मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा न.–१३ पदमपोखरीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
फेमकल एकेडेमीको आयोजना भएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाले स्वास्थ्य जाँच सेवा लिएको एकेडेमीका प्रिन्सिपल केशव मुडभरीले बताए । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिएको प्रिन्सिपल मुडभरीले बताए । शिविरमा बालबालिकाहरुको स्वास्थ्री जाँच गर्नाले बालबालिकाहरुलाई स्वास्थ्यप्रति चनाखो हुनुपर्ने चेतना समेत विस्तार गर्न सकिने उनले बताए।
‘बालबालिकाहरुलाई सैद्धान्तिक सिकाइसँगै व्यवहारीक ज्ञान पनि आवश्यक हुन्छ, यस्ता शिविरमा स्वास्थ्य जाँच गर्दा पनि उनीहरुले धेरै कुराहरु सिक्ने अवसर पाउँछन्’ प्रिन्सिपल मुडभरीले भने । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटाैंडाका डाक्टर सागर काफ्लेको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले जनरल फिजिसिएन, रक्त समूह,शरिरकाे उचाइ, रक्तचाप जाँच गरेकाे थियाे । यसै गरी स्वास्थ्य जाँचसँगै जुकाको औषधि पनि वितरण गरिएको थियो ।
स्वास्थ्य जाँच कार्यक्रममा विद्यालयकाे स्वास्थ्य प्राविधिक पवित्रा राइ सहयाेगी प्रियंका क्षेत्री, रक्तसञ्चार केन्द्र हेटाैंडामा इन्चार्ज टंक दाहाललगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

शिविरमा पदमपोखरी हेल्थपोष्टका प्रमुख धानेश्वर शाहले शिविरबाट स्वास्थ्य समस्या पत्ता लागेमा उपचार गर्न समयमै पहल हुने भएकोले शिविरको आवश्का रहेको बताए । एकेडेमीका प्रिन्सिपल मुडभरीले विद्यार्थीहरुको स्वास्थ्य जाँच समय समयमा गर्नु पर्ने भएकोले विद्यालयले नै यस्तो पहल गरेको बताए ।



