मकवानपुर / पत्रकारिताले समाजमा सकारात्मक सन्देश दिनुपर्ने बागमती प्रदेशको प्रमुुुख सचिव डा. मानबहादुर बिकले बताएका छन् । आमसन्चारले स्थानीय क्षेत्रको दुरदराजको खोजमुलक समाचारलाई उच्चप्राथमिकता दिनुपर्ने प्रमुख सचिव बिकले बताए ।
सञ्चार रजिष्टार कार्यालय बागमती प्रदेशको समन्वय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजनामा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता सम्बन्धि मकवानपुरगढी गाउँपालिकामा बिहिवारबाट सुरु भएको तालिमको उद्घाटन गर्दै प्रमुख सचिब बिकले यस्तो बताएका हुन् ।
कहिलेकहि सकारात्मक समाचारले पनि नकारात्मक छाप छाड्न सक्ने भएकोले यस्ता त्रुटी प्रती चनाखो हुनुपर्ने उनले बताए । ब्रेकिङ्ग न्युजको होडबाजीको कारण पत्रकारितामा समस्या भएको बिकले बताए । “फ्याक्ट चेक गर्ने धैर्यता चाहियो” बिकले भने “सोसल मिडियाको लागि सबै व्यक्ति पत्रकार भए,अब यसलाई कसरी व्यवस्थित गर्नेभने तर्फ सोच्नुपर्छ ।”
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब मदन भुजेलले पत्रकारितामा धेरै कमजोरी पाटाहरु भएकोले सच्याउन तर्फ लाग्नु पर्ने बताए । पत्रकारलाई टिकाउनको लागि सीप अत्यावश्यक पाटो भएको पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्टले बताए । निरन्तरता र कृयाशिलता भएमा पत्रकारितामा भविष्य धेरै राम्रो भएको बिष्टले बताए । सञ्चार माध्यम र सन्चारकर्मीले आमपाठकसामु बिश्वासनियता कायम राख्नुपर्ने उनले बताए । “हाम्रो समाचार समाजमा बिकाउनको लागि विश्वासनीयता चाहिन्छ” बिष्टले भने “हामी साझा जीवनशैली बिताऔं ।”
यसैगरी प्रदेशको सञ्चार रजिष्टार रेवती सापकोटाले पत्रकारको सीप र दक्षता वृद्धिको लागि तालिम उपयोगी भएको बताए । पत्रकारको लागि साना साना लाग्ने तर जीवनपयोगी सीप सिकाइने सापकोटाले बताए । नेपालको ५० प्रतिशतभन्दा बढी पत्रकार बागमती प्रदेशमा कृयाशिल रहेकोले देशलाई नै निर्देशित गर्न जिम्मेवार पत्रकार बन्न सापकोटाले अनुरोध गरे । कार्यालयले प्रदेशमा हालसम्म १ सय २० जना पत्रकारलाई यो तालिम प्रदान गरिसकिएको सापकोटाले बताए ।
तालिममा बागमती प्रदेशको ११ जिल्लाका २० जना पत्रकारहरु सहभागी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश शाखा अधिकृत ज्ञानदीप राई जानकारी दिए ।

