आइसोलेसनमा छन् ।
मकवानपुरमा लकडाउन हुन सक्ने
मकवानपुरमा काेराेना संक्रमितकाे सक्रिय संख्या ५ सय नाघेसँगै लकडाउन हुनसक्ने सम्भावना रहेकाे छ । मकवानपुरकाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेपछि संक्रमण बढ्न नदिन लकडाउन जारी गरिने यस अघी नै बताउँदै आएका छन् । सरकारले समेत संक्रिय संक्रमित ५०० नाघे निशेधाज्ञा वा लकडाउन अवस्था हेरेर लगाउन प्रमुख जिल्ला अधिकारीलाइ दिएकाे छ ।
मकवानपुरमा शुक्रबार राती अबेरकाे रिपाेर्टमा कोरोना संक्रमितको संख्या १ सय ७७ जना थपिएका छन् । काेराेना संक्रमण तिब्र रुपमामा बढ्दै गएकोले शनिवारबाट मकवानपुरमा मिनी लकडाउन नै भएकाे छ । शनिबार बेलुकासम्म संक्रमण जोखिमलाई मध्यजनर गर्दै संक्रमण बढ्न नदिन लकडाउन घोषणा गर्न सक्ने जनाइएकाे छ ।

