मकवानपुर । प्रहरीले मकवानपुरको कैलाश गाउँपालिकाकाे १४ विगाहा क्षेत्रमा गरिएको गाँजा तथा अफिम खेती नष्ट गरेकाे छ ।
माघ १६देखि माघ १८ सम्म बागमती प्रदेश प्रहरी गण, हेटौंडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले मकवानपुरको उत्तरी भेगस्थित कैलाशकाे वडा नम्बर १, २, ५, ६, ७ र ८ का विभिन्न स्थानहरूमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा र अफिम खेती फँडानी गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती तथा १२ बिगाहा क्षेत्रफलमा गरिएको अफिम खेती गरी १४ बिगाहा क्षेत्रफलमा गरिएकाे खेती फँडानी गरी पूर्ण रूपमा नष्ट गरिएको हाे ।
लागूऔषध गाँजासहित तीनजना भारतीय नागरिक
मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेबाट लागूऔषध गाँजासहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई सुरक्षाजाँच गर्दा लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले कारको डिकी भित्र लुकाई ल्याएको १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित कारचालक भारत उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लाको सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर तथा भारत उत्तर प्रदेशको मुजफ्फरनगर अम्बा बिहारका ४४ वर्षीया साबीरालाई पक्राउ गरेको छ ।
बरामद गरिएको लागूऔषधसहित तीनै जनालाई पक्राउ गरी लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
१ ग्राम ३५० मिलिग्राम खैरो हेरोईन सहित एक जना पक्राउ
हेटौंडा–१५, रातोमाटेबाट प्रहरीले लागूऔषध खैरो हेरोईनसहित १ जना पक्राउ गरेकाे छ । आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रातोमाटे प्रहरी चेकपोष्ट रातोमाटेबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०९२८ नम्बरको यात्रुवाहक गाडीलाई रोकेर जाँच गर्दा लागूऔषध खैरो हेरोईन बरामद हाे ।
लागूऔषधसहित बाग्लुङ जिल्लाको हल्लिङचोक नगरपालिका–३ का १९ वर्षीय विवेक घर्ती मगरकाे साथबाट १ ग्राम ३५० मिलिग्राम खैरो हेरोईन फेला परेकोले पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । लागूऔषधसहित विवेकलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

