मकवानपुर / लैङ्गिक हिंसा अन्त्यको लागि व्यक्ति व्यक्ति लाग्नु पर्ने मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताएका छन् । व्यक्ती व्यक्तिको व्यवहारबाट समाजले सिकाई गर्ने भएकोले व्यक्ति पहिले हिंसा विरुद्ध लाग्नुपर्ने अध्यक्ष उप्रेतिले बताए । लैङ्गिक हिंसा विरूद्व १६ दिने अभियान अन्तरगत मनहरीमा भएकाे कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
लैङ्गिक हिंसा पुरुषलाई पनि हुनसक्ने भएकोले महिला मात्रैको सवाल नभई सामाजिक सवाल भएको उनले बताए । ‘हामीले आफ्नो व्यवहारमा सुधार गर्नुपर्छ’ उनले भने । अभियान मनाईदै गर्दा बिगतको अभियानको मुल्यांकन गर्नु पर्ने उनले बताए । महिला र पुरुषले गर्न हुने नहुने भनेर काम बाड्ने गर्न नहुने उनले बताए । अभियान अन्तरगत विभिन्न टोलमा सचेतना कार्यक्रमपछि अभियानको समापन तथा जनप्रतिनिधि र स्थानीय महिलाबिचको लोक दोहोरी कार्यक्रममा अध्यक्ष उप्रेतिले यस्तो बताएका हुन् ।
‘हिंसा पिटेर मात्रै है नपिटेरै, नबोएरै पनि हुन्छ’ उप्रेतिले भने ‘अरुलाई हिंसा नगर्न भन्ने तर आफूले चै त्यही व्यवहार गर्ने हो भने समाजलाई सिकाई सकारात्मक बन्न सक्दैन हामी आफ्नै व्यवहारमा सुधार गरौं ।’ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले हिंसा सहेर बस्न नहुने बताइन् । मनहरी गाउँपालिकाले महिला,बालबालिका, बालश्रम, हिंसा, बिचबिखन विरुद्धको कार्यक्रमसँगै आय आर्जनको कार्यक्रम जोडर अगाडि बढाएको बताइन् । घर परिवार कार्यालय सबै क्षेत्र हिंसा रहित हुनुपर्छ उनले बताइन् ।
पालिकाले हिंसा न्यूनीकरणको लागि सधै सचेतना मुलक कार्यक्रम राखेको उनले बताईन । कार्यक्रम जनप्रतिनिधि तथा स्थानीय सहकारी तथा महिलाको बिचमा प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा जनप्रतिनिधिले आफ्नो कर्तव्यको बारेमा गित गाएका थिए भने स्थानीय प्रतियोगी समूहले हिंसाको भोगाईको बारेमा गित गाएका थिए ।

कामक्रममा ग्रामीण महिला सेवा केद्र मकवानपुर अध्यक्ष उर्मिला कार्कीले अभियानको ऐतिहासिक बिषयमा प्रष्ट पारेकी थिइन्। एकै घरका ३ दिदी बहिनीलाइ त्रिजुलाे सरकारले सामुहिक हत्या गरेकाे र उनीहरूकाे साहसकाे प्रशंसा तथा स्मरणमा याे अभियान मनाउने गरेकाे कार्कीले बताइन् ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक रमशरण दुलालले हिंसाको विरुद्ध लाग्न सबैलाई आग्रह गरे । कार्यक्रम गाउँपालिका वडा ८ का अध्यक्ष दीलबहादु स्याङ्तानले बालमैत्री शासन लागुहुदा हिंसाका घटना नहुने बताए । प्रतियोगीतामा रामप्रसाद पौडेल, प्रलय चौलागाईं र दिपक अधिकारीले मुल्यांकनको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरु कृष्ण बिडारी पम्फा रोक्का र गीता प्रजालगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा गाउँपालिकाका संघसंस्थाहरुको प्रतिनिधित्व गर्ने टोली प्रथम भएको छ । जनप्रतिनिधिहरुको टोलीले द्वितिय स्थानमा हासिल गरेको प्रतियोगिताका निर्णायक प्रलय चौलागाईंले जानकारी दिए । प्रथम र द्वितिय हुने टोलीलाई सम्मान गरिएको थियो ।

