मकवानपुर । कोभिड–१९ (कोरोना भाईरस)को दोश्रो लहरले नेपाल समेत प्रभाव पार्न थालेपछि मकवानपुर जिल्लाका सवै स्थानीय तहमा अक्सिजन सहितको आइसोलेसन वार्डको तयारी सुरु भएकाे छ । मकवानपुरकाे १० स्थानीय तह मध्ये ८ स्थानीय तहमा अक्सिजन सहितको आईसोलेशनको ब्यवस्थापन भइसकेको छ ।
‘मकवानपुरको १० स्थानीय तहमध्ये ८ वटा तहमा अक्सिजन सहितको आईसोलेशनको ब्यवस्थापन भइसकेको छ’ जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भने– ‘बाँकी स्थानीय तहमा भने अबको एकहप्ता भित्र स्थापना भइसक्ने छ ।’
मगलबार मकवानपुरमा बढै गएकाे काेराेना भाइरस कोभिड १९ काे सन्दर्भमा मकवानपुरको तयारी सम्बन्धी पत्रकार सम्मेलनमा प्रमुख खुलालले कोरोना संक्रमण रोक्न करिब तयारी पुरा भएको बताए । काेराेनाकाे दोश्रो लहर मकवानपुरमा दैिनक तिब्र गतिमा फैलिएको हुँदा स्वास्थ्य सावधानी अपनाउन आम नागरिकलाई प्रमुख खुलालले आग्रह गरे ।
कोरोनाको संक्रमणमा परेकाहरुलाई आइसोलेशनमा राख्नको लागि हेटौँडा उपमहानगरपालिकाले १ सय २० शैयाको आइसोलेशन वार्ड गौरीटारमा स्थापना गरेको छ । सुविधासम्पन्न उक्त आइशोलेसनको क्षमता १ सय ५० सम्म रहेको छ ।
यसैगरि बागमती गाउँपालिकाले १० शैया, बकैया गाउँपालिकाले २०, मकवानपुरगढी गाउँपालिकाले १५ , इन्द्रसरोबर गाउँपालिकाले १२, थाहा नगरपालिकाले चालु अवस्थामा २० र तयारी थप २० गरि ४० बेड, कैलाश गाउँपालिकाले १० तयार गरेका छन् भने अबको एक हप्तामा प्रयोग हुने गरी राक्सीराङ गाउँपालिकाले २० शैयाको आइसोलेशन तयार गरेका छन् ।

