मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थपिएका ९ सयमा काठमाडौँ उपत्यकामा मात्र ३ सय ४८ जना संक्रमित भएका छन् ।
६ हजार १ सय ५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८ सय ३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ । पछिल्लाे २४ घण्टामा थप २ सय ८ जना काेराेना संक्रमण मुक्त भएका छन् भने थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।
हेटौंडामा काेराेना संक्रमित बढ्दै
यसै गरी बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो केहि दिनदेखि काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे छ । शुक्रबार हेटौंडामा थप २ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पुष्टि हुनेमा हेटौंडा-८ की २२ वर्षीया महिला र हेटौंडा-११ का ३४ वर्षीय पुरुष रहेका छन् । शुक्रबार १६ जनाको स्वाब परीक्षणमा थप २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । विहीबार पनि हेटौंडामा १ जनामा संक्रमण पुष्टि भएको थियो । पुष्टि हुनेमा हेटौंडा ४ का ५० वर्षीय पुरुष रहेका थिए ।
शुक्रबार थपिएकाे २ जना सहित मकवानपुर जिल्लामा सक्रिय संक्रमितको संख्या १९ पुगेको छ । सक्रिय संक्रमितमा १२ जना पुरुष र ७ जना महिला रहेका छन् । सक्रिय संक्रमितमा १८ जना हेटौंडा उपमहानगरपालिका र १ जना थाहा नगरपालिकाका रहेका छन् ।
मकवानपुरमा हालसम्म पुष्टि भएका ३ हजार ९ सय १३ जना सक्रमितमा ३ हजार ८ सय ६२ जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा कोरानाको कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । काेराेनाकाे कारण मृत्यु हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरापलिकाका २६ जना,थाहा नगरपालिकाकमा र मनहरी गाउँपालिकाका २/२ जना रहेका छन् भने बकैया र बागमती गाउँपालिकामका १/१ जना रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

