मकवानपुर । यस वर्षकाे ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट गीतकार किरण खरेल सम्मानित हुने भएका छन् । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले खरेललाई १ लाख राशीकाे उक्त पुरस्कारबाट हेटौंडामा आज (बिहीबार) सम्मान गर्न लागेकाे हाे ।
बिहीबार हेटौंडामा सांगीतिक कार्यक्रमसहित गीतकार खरेललाई १७ औं संस्करणकाे ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिए । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
नेपाली गीत लेखनको क्षेत्रमा विगत सात दशकदेखि निरन्तर कलम चलाउँदै आउनु भएका खरेलले आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत लोकप्रिय गीतहरू सिर्जना गरेका छन् । खरेलले त्यसयता सात सयभन्दा बढी गीत लेखेका छन् । खरेलले २०२० को दशकमा बनेको नेपाली फिल्म माइतीघरको लागि लेखेकाे ‘वसन्त नै बस्न खोज्छ यहाँ’ गीत नसुनेका सायदै नेपाली होलान् ।
उमेरको ८७ औं वर्षमा रमाउँदै गरेका उनै खरेल बागमती प्रदेशकाे राजधानी हेटौंडामा सम्मानित हुने भएका हुन् । यसअघी भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले १७ औं संस्करणकाे उक्त पुरस्कार खरेललाई प्रदान गर्ने निर्णय गरेकाे थियाे । माइतीघर अगाडि नै गीतकारका रुपमा नेपाली आधुनिक संगीत क्षेत्रमा परिचित भइसकेका थिए । ‘ए दूरका सितारा..’ बोलको गीत उनकाे पहिलाे रचना हाे । खरेलका जिन्दगीलाई जीत होइन…, हिमालको काखमा छ मेरो सानो गाउँ…, मन्दिरमा छ कि मूर्तिमा माया…, तारामात्र होइन तिमीलाई… लगायतका गीतहरू कालजायी छन् ।
उक्त पुरस्कारबाट यसअघि अम्बर गुरूङ , प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान, राजेन्द्र थापा र निर शाह सम्मानित भइसकेका छन् ।
चारवटा गीत संग्रह प्रकाशित गरेका खरेलले तत्कालीन शाही नेपाल चलचित्र संस्थान तथा रेडियो नेपालको कार्यक्रम निर्माता तथा सञ्चालकको रुपमा जिम्मेवारी सम्हालेका थिए । छिन्नलता गीत पुरस्कारलगायत विभिन्न पुरस्कार एवम् विभूषणबाट विभूषित खरेलले आफ्नो कलमको माध्यमबाट नेपाली गीत सङ्गीतलाई देश विदेशमा चिनाउन पुर्याएकाे योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारबाट सम्मानित गर्न लागेको जनाएको महासचिव छवि अनित्यले बताए ।
कार्यक्रमकाे तयारी पुरा भएकाे तथा खरेलका साथमा गीतकारहरु राजेन्द्र थापा तथा बी.बी. थापा र नारायणगोपाल प्रतिष्ठानका अध्यक्ष दिपक केसी समेत हेटौडा आइपुगेका छन् । सांगीतिक कार्यक्रममा गायिका निशा देशारसँगै दार्जिलिङबाट गायक पवन गोले समेतकाे सहभागिता रहने आयोजकले जनाएकाे छ । यसका साथै स्थानीय कलाकारहरुकाे समेत प्रस्तुति रहने बताइएकाे छ ।
प्रतिष्ठानले तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम विराग युवा सङ्गीत पुरस्कार, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, कमला–भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रदान गर्दै आएकाे प्रतिष्ठान महासचिव अनित्यले जानकारी दिए ।
२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

