मकवानपुर । मकवानपुरको ३ छुट्टाछुट्टै स्थानमा भएकाे सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा भएकाे दुर्घटनामा १ जना, थाहा नगरपालिकामा भएकाे दुर्घटनामा १ जना र मनहरी गाउँपालिकामा भएका दुर्घटनामा २ जना घाइते भएका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार हेटौंडा–९, सिमेन्टरोडमा दुई ट्रक ठोक्किँदा १ जना घाइते भएका छन् । शनिबार वनस्पतिबाट गुम्बाचोकतर्फ आउँदै गरेको ना ६ ख ४८०८ नम्बरको ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको ना ६ ख १३०२ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ४८०८ नम्बरको सह–चालक विजन थोकर ट्रकमा च्यापिएर घाइते भएका हुन् ।
ना ६ ख १३०२ नं.को ट्रक चालक सिमेन्टरोडका ३८ वर्षीय रामसुन्दर अधिकारी र ना ६ ख ४८०८ नम्बरको ट्रक चालक हेटौंडा–१२ का २७ वर्षीय बिष्णु नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना हुँदा ४८०८ नम्बरको ट्रक थोकरले चलाइरहेको खुलेको छ । उनकाे हेटौंडा अस्पतालमा उपचार भइरहेकाे तथा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका–१२, टिष्टुङमा शनिबार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ख १७५० नम्बरको खाली १२ चक्के ट्रक अगाडिको दाहिने साइडको पट्टा भाँचिएर अनियन्त्रित भई सडकमै पल्टिएदा १ जना घाइते भएका छन् । उक्त दुर्घटनामा ट्रक चालक धादिङ बेनिघाटरोराङ गाउँपालिका–२, मौवाखोलाका २७ वर्षीय ध्रुव घले घाइते भएका छन् । उनलाई उपचारका लागि पालुङ अस्पताल लगिएको छ ।
यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९, खरंगा क्षेत्रमा स्कार्पियो गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा १५ च ६०३५ नम्बरको स्कार्पियो अत्यधिक गतिका कारण अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक हेटौंडा–१९, बस्तिपुरका ४० वर्षीया झलक बर्तौला र सोही गाडीमा सवार ३० वर्षीय बद्री ढकाल घाइते भएका छन् । घाइते दुबै जनाको हेटौंडास्थित सन्चो अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

