मकवानपुर । हरितालिका तीजको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएकाे छ।
मुख्यमन्त्री थापाले सोमबार शुभकामना सन्देश दिनु हुँदै तीज नेपाली महिलाहरूले सनातन सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको उल्लेख गर्दै पर्वले पारिवारिक सुख, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने अवसर प्रदान गर्ने बताउनु भएकाे छ। यस्ता सांस्कृतिक पर्वले विविधतामा एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास उहाँले व्यक्त गर्नु भएकाे छ।
तीजको मौलिकता कायम राख्दै संस्कृति संरक्षण, संस्कारयुक्त वातावरण निर्माण र सदाचार जीवनशैली अपनाउन चाडपर्वको गरिमालाई सम्मानजनक बनाइराख्नुपर्ने उहाँले सन्देशमा भन्नु भएकाे छ। ‘तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक, जातीय र वर्गीय विभेदलगायत सबै प्रकारका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाउन प्रेरणा दिने अपेक्षा छ’ उहाँले भन्नुभएकाे छ ‘विभेदमुक्त र समतामूलक समाज निर्माणतर्फ अघि बढ्न तीज पर्वले सबैलाई प्रेरित गर्न सकोस शुभकामना।’

