- भवानी तिमल्सिना न्यौपाने
प्रकाश र रोसनी दुबै पढेलेखेका जागिरे । रोसनीलाई सधै पाँच बजे अफिस छुट्टि भएपछि घर पुग्नै हतारो हुन्थ्यो । घरमा पुग्ने वित्तिकै छोरा छोरी भोकलाग्यो भन्न थाल्दथे । उनिहरुलाई खाजा खुवाएर होमवर्क गराइसकेपछि उनी बेलुकाको खाना बनाउन लाग्दथिन् ।
प्रकाश भने मुस्किलले राती नौ साढे नौँ बजे तिरमात्र घर पुग्थे । जाडोको समय थियो । रोसनीका साथिहरुले बृद्धाश्रममा बृद्ध बृद्धालाई न्यानो लुगा बाड्ने कार्यक्रम राखेका रहेछन् । त्यसमा रोसनीले पनि सहयोग गरेकी थिइन् । शनिवारको दिन थियो । खाना खाएर बच्चाहरुलाई नुवाई धुवाई गरिसकेर रोसनीले प्रकाशलाई भनिन्, “सुन्नुस् न आज त्यो पारीको बृ्द्धाश्रममा न्यानो लुगा बाँड्ने कार्यक्रम छ म जान्छु है ।“ प्रकाशले असहमति जनाउँदै भने “हैन यी आइमाइहरुलाई शनिवार त आउनै हुन्न ! हिँडीहाल्छन् ।”
“अरु दिन त मैले गरेकै छु नि साथिहरुलाई अस्विकार पनि कसरी गर्नु नरिसाउनुस् न” भन्दै रोसनी बाहिर निस्किई । जति छिटो गर्ने भने पनि कार्यक्रम सक्दा झमक्क साँझ प¥यो । उनी घर आइपुग्दा साढेसात बजेको थियो । घरको गेट खोल्न थालिन् खुलेन कहिल्यै यति छिटो बन्द नहुने घरको गेटमा ताला लागिसकेको देखेर उनी छक्क परिन ।
उनले प्रकाशलाई फोन गरिन र ताला खोल्न भनिन । प्रकाशले रिसले कालो निलो हुँदै गेट खोले र गेट भित्र छिर्न नपाउँदै हैन यत्रो समयसम्म कहाँ बसेको ? यति राती भैसक्यो बच्चाहरु भोकाई सके खाना बनाएको पनि छैन न घरको वास्ता न बच्चाको भन्दै प्रकाश कराउँदै थिए ।
रोसनी भने हतार हतार कपडा फेरेर हात गोडा धोएर भान्छामा छिरीन । भोली पल्ट रोसनी अफिसबाट घर आइन् छोरा छोरीलाई खाजा पानी खुवाएर होमवर्क गराइन् खाना बनाइन् । सँगै अफिसबाट छुटेका प्रकाश भने उहि नौँबजे घर आए । उनले रोसनीलाई बोलाएर भने, “गेट खोल त ।“प्रतिउत्तरमा रोसनीले भनिन् ,“घरको गेट त श्रीमतिको लागि मात्र हो सातै बजे बन्द हुने श्रीमानको लागि चौबिसघण्टा खुलै हुन्छ ! आउनुस् ।“

