मकवानपुर । नेपाली चलचित्र ‘श्री’ आज शुक्रबारबाट देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउन समयमा जम्मा ७२ घण्टामा श्रीकाे छायांकन सकिएको थियाे । नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समयमा छायांकन सकिएककाे ‘श्री’काे निर्देशन तथा निर्माण एभरेष्ट सूर्य बोहराले रहेका छन् ।
नयाँं बर्ष २०७८ को अबसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।
कोरोनाका कारण थला परेको चलचित्र उद्योगको श्रीबृद्धिमा ‘श्री’ ले ठूलो योगदान गर्ने बिश्वास लिएकाे वितरक करण श्रेष्ठले बताए । ‘श्री’ का प्रमुख पात्र सन्दिप क्षेत्रीले यो चलचित्र आफ्ना लागि निकै महत्वपूर्ण रहेको बताए । अभिनेता भोला सापकोटाले ‘श्री’ मा आफूले निर्वाह गरेको भूमिकाकाे न्याय भएकाे बताए । उनले बिषम परिस्थितिमा समेत हिम्मतका साथ फिल्म निर्माण गरि प्रदर्शन गर्न लागिएकोमा खुशी प्रकट गरे । अभिनेत्री सबिता गुरुङले चलचित्र प्राबिधिकहरुलाई राहत स्वरुप ‘श्री’ निर्माण गरिएको स्मरण गर्दै अब यसले हललाई पनि राहत दिने बिश्वास ब्यक्त गरिन् ।
एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ छायांकन गरिएको थियो । चलचित्रकाे सम्वाद लेखन शिबम अधिकारी तथा मुख्य सहायक निर्देशक सुदीप कुँवरले गरेका छन् । सोसियल सस्पेन्स कथामा निर्माण गरिएको चलचित्रको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल,सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन् ।
निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन् । सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ । ‘श्री’ हलका साथै ओएसआर डिजिटलका बिभिन्न एप्लिकेसनमा समेत प्रदर्शन गरिदैछ ।
