मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बागमती प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । माओवादी केन्द्रले लामो समयपछि सुरु भएको प्रदेशसभा बैठकमा अविश्वासकाे प्रस्तावकाे बखेडा साथै अन्य आराेप लगाउँदै संसद अवरुद्ध गरेको हो ।
सांसदहरुले अवरुद्ध गरेसँगै बैठक स्थगित भएको छ । मंगलबार अपराह्न सुरु भएको प्रदेशसभा बैठक नेकपा माओवादीका सांसदहरुले विभिन्न कुराको माग गर्दै अवरुद्ध गरेपछि माओवादी केन्द्रका सांसदहरुको अवरोध पछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भोलि चैत्र २५ गते दिउँसो ११ बजे बस्नेगरी बैठक स्थगित गरेकाे प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले तत्कालिन नेकपाको प्रदेशसभाका बहुसंख्यक सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नै नदिएको आरोप लगाए ।
उनले भने, ‘सभामुख संवैधानिक रुपमा स्वतन्त्र हुनुहुन्छ, तर उहाँलाई पनि सरकारले दबाबमा राख्यो । सो दबाबका कारण सभामुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने वातावरण बनाउन सक्नु भएन ।’ ‘प्रदेशसभाको विभिन्न समिति र कार्य परामर्श समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष र अन्य दलहरुलाई सूचना नै नगरी एकलौटी ढंगबाट छलफल अगाडि बढाउनु भएका छ यो भन्दा दुःखद क्षण के हुनसक्छ,’ उनले भने । नेता जम्मकट्टेलले आफ्नो धारणा राखिसकेपछि माओवादी केन्द्रका प्रदेशसभाका सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए ।

प्रदेशसभा बैठक बस्नु अघि आज बिहान बसेको कार्य परामर्श समितिको बैठकले मुख्यमन्त्री पौडेलको विरुद्धमा ल्याएको अविश्वासको प्रस्ताव फिर्ता गरियोस् भनि ल्याएको प्रस्ताव, अर्थ तथा विकास समितिको प्रदेश सार्वजनिक सडक तथा परिवहनसम्बन्धी प्रतिवेदन र भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश पर्यटन विकास सम्बन्धमा बनेको विधेयक प्रस्तुत गर्ने तयारी गरेको थियो ।
माओवादी केन्द्रको अवरोध पछि बैठक अवरुद्ध हुँदा सबै कार्यसूचीहरू स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । आजकाे प्रदेशसभा बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ भने अपस्थित थिए ।

