मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
उक्त दुर्घटनामा बाेलेराेका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा -भीमफेदी – कुलेखानीहुदै काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय रामवली साह घाइते भएका थिए । प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा सहचालक रोहनको बिहीबार बिहानै मृत्यु भएको हाे । घाइते पासवान र साहकाे काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बोलेरो गाडीमा रहेको ५ सय वटा कुखुरा मध्ये ३ सय वटा मरेका छन् ।

