मकवानपुर । प्रत्येक प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालन ल्याउने तयारीसँगै बागमती प्रदेशकाे राजधानी हेटौंडामा प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय हेटौडामा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको प्रयोगशाला भदौ २२ देखि सञ्चालनमा ल्याइएको हो । करिव १२ करोड रुपैयाँ लागतमा स्थापना गरिएको प्रयोगशालाले मुलुकमा बरामद हुने लागुऔषधमध्ये ४० प्रतिशत नमुनाको परीक्षण गर्ने प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले बताए । ‘हेटौंडामा विधिविज्ञान प्रयोगशाला स्थापना भएपछि न्यायप्राप्तिको प्रक्रिया छिटो हुनेछ,’ उनले भने ।
लागुऔषध, जबर्जस्तीकरणी र डीएनएको प्रतिवेदन ढिलो हुने कारण न्यायप्राप्ति पनि ढिलो हुने गरेको थियो । विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन नआएका कारण अदालतका फैसलामा ढिलाइ हुने गरेको जिल्ला अदालत मकवानपुरका एक अधिकृतले बताए । हेटौंडास्थित प्रयोगशालामा बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुली तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाहीका नमुना परीक्षण गरिनेछ ।
नमुना परीक्षणका लागि बरामद भएका वस्तु वा पक्राउ परेकाहरूको जिल्लाबाट तीन दिनभित्र नमुना पठाइसक्नुपर्ने र प्रयोगशालाले १० दिनभित्र सम्बन्धित जिल्लामा प्रतिवेदन पठाउने कार्यतालिका रहेको प्रयोगशालाका प्रमुख मोहनसिंह धामीले बताए । उक्त प्रयोगशालामा रसायन तथा लागुऔषध, जबर्जस्तीकरणीअन्तर्गत बायोलोजी, सिरोलोजी र डीएनएका नमुना परीक्षण गरिने प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।
यो विधिविज्ञान प्रयोगशाला मुलुकको चौथो हो । यसअघि काठमाडौं, धरान र नेपालगन्जमा यस्ता प्रयोगशाला स्थापना भइसकेका छन् ।

