मानव शरिर विज्ञानलाई अध्ययन गर्ने क्रममा सामान्य मानिसले पनि थाहा पाउन सकिने कुरा के रहेछ भने शरिरले आफूलाइ दुरुस्त राख्न र कतिपय सामान्य समस्याहरु आइपर्दा आफैंभित्रबाट उपचार गर्ने प्रणालीको विकास गर्दाे रहेछ । जब बाहिरबाट कुनै किटाणु आउँछ त्यो आउने रोगका किटाणुहरूका विरूद्ध लड्ने क्षमताको विकास गराउन मानिसको शरीरमा रोग विरूद्ध लड्ने संयन्त्र रहेको हुन्छ । त्यसलाई मानव प्रतिरक्षा प्रणाली भनिन्छ । मानव शरीरमा रहेका सेता रक्तकोषहरुले प्रतिरक्षा प्रणालीको काम गर्दछन । मानव प्रतिरक्षा प्रणालीलाई नष्ट पार्ने विषाणु Human Immunodeficiency Virus HIV हो । प्रतिरक्षा क्षमतामा कमीका कारण विभिन्न रोगका लक्षणहरू देखा परेको अवस्थालाइ AIDS Acquired Immune Deficiency Syndrome भनिन्छ । एच आई भि शरिरमा प्रवेश भइ एड्स को अवस्थामा आइपुग्दा सामान्य स्वास्थ्य समस्या पनि निको नभइ मनिसको ज्यान जान सक्छ ।
माइकल गटलिब नाम गरेका एकजना बैज्ञानिकले सन् १९८० मा मानिसको रोग प्रतिरोधात्मक क्षमता सम्बन्धी अध्ययन गरिरहेका बेला दुर्लभ किसिमको भाइरसका कारणबाट हुने निमोनिया भएको पत्ता लगाए केहि समयपछि एटलान्टाको रोग नियन्त्रण केन्द्रले यसलाइ एड्स नाम दियो । नेपालमा पहिलोपटक वि.सं.२०४५ सालमा एच आइ भी संक्रमण भित्रिएको अनुमान छ । परीक्षणबाट एकजना विदेशी नागरिक र एकजना नेपालीलाई एच आइ भी संक्रमण भएको २०४७ सालमा मात्रै थाहा भएको थियो । असुरक्षित यौनसम्पर्क, निर्मलिकरण नगरिएका औजारहरूको प्रयोग, परीक्षण नगरिएको रगत तथा रगतजन्य पदार्थहरू, आमाबाट बच्चामा गर्भमा रहँदा, सुत्केरी हुँदा, स्तनपान गराउँदा एच आइ भि हुने मुख्य कारण र अवस्था हुन् । एच आइ भी संक्रमण भएको लामो समयावधि सम्म पनि यसका कुनै लक्षण नदेखिन सक्ने हुनाले रगत परीक्षण गराउँदा मात्र संक्रमण भए–नभएको यकिन हुने भएकोले सम्भावित मानिसले रगत जाँच गर्नु गराउनु पर्दछ ।
सबै भन्दा जटिल पक्षनै यहि देखिएको छ । संक्रमण भएको कुरा घर परिवार वा समाजले थाहापाए लान्छाना घृणा दुर्व्यवहार हिंसाको निसानीमा परिने भय र संकोचले समस्यालाइ आफुभित्रै लुकाएर दीर्घजीवि भइ बाँच्न पाउने उपचार पद्धतिबाट बिमुख भइ अकालमै मर्नपर्ने स्थितिलाइ स्विकारेर धेरै संक्रमितहरु बसिरहेका छन् । मानिस सामाजिक प्राणि हो उ एक्लै रहन सक्दैन त्यसमाथि अशक्त र बिरामी पर्दा झनै सहाराको खाँचो पर्दछ तर त्यो अवस्थामा झनै आफन्त र परिवारसँग नै भयभित भइ बस्नुपर्दा मनमा कुनहदसम्मको पीडाको गाँठो बन्ला यो सामान्य मान्छेले अनुमान गर्नै जान्दैन ।
निकट भविष्यमा बन्ने सरकार जनउत्तरदायि बनोस् र त्यो आह्वानलाइ यो सरकारले संचारका विविध माध्यमको सदुपयोग गर्दै तथा कानुन र कार्यविधीको सन्दर्भमा भएकाको प्रभावकारी कार्यान्ययन, आवश्यक नयाँको निर्माण र अप्रभावकारीलाई नयाँ संसोधन समेत गर्दै नागरिक शिक्षालाई समुदायस्तरसम्म लैजाने काम गरोस् ।
जीवनका विविध पक्षहरुको सन्तुलित व्यवस्थापनमा मात्र मानिस बाँचेको ठहर्छ । सास फेर्नुमात्र बाँचेको भन्ने होइन, प्रत्येक व्यक्तिको आत्मसम्मान र मर्यादित जीवन बाँच्न पाउने अधिकार एक समान हुने भएकाले सबैले यसको उपयोग निर्विवादरुपमा गर्न पाउनुपर्छ । व्यक्तिको जीवनको यहि पक्षलाइ सम्बोधन गर्न नेपालको संविधानले सम्मान पुर्वक बाँच्न पाउने हक र गोपनीयतको हक लाइ सुनिश्चित गरेको छ । नागरिकको स्वास्थ्यको हकलाइपनि संविधानले मौलिक हकको रुपमानै स्थपित गरेको छ । संविधानको धारा १८ मा त समानताको हक को बिषयमा सामान्य कानुनको प्रयोगमा स्वास्थ्य अवस्थाको आधारमा भेदभाव गरिने छैन भन्ने कुरा समेत उल्लेख छ ।
तर विभिन्न तरिकाले जो कसैलाइ पनि सर्न सक्ने उत्तिकै सम्भावना भएको एच आइ भि को प्रवेश जब कुनै मानिसमा भयो भन्ने थाहा हुने बित्तिकै, त्यसले संक्रमणको रुपलिन नपाउँदै, गरिने घृणा र भेदभावयुक्त व्यवहार भएको देख्दा मानवीय चेतनाको स्तर मा सुधार नभएसम्म सामाजिक सोचमा रुपान्तरणको अपेक्षा गर्न सकिदैन । गोपनीयता भंगहुँदा एचआईभी संक्रमित घरपरिवारलाई आफ्ना छोराछोरीको विवाह गर्नसमेत समस्या भइरहेको र बालाबालिकाको व्यक्तित्व विकासमा समेत असर परेको देखिन्छ । अस्पतालबाट पाइने उपचार सेवामार्फत एचआईभी संक्रमित बाबुआमाबाट संक्रमणमुक्त बच्चा जन्माउन सकिनेबारे जानकारी पाउन नसक्दा महिलाहरू बसेको गर्भसमेत फाल्न बाध्य भएको तिता यथार्थ पनि सुन्नु परेको छ ।
एच आई भी तथा एड्स नियन्त्रण ऐन, २०६४ ले एच आई भी सङ्क्रमित भएको आधारमा शिक्षा रोजगारी स्वास्थ्य सेवा बसोबास सार्वजनिक सेवामा भेदभाव गर्न नपाइने, गोपनीयता कायम गर्नुपर्ने, सङ्क्रमित व्यक्तिको स्वास्थ्य विवरण परीक्षण नतिजा उसको सहमतिबीना सार्वजनिक गर्न नपाइने, र एच आई भी भएको कारण गालीगलौज अपमान सामाजिक बहिष्कार तथा डर त्रास देखाउने कार्य गर्न पाइँदैन भनि प्रष्टै उल्लेख गरेको छ । यदि कसैले त्यस्तो गर्यो भने सजाय ३ महिना देखि १ वर्षसम्म कैद र ५,००० देखि २५,००० रुपैयाँसम्म जरिवाना वा दुबै हुने र पीडितलाई क्षतिपूर्ति अनिवार्य उपलब्ध गराउन पर्ने कुरा समेत उल्लेख गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को गाली बेइजती सम्बन्धि कसुर अभद्र ब्यवहारको कानुनी प्रावधान पनि एच आई भी भएको कारण हुने कुटपिट, गाली, बदनामी, धम्की मा आकर्षित हुन पुग्छ र यस्ता अपराधलाइ दण्ड सजायँको व्यवस्था गरिएको छ ।
यहिँ सवाल खडा हुन्छ कि कानुन र कार्यविधि हुँदाहुँदै पनि लक्षित वर्गलाइ लाभान्वित गराउन सहजीकरण गर्ने धेरै राज्य संयन्त्रहरु, संस्था र सन्जालहरु क्रृयाशील भइरहँदा पनि किन एउटा एच आइ भि सरेको ब्यक्ति उपचार गर्छु भन्दा पनि सामाजिक घृणाको डरले लुकेर छिपेर अस्पताल आउन बाध्य छ । आफ्नो शरिर भित्रको भाइरस सँग त उ लड्न सक्छ तर उस्लाइ हेर्ने समाजको आँखाबाट निस्कने विषले उ सधैँ घायल हुनुपर्छ । नियमित औषधि सेवनबाट संक्रमितहरु दीर्घजीवि पनि बन्न थालिसके तर एच आइ भि को कारण भन्दा पनि यसको आधारमा गरिने घृणा लान्छना र शारिरिक तथा मानशिक हिंशा ले थला परिरहेका छन् । मर्माहत भएका बिरामिको रुपमा नेपालका करिब ३० हजार संक्रमितहरुले मायाँ, रेखदेख, सहयोग र उत्प्रेरणा, पाउने कहिले ।
नेपालले सन् २०३० सम्ममा एच आइ भि मुक्त समाजको लक्ष राखेर राष्टिय रणनीतिक योजना २०२१ देखि २०२६ निर्माण गरेको छ । यसले रोकथाम, परिक्षण, उपचार, हेरचाह, समर्थन र सामाजिक समावेशीतामा केन्द्रित दृष्टिकोणहरु राखेको पनि छ । कार्यान्वयन पक्षको आधारमा त्यो लक्ष पाउन कति सम्भव होला यो सोचनीय सवाल बन्नै पर्दछ ।
सन् २००१ म संयुक्त राष्ट्र संघको महासभाको विशेष सत्रबाट निर्माण भएको घोषणापत्र (UNGASS) ले एच आइ भी विरूद्धका विश्वव्यापी कार्यक्रमहरूलाई मार्गदर्शन दिएको छ र सक्षम नेतृत्व एच आइ भी रोकथाम, संक्रमित व्यक्तिहरूको हेरविचार तथा सहयोग र उपचार पद्धति, मानव अधिकार र जोखिमपूर्ण समूहहरूलाई प्राथमिकता, महिला सशक्तीकरण, अभिभावकहरू गुमाएका व्यक्तिहरूलाई विशेष सहयोग, एच आइ भी लाई प्रभावकारी रूपमा सम्बोधन गर्न दीर्घकालीन विकासमा लगानी जस्ता पक्षमा सनिश्चितता खोजेको छ । यसलाइ सरकार नागरिक समाज र निजिक्षेत्रबाट मिहिन तरिकाले स्थानीय बस्तुस्थितिलाइ हेरि सन्दर्भगतरुपमा मिहिन तरिकाले बुझ्ने कोसिश गरिनु पर्दछ ।
सहस्राब्दी विकास लक्ष्य (Millennium Development Goal-MDG) सन् २००० को सेप्टेम्बरमा भएको संयुक्तराष्ट्रसंघको सहस्राब्दी भेलाले तथ्याङ्कको आधारमा एच आइ भी संक्रमणमा आधा जति १५ देखि २४ वर्ष उमेर समूहका युवाहरु रहेका र धेरैजसो वयस्कहरूको एच आइ भी कै कारणबाट कम उमरमै मृत्यु हुने गरेको कुरालाइ ध्यानदिएर सन् २०१५ सम्ममै उतिबेलाको बृद्धिदरलाइ घटाउन भन्ने उद्धेस्य राखिएको थियो । तर आजसम्म पनि यो संक्रमणको भयावहतामा उल्लेख्य नियन्त्रण पाउन सकिएको छैन ।
स्वास्थ्य बिज्ञानले निरन्तर अनुसन्धान गर्दै अझ प्रभावकारी औषधी र खोपको सम्भावनाहरुलाइ पत्ता लगाउँदै पनि छ तर अवस्था भयावह त यसलाई दुषित पारिवारिक सामाजिक सोचले बनाइरहेको छ । आविष्कार भएका र निशुल्क वितरण गरिने औषधि सेवनमा हुने हिचकिचाहट भय र संकोचले ज्यान अकालमा जाँदैछ ।
अझ भन्नुपर्दा धेरै कारणले सर्न सक्ने यो सरुवा रोगलाइ जबसम्म औंला अन्त देखाएर यो त्यस्को वा उस्को समस्या मात्र भनिन्छ व्यक्ति पीडित नै रहन्छ यो हाम्रो साझा समस्या हो र सबैले हातेमालो गरेर मानवताबादमा शंकल्पित बन्न सकियो भने केहि राहत पकै मिल्ने छ । सेनेगलको डाकारमा सन २००० मा सम्पन्न विश्व शिक्षामञ्चले डाकार घोषणापत्र प्रस्तुत गरेको र यसले एच आइ भी महामारीविरूद्धको अभियानमा शैक्षिक कार्यक्रम तथा क्रियाकलापहरू तत्काल कार्यान्वयन गर्नु पर्ने भनेर आह्वान गरेको छ ।
निकट भविष्यमा बन्ने सरकार जनउत्तरदायि बनोस् र त्यो आह्वानलाइ यो सरकारले संचारका विविध माध्यमको सदुपयोग गर्दै तथा कानुन र कार्यविधीको सन्दर्भमा भएकाको प्रभावकारी कार्यान्ययन, आवश्यक नयाँको निर्माण र अप्रभावकारीलाई नयाँ संसोधन समेत गर्दै नागरिक शिक्षालाई समुदायस्तरसम्म लैजाने काम गरोस् ।

