मकवानपुर/नेपाल सरकारको मन्त्री परिषदले निर्णय गरेको ५ वर्षपछि फिल्डमा काम देखिन थालेको छ । हेटौंडाको दोस्रो औद्यागिक क्षेत्रको रुपमा स्थापना गर्ने भनिएको मयुधाप औद्योगिक क्षेत्रको काम अब फिल्डमा देखिन थालेको हो ।
२०७२ चैत १ गते बसेको बैठकले सो निर्णय गरेको भएपनि यो विषयले औद्योगिक क्षेत्र स्थापनार्थ फिल्डमा खासै प्रगति देखाउन सकेको थिएन । अब भने यसको कार्यले रफ्तार लिने बताइएको छ ।
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं. १४ को मयुरधाप, पूर्वमा मयुरधाप वस्ती, पश्चिममा कालापानी वस्ती, उत्तरमा रातामाटे डाँडा, दक्षिणमा उत्तरपानी चुरे वन र सो वरपरको खालि जग्गा समेतलाई ओगट्ने गरि ३ सयविगाहा जाग्गामा मयूरधाप औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भएको ५ बर्षपछि १४ फागुन २०७७ शुक्रबार शिलान्यास कार्यक्रम तय भएको छ ।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले शुक्रबार उद्योग स्थापनार्थ शिलान्यास गर्न पक्का भएको हेटौंडा औद्योगिक क्षेत्र व्यववस्थापनका प्रमुख राजेन्द्र कंडेलले बताए । उद्योग स्थापनार्थ एक साता अगाडि मात्रै स्थानीय स्तरमा सार्वजनिक सुनुवाई समेत गरिएको थियो । मयुरधाप औद्योगिक क्षेत्रमा मन्त्रिपरिषद् निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रको नाममा नामसारी गरेको थियो ।
औद्योगिक क्षेत्रका पूर्वाधार निर्माणका लागि करिब ७ अर्ब २ करोड ३४ लाख लाग्ने अनुमान गरिएको छ । औद्योगिक क्षेत्र सञ्चालनपछि दक्ष, अर्धदक्ष र अदक्ष गरी करिब १० हजार जनाले रोजगारी पाउने बताइएको छ । औद्योगिक क्षेत्र परिसरमा ५ दर्जन बढी उद्योग रहने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख कंडेलले बताए । औद्योगिक क्षेत्रमा ७ देखि १४ रोपनीसम्मका ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ । नेपाल सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जमिन उपलब्ध गराइसकिएको छ । हेटौंडा उपमहानगरपालिकाले औद्योगिक क्षेत्र बन्न लागेको जग्गासहितलाई मध्यवर्ती क्षेत्रभन्दा बाहिर राख्ने निर्णय गरी मन्त्रालयमा सिफारिस गरिसकेको छ । तर, सिफारिस बमोजिम मन्त्रालयले निर्णय भने अझै गरेको छैन ।
औद्योगिक क्षेत्र स्थापनार्थ अन्य आन्तरीक कामहरु जारी रहेको र अब देखिने गरि फिल्डको काम सुरु भएको औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेड आयोजना निर्देशक सञ्जयलाल मानन्धरले बताए । मिति २०७३ वैशाख १२ गते भएको नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार आयोजनाको क्षेत्रफल १ सय ३४ दशमलव ८६ हेक्टर अर्थात १ सय ९९ दशमलव १२ बिगाह क्षत्रफल कब्जा गर्ने छ । यसक्षेत्रका ७ देखि १४ रोपनी आकारका ६२ वटा औद्योगिक प्लट हरने छ । यो औद्योगिक क्षेत्र हेटौंडा बजारबाट ७ किमी टाढा तथा हेटौंडा–पथलैथा सडकको पशुपतिनगरबाट करिब ३ किमी पश्चिममा पर्दछ ।

