मकवानपुर । बागमती प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारी र प्रदेश प्रहरी प्रमुख बीच प्रत्यक्ष टेलीफोन संवाद कार्यक्रम आज आइतबारबाट सुरु गरिएकाे छ ।
प्रहरी कर्मचारीलाइ पेशागत रुपमा जिम्मेवार बनाउन तथा तोकिएको जिम्मेवारी उच्च मनोबलका साथ सम्पादन गर्ने वातावरण सृजना गर्ने उद्धेश्यले प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुको गुनासोलाई सम्बोधन गर्न र उचित सुझावहरुलाई कार्यान्वयनमा ल्याउन प्रदेश प्रहरी प्रमुखसंग प्रत्यक्ष टेलीफोन संवाद कार्यक्रम संचालन गरिएको हाे ।
कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरुले आफुले भोगेका समस्या, चुनौती तथा पिरमर्का र गुनासोका साथै प्रहरी सेवालाई थप प्रभावकारी बनाउन राय सुझाव संकलन गरी उचित सम्बोधनको लागि प्रदेश प्रहरी प्रमुखसंग टेलीफोन संवाद कार्यक्रम संचालन गरिएकाे बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए। ‘प्रहरी कार्यालय सहयोगी देखी सिनियर प्रहरी अधिकृत सम्मका कर्मचारीहरुलाई निश्चित समय र बार निर्धारण गरी टेलिफोन संवाद कार्यक्रम संचालन गरिएकाे हाे’ गिरीले भने ‘कर्मचारीको क्षमता प्रर्दशनमा मनोबल वा मनस्थितीको प्रमुख भूमिका रहने भएकोले मनोबल वा मनस्थितीलाई सकारात्मक बनाउन समस्याकाे सम्बोधन गर्नु पर्ने देखिएकाेले प्रहरी कर्मचारीहरुले गुनासो व्यक्त गर्ने सहज पहुँच स्थापित गर्न कार्यक्रम संचालन गरिएकाे छ ।’
कार्यक्रमले प्रहरी कर्मचारीहरुको गुनासो वा समस्याको मात्र सम्बोधन नगरी कार्यरत प्रहरी कर्मचारीहरुको कार्य सम्पादनको अवस्थामा सुधारको लागि राय सुझाव समेत संकलन गरिने गिरीले जानकारी दिए । प्रहरी कर्मचारीले दैनिक भोगिरहेका समस्या तथा समाधानको लागि सुझाव समेत प्राप्त हुने भएकाले प्राप्त भएको गुनासो, सल्लाह र सुझाव मार्फत संगठन सुदृढीकरण तथा कार्य सम्पादनको प्रभावकारीतामा अभिबृद्धि गर्न सकिने गिरीले बताए ।
प्रहरी कार्यालय सहयाेगी देखी प्रहरी हबल्दारसम्मका कर्मचारीकाे हप्ताकाे शुक्रबार बिहान ९ बजेदेखी १० बजेसम्म, जुनियर प्रहरी अधिकृत कर्मचारीकाे हप्ताकाे मंगलबार बिहान ९ बजे देखि १० बजेसम्म र सिनियर प्रहरी अधिकृत कर्मचारीका जुनसुकै समयमा गुनासाे सुन्ने गरी व्यवस्था गरिएकाे छ ।
यस्तै बागमती प्रदेश प्रहरी कार्यालयले कार्तिक महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best province Police Of The Month)” घोषणा गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक शिवराज गुरुङ कार्तिक महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका हुन ।

‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७’ मा उल्लेखीत व्यवस्था अनुसार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुदिप गिरीले बताए । प्रदेश तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले महिनाकाे उत्कष्ट प्रहरी घोषणा गरिएको गिरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक शिवराज गुरुङ कार्तिक महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका हुन ।
मकवानपुर जिल्लामा भएका बिभिन्न घटनाहरुको अनुसन्धान, लागु औषधको बरामद तथा फरार प्रतिबादी पक्राउ गर्ने कार्यमा उत्कृष्ट कार्य सम्पादन गरेको सुचककाे आधारमा छनौट समितिले गुरुङलाइ सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी नगद पुरस्कार द्वारा पुरस्कृत गरिएको हाे । प्रहरी सहायक निरीक्षक गुरुङ सहित कार्तिक महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएकाे गिरीले जानकारी दिए ।
यसैगरी बागमती प्रदेश अन्तर्गत स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको राखिएकाे पेटीकामा कार्तिक महिनामा गुनासो तथा सुझाव संकलन गरीएको छ । प्रदेश अन्तर्गतका ३१ वटा स्थानीय तहमा राखिएकाे गुनासो तथा सुझाव संकलन पेटीमा आम नागरिकबाट प्राप्त भएका गुनासो तथा सुझाव संकलन गरि प्रदेश प्रहरी कार्यालय ल्याइएकाे प्रवक्ता गिरीले बताए ।
प्रदेश अन्तर्गतका चितवन जिल्लाको बिभिन्न स्थानीय तहबाट २ वटा र मकवानपुर, दोलखा, सिन्धुली जिल्लाकाे स्थानीय बाट १/१ वटा गरी कार्तिक महिनामा ५ वटा गुनासो तथा सुझाव प्राप्त भएका छन् ।
“गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी योजना २०७७” अनुसार प्रत्येक महिनाको १ गते उजुरी पेटीका खोली प्राप्त भएका गुनासो तथा सल्लाह सुझाव प्रदेश प्रहरी कार्यालयमा ल्याउने गरिएकाे गिरीले जानकारी दिए । गत असोज महिनामा भने मकवानपुर र धादिङमा गरी ६ वटा गुनासो प्राप्त भएकोमा कार्यान्वयन समेत भइ सकेकाे गिरीले बताए ।
बागमती प्रदेश प्रहरी कार्यालयले प्रथम चरणमा सबै महानगरपालीका, उपमहानगरपालीका, नगरपालीका र सदरमुकाम रहेको गाउँपालीका गरी ३१ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीएको थियो । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले असोज १ गते स्थानीय तहसंगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको थियो ।
दोस्रो चरणमा ६७ वटा गाउँपालीका र तेस्रो चरणमा प्रदेश भरीका ८७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटीका राखिने गिरीले बताए ।
