मकवानपुर । २०८२ फागुन २१ गतेकाे लागि ताेकिएकाे प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरकाे क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका महेश कुमार बर्तौलाले चुनावी अभियान सुरु गरेका छन् । बर्तौलाले १०४ वर्षीया जेष्ट नागरिक कालिमाया मोक्तानको हातबाट टिका र आर्शिवाद लिएर चुनावी अभियान सुरु गरेका हुन् ।
बर्तौलाले सोमबार हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी स्थित जम्बु चौतारीमा कालिमायाको हातबाट आर्शिवाद ग्रहण गरेर चुनावी अभियान सुरु गरे । १०४ वर्षकी कालिमायाले बर्तौलालाई टीका, माला र खादा लगाउँदै जीतको शुभकामना दिइन् । राक्सिराङ गाउँपालिका स्थायी घर भएकी कालिमाया र उनका परिवार अस्थायी रुपमा बसामाडीमा बस्दै आएका छन् ।
जिउँदो भगवानको रुपमा रहेको जेष्ठ नागरिक आमाको हातबाट आर्शिवाद ग्रहण गरेर पार्टीको औपचारिक चुनावी कार्यक्रमको अभियान जम्बु चौतारीबाट सुरु गरिएको बर्तौलाले बताए । उनले २०७९ को निर्वाचनमा विजयी गराएर पठाएपछि निर्वाचन क्षेत्र र सिंगो मकवानपुरको लागि विभिन्न विकासका योजनाहरु ल्याउन सफल भएको बताए । सांसद निर्वाचित भएर काम गरिरहँदा ३२ महिनामै संसद विगठन भएपश्चात् काम गर्न बाँकी योजनाहरु पूरा हुन नसकेको बताए । ती योजनाहरु पूरा गर्नका लागि दोस्रो पटक अवसर दिनु बर्तौलाले आग्रह गरे । औपचारिक उद्घाटन पश्चात् अब चुनावी भेटघाटलाई तीव्रता दिइने बर्तौलाले बताए ।
कार्यक्रमा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले देश जलाउनेहरु विरुद्धको चुनाव भएको कारण सोचेर देश बनाउनेहरुलाई मतदान गर्नुपर्ने बताए । देश बनाउने एमाले भएकाेले बहुमतको साथ विजय गराउनैपर्ने चुनाव भएको बताए । ‘पछिल्लो समय गाउँ बस्तीमा नकारात्मक भ्रमहरु सिर्जना भैरहेका छन्,’ लामाले भने, ‘राज्यको सम्पत्तिमा आगो लगाएर, राज्यको सम्पत्ति खर्च हुनेगरी ३२ महिनामै प्रतिनिधि सभालाई विघठन गर्ने काम भयो । त्यसैले मत दिनुअघि सोचेर मात्रै मतदान गरौँ ।’
नयाँ दल भनेर मतदातामा भ्रम फैलाए पनि विकासका कामहरु सबै पूराना दलले गरेको लामाले बताए । एमालेका युवा, शिक्षित, शालिन र देशभक्त युवा उम्मेदवारलाई जिताएर मकवानपुर–२ मा आफ्नो अधिकार सुनिश्चित गर्न लामाले अनुरोध गरे । नेकपा एमालेकी केन्द्रीय सदस्य भारती पाठकले बर्तौलाले गत निर्वाचनमा निर्वाचित भएर गएपछि गरेका कामहरु, सदनमा उठाएका आवाजलाई आधार मानेर मतदान गर्नुपर्ने बताइन् । मकवानपुरका समस्यालाई संघीय संसदमा उठाएर केन्द्रीय स्तरमै ध्यानाकर्षण गराउन सक्ने सक्षम उम्मेदवार एमालेले अघि बढाएको कारण यो पटक मकवानपुर–२ मा बर्तौला बाहेक अरुलाई मत दिन नहुने बताइन् ।
निर्वाचन आचार संहिताका कारण फागुन ४ अघि कुनै सभा, समारोह, आमसभा लगायतका कार्यक्रम भने नगरिने एमाले मकवानपुरले जनाएकाे छ । बर्तौलाले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार मतान्तरले पराजित गरेका थिए ।

