मकवमानपुर/ राष्ट्रिय सभा अन्नरगतकाे प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति राम नारायण विडारीले शोषित पीडित र निमुखाको आवाज बन्दै सत्यतथ्य र निष्पक्ष समाचारको संवाहकका रुपमा सञ्चार जगतले आफ्नो पहिचान बनाउन आग्रह गरेका छन् ।
खोजमुलक समाचार प्रकाशन कम हुने हुँदा खोजमुलक विषयमा केन्द्रित हुनपर्ने उनको भनाई थियो । विडारीले समाजको लागि आवश्यकता महसुस हुने खालका विषयवस्तु उठान गर्ने तर्फ पत्रकार तथा सञ्चारकर्मीको ध्यान जानुपर्ने बताए । आमसञ्चारलाई गाउँको कुना काप्चासम्म लैजाने अभियान स्वरुप हजुरको खबर डटकम अनलाइनले मकवानपुरको बागमती गाउँपालिकामा स्थापना गरेको शाखा कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
पत्रकारिता पेसा संवेदनशील र जोखिम मिश्रित पेशा भएको भन्दै समाजप्रतिको उत्तरदायित्व भएर कलम चलाउनको लागि विडारीले सुझाव दिए । उनले कसैको चरित्र हत्या, बदनाम र प्रमाणित नहुने समचारहरुले धेरै स्थान पाईरहेको भन्दै यसलाई भन्दा पनि अपराधिक, भष्ट्राचारविरुद्धको समाचार संकलन गर्नको लागि आग्रह गरे ।
कार्यक्रममा हजुर मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष तथा हजुरको खबरका प्रमुख रुपक कालिराजले राज्यको चौथो अंग आम–संचारका सिद्धान्तहरु प्रति प्रतिबद्धताका साथ स्वतन्त्र, निष्पक्ष, तटस्थ भइ नेपालको संबिधानद्वारा प्रत्याभूत स्वतन्त्रता र हक अधिकारको जगेर्ना गर्दै राज्य र समाजप्रति कर्तव्यनिष्ठ एवं उत्तरदायी भएर जनतालाई सुसुचित गर्ने उदेश्यले अनलाईन खोलेको बताए । धेरै अनलाईन शहर केन्द्रित भईरहँदा गाउँका विषयहरु ओझेलमा परेको हुँदा गाउँ केन्द्रित गर्न खोजेको कालिराजको भनाई रहेको थियो । उनले सामाजिक न्याय तथा दायित्व र सद्भावना कायम राख्दै समाजमा घटेका घटनाहरुलाई सत्यतथ्य रुपमा उजागर गर्नेमा सम्पुर्ण पाठकहरुमा विस्वस्त हुन आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले पत्रकार समाजको ऐना भएकोले वास्तविकतालाई बाहिर ल्याउन आग्रह गरे । पुलामीले पत्रकारहरु शहर केन्द्रित मात्रै भएको भन्दै अब गाउँ केन्द्रित हुन आग्रह गरे । गाउँपालिका अध्यक्ष सर्केश घलानले गाउँपालिकालाई मिडिया भनेको सुचनाको संवाहक भएको भन्दै यस गाउँपालिकामा स्थापना गर्नु आफैमा राम्रो सन्देश गएको बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतान,नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष सान्तराम विडारी, प्रेस संगठन बागमती प्रदेशका सहसंयोजक सुनिल खड्का, वामनेष्ट फाउण्डेशनका प्रमुख साइलु दियाली, ४ नम्बर वडाका अध्यक्ष रहर थिङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटा, राष्ट्रिय समाचार समिति उत्तरी क्षेत्रका सम्वाददाता कुमार नेगी, शिक्षा पत्रकार समुह बागमती प्रदेशका अध्यक्ष धु्रब अधिकारी,खेलकुद विकास समितिका अध्यक्ष अरुण बल लगायतको आथित्यता रहेको थियो ।

