चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणबाट आमा–छोराको मृत्यु भएको छ ।
हात्तीले घरमै पसेर आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ११ बजे स्थानीय पूर्ण बोटेको घरमा जङ्गली हात्ती प्रवेश गरी घरभित्र सुतिरहेका आमाछोरामाथि आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । दुवै शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

