मकवानपुर । गृहमन्त्री रामबहादुर थापा बादलको सांसद पद खारेज भएपछि राष्ट्रियसभा सदस्यको पद रिक्त भएको छ । कानुनी व्यवस्था अनुसार रिक्त पदमा ३५ दिभित्र उपचुनाव गर्नुपर्ने हुन्छ । राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख छ।
‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ’ राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ ।
सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । उनी केपी पक्षमा लागेपछि माओवादीले उनको पद रिक्त गराउन संसद सचिवालयमा लिखित पत्र दिएको थियो ।
बादल २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
बादल पुनः गृहमन्त्रीमै नियुक्त
आइतबार राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पदमुक्त राम बहादुर थापा बादल आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । उनी पदमुक्त भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने २०७२ सालमा जारी भएकाे नेपालकाे सविधानकाे धारा ७८ मा व्यवस्था गरिएकाे छ । साेही धाराकाे उपदफा (२) मा नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्ने प्रावधान रहेकाे छ ।
संसदकाे सदस्य नभएकाे व्यक्ति मन्त्री हुन सक्ने नेपालकाे सविधानकाे व्यवस्था
७८. संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने ः (१) धारा ७६ को उपधारा (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ ।
(२) उपधारा (१) बमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्नेछ ।
(३) उपधारा (२) बमोजिमको अवधिभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधि सभाको कार्यकालभर निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन ।
(४) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन ।

