मकवानपुर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट नेपाल मजदुर किशान पार्टीबाट कविता महर्जन र विक्रम ढुकुछुले मनोनयन दर्ता गरेका छन ।
प्रस्तावकका रुपमा सुरेन्द्र गोसाँई र समर्थकमा सिर्जना सायजुले कविता महर्जनको उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी विक्रम ढुकुछुको प्रस्तावकमा सुनिल प्रजापति समर्थकमा राजनी जोशी रहेकाछन् ।
प्रदेश निर्वाचन कार्यालयमा आज सबै दलहरुले आ- आफ्नो उम्मेदवारी दर्ता गराउँदै छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका २ रिक्त सिटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका डा. प्रेम प्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा उम्मेदवार बन्ने निश्चित भएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित सत्ता गठबन्धनबिच भएको सिट बाँडफाँड अनुसार बागमतीका २ सिटमा एमाले र कांग्रेसले एक–एक उम्मेदवार उठाएका हुन् ।
देशभर रिक्त हुने १८ सिटमध्ये सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने सहमति भएको छ । माओवादी केन्द्र (हाल नेकपा) गठबन्धनबाट बाहिरिएपछि सत्तारुढ दलहरूले नयाँ समीकरण अनुसार सिट बाँडफाँड गरेका हुन् । सोही अनुसार बागमती तर्फको २ सिटमा डा. दंगाल र देवकोटालाई उम्मेदवार बनाइएको हो ।
नेपाली कांग्रेसले बागमती प्रदेशको महिला सिटमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ । रत्ननगर नगरपालिका–१४, डुम्री चोक निवासी ५१ वर्षीय देवकोटा विगत ३२ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय छिन् । हाल कांग्रेसको महासमिति सदस्य रहेकी उनी व्यावसायिक मौरीपालक कृषक समेत हुन् । एकल महिला देवकोटाले नेविसंघ, तरुण दल र महिला संघका विभिन्न जिम्मेवारी सम्हालिसकेकी छिन् ।
एमालेको तर्फबाट उम्मेदवार बनेका डा. दंगाल पार्टीका केन्द्रीय सदस्य हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने दंगाल यसअघि राष्ट्रिय योजना आयोगको सदस्य र २०७८ सालमा राष्ट्रिय किसान आयोगको अध्यक्ष भइसकेका छन् । डा. दंगाल अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष तथा एसियाली किसान मञ्चका अध्यक्ष समेत हुन् ।
आयोगले पुस १९ गते नै मतदाता नामावली प्रकाशन गरिसकेको छ भने माघ ११ गते मतदान हुनेछ । पुस २७ गते दिउँसो ३ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउने छ । पुस २८ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । यस्तै आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि हेटौँडा ४ स्थित भूटनदेवी माध्यमिक विद्यालयमा दुई वटा मतदान केन्द्र तोकिएको छ । बागमती प्रदेश सभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १ सय १९ वटा स्थानीय तहका २ सय ३८ जना प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाता सहभागी हुन पाउने व्यवस्था छ । मतदान सम्पन्न पश्चात मतदानस्थलमै मतगणना हुने कार्यालयले जनाएको छ ।