भरतपुर, चितवन । चितवनको भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले २ जना स्रस्टालाई प्रज्ञा सम्मान तथा अन्य ४ जनालाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ ।
भरतपुरमा बिहीबार भएको कार्यक्रममा नगर प्रमुख चित्रसेन अधिकारी र प्रतिष्ठान अध्यक्ष इन्द्रप्रसाद रेग्मीले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
प्रतिष्ठानले ‘कृष्ण बम मल्ल प्रज्ञा सम्मान’ बाट नारायणप्रसाद खनाललाई सम्मान गरेको छ । यस्तै ‘भरतपुर प्रज्ञा सम्मान’ विजय गुरुङलाई प्रदान गरिएको छ । ती दुबै सम्मानको राशि ५० हजार ७८ रुपैयाँ रहेको प्रतिष्ठान सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिए ।
विधागत रूपमा प्रदान गरिएका ‘भरतपुर प्रज्ञा पुरस्कार’ अन्तर्गत काव्यतर्फ गोविन्दगोपाल खतिवडाको ‘वासना कि उपासना’ कविता कृति, निबन्धतर्फ सञ्जीव पौडेलको ‘छोटु’ संस्मरण तथा आख्यानतर्फ सुभाष घिमिरेको ‘सान्दाजू’ उपन्यास पुरस्कृत भएको उनले बताए । उक्त पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ रहेको छ ।
त्यसैगरी ‘वागीश्वरी प्रज्ञा पुरस्कार’ गायत्री अधिकारीको ‘वर्तमान’ उपन्यासलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ छ ।
सदस्य सचिव थपलियाले सहजीकरण गरेको कार्यक्रममा सम्मानित तथा पुरस्कृत स्रस्टाको व्यक्तित्व र कृतित्वमाथि केदारनाथ खनालले टिप्पणी राखेका थिए ।

