मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे लगातारकाे अवराेध पछी अनिश्चित बनेकाे बागमती प्रदेशसभा बैठक आज विहीबार १ वजे बस्दैछ । यसअघि गत चैत्र २४ गतेदेखि २६ गतेसम्म संचालन भएको प्रदेशसभाको सातौ अधिवेशन माओवादी केन्द्रको अवरोधका कारण स्थगित भएको थियो ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्का अनुसार, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निर्देशन अनुसार आज बैठक बस्न लागिएको हो । बैठक सञ्चालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ रोकिएका छन् ।
प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् । सो मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन् ।
आजकाे बैठकमा यसअघि कार्यव्यवस्था परामर्श समितिले तयार गरेको एजेण्डामाति छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ ।

