मकवानपुर । काठमाडौंबाट हराएका राम बहादुर बलायर एक साताभन्दा बढी भएपनि अझै फेला परेका छैनन् ।
डोटी केआइसिंह गाउँपालिकाको वडा नम्बर ६ सलेनाका बलायर काठमाडौंकाे काँडाघारीस्थित पुरानो फोर्स पार्कमा छोरा दीपकको डेरावाट बिहानै चिया पिउन भन्दै निस्किएका थिए । असार २६ गतेबाट सम्पर्क विहिन भएका हुन् ।
उनको खोजी कार्यमा जुटेको परिवारले पछिल्लो समय मकवानपुरको हेटौडासम्म पुगेको तथ्य पत्ता लगाए पनि हेटौडा बसपार्कवाट भने उनी कता हिँडेका छन् भन्ने कुरा पत्ता लाग्न सकेको छैन । उनको परिवारले हेटौडाबासी दाजुभाइ दिदिवहिनी,पत्रकार, प्रहरी प्रशासन, व्यापारी कर्मचारी, जनप्रतिनिधी लगायत सवैमा खोजीकार्यमा सहयोगका लागि अपिल गरेको छ ।
बोल्न र सुन्न नसक्ने ५० बर्षिय बलायर पहिलो पटक काठमाडौं घुम्न गएका थिए । उनलाई काठमाडौं स्थानबारे कुनै जानकारी छैन । असार ३२ गते भने उनी भिमफेदीवाट मकवानपुर हेटौडा जाने बा ३ ख २२९९ नम्बरको बसमा चढेको सिसिटिभिमा देखिएको छ । कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर तथा कालो जुत्ता लगाएर चिया पिउन निस्केका उनी हेटौडाको बसमा चढ्दा भने ढाकाटोपी, कालोसेतो रेखा भएको सर्ट, पिठ्यूँमा कालो झोला, हातमा कालो छाता बोकेका छन् ।
‘भिमफेदीमा एक जना महिलाले अलपत्र अवस्थामा भेटिएका बुवालाई खाना र लुगा दिनु भएको रहेछ’ छोरा दिपकले निरास हुँदै भने–‘त्यसपछि उहाँ बसमा चढेपछि डोटी पुग्न सकिन्छ भन्ने सोचेर हेटौडाको बस चढ्नु भएको रहेछ ।’ बसचालकसंगको सोधपुछमा उनी ५० रुपैयाँ भाडा तिरेर हेटौडा बसपार्कमा ओर्लिएको दीपकले बताए ।
हेटौडाको बसपार्कमा सिसिटिभि जडान गरेको भए स्थानीयले खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । उनलाई कसैले देखेमा वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा परिवारलाई ९७०७६३१२४६ वा ९७०७६३१२४८ नम्बरमा सम्पर्क गराइदिन परिवारले अनुरोध गरेको छ ।

