मकवानपुर । बागमती प्रदेश सभाको सातौं अधिवेशन बुधबार ३ बजे बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिले भोली ३ बजेको लागि आवश्यक सम्भावित कार्यसुचि तयार गर्ने निर्णय गरेका प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
३ घण्टा भन्दा लामो समय बसेको प्रदेशको कार्यव्यवस्था परामर्श समितिमा बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलमाथि परेको अविश्वासको प्रस्तावबारे निर्णय गर्ने कार्यविधिको छलफलमा रस्साकस्सी परेको बताइएकाे छ । परामर्श समितिमा सहभागी नेपाली कांग्रेसका सचेतक छिरिङ दोेर्जे लामाले विधि अनुसार गर्नुपर्ने बताएका छन् । मूख्यमन्त्री पौडेलमाथि परेको अविश्वासको प्रस्तावबारे निर्णय गर्न कार्यविधि समिति गठन भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ गठन गर्ने निर्णय गरेको हो ।
समितिले बुधबार नै प्रतिवेदन बुझाउने गरी काम गर्ने र जसको लागि आज विहानै बैठक बस्ने कार्यव्यवस्था परामर्श समितिकी सदस्य रिना गुरुङले बताईन् । गुरुङकाअनुसार प्रस्ताव
बारेको मत विभाजनका लागि कार्यविधि बनाउन ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ गठन गर्ने निर्णय भएको हो । बैठकले नेकपाका मुख्य सचेतक केशव पाण्डे, सचेतक बुद्धिमान माझी, नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङ दोर्जे लामा,सांसद राजेन्द्र पाण्डे, गणेश दुलाल,रिता माझी,रिना गुरुङ, शोभा शाक्य र प्रदेशसभाका सचिव कृष्णहरी खड्का रहेको समिति गठन गरेको छ ।
समितिले दस्तखत सहितको मत विभाजनसम्बन्धी कार्यविधि बनाउने छ । उक्त कार्यविधि संसद बैठकमा स्विकृत भएपछि मात्रै प्रस्ताव माथि छलफल हुनेछ । बुधबारको बैठकमा औपचारिक कार्यतालिका धेरै हुने देखिएको छ । आज बस्ने बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने, विधेयक प्रमाणिकरणको पत्र पढेर सुनाउने, प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउने, सातौं अधिवेशनको अवसरमा प्रत्येक दलका नेताले शुभकामना दिने कार्यसूचिमा सहमति भएको परामर्श समितिका सदस्य समेत रहेका नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाले बताए ।

