मकवानपुर । मकवानपुरका पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ। दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आज शनिबार विहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिइन्।
तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेका लामाको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज निधन भएको हो । उनी दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना थिए ।
नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने लामा २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्य एक थिए । २०३३ सालमा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए ।
२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामाले २०५६ सालमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी जितेका थिए । २०६२/०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए। लामा जिबिसका सभापति हुँदा काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो।
मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताहरुले पार्टी छाडेका थिए।

